विश्व खाद्य कार्यक्रम र रेडक्रसले बाँडे कुहिएको चामल

0 6

७ जेठ, काठमाडौं । भूकम्प पीडितका लागि विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रेमा र गोर्खामा वितरण गरेको चामल गुणस्तरहीन भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्दा काभ्रे जिल्लाको अरनिको राजमार्गबाट उत्तर र सिन्धुपाल्चोक जिल्लासँग जोडिएका इन्द्रावतीदेखि दक्षिणी भेगमा बाँडिएको चामल गुणस्तरहीन रहेको पाइएको राजधानी दैनिकमा समाचार छ ।

आयोगमा ति स्थानमा बाँडिएका चामल अखाद्य भनको जानकारी आएपछि पाइएपछि सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले दुबै दातृ निकायले वितरण गरेको चामल गुणस्तरहीन भएको फेला पारेको हो । चामल अखाद्य पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई तत्काल राहत वितरण गरिने चामलको गुणस्तर जाँच गर्न र अखाद्य पाइए वितरण नगर्न निर्देशन दिइएको छ ।

आयोगले अनुगमन गर्दा खाद्य कार्यक्रम र रेडक्रसले पठाएको चामल पखाल्दा कालो पानी आउने, मुसाका लिँड मिसिएको, घुन लागेको र ढुंगा सराबरी भएको पाइएको पौडेलले जानकारी दिए ।

उनले १ सय बोरा चामल सो स्थानमा पठाइएकोमा ६० बोरा चामल बाँडिसकिएको पाइएको बताए । त्यसरी बाँडिएको चामल पकाएर खाएकामा तत्काल झाडापखालासमेत लागेको आयोगले जनाएको छ ।