राहतको लोभमा फर्जी घरधुरी

0 10

धादिङ,७ जेष्ठ – वैशाख १२ गतेको महाभूकम्प र त्यसयताका पराकम्पनले मुख्य प्रभावित धादिङमा घर-सम्पत्ति क्षतिको विवरण स्थलगतरुपमा संकलन भैरहेको छ।

प्राविधिकसहितको टोली प्रत्येक गाविसका सबै घरधुरीमा पुग्ने क्रम जारी छ। स्थलगत निरीक्षणका क्रममा जनगणना ०६८ भन्दा धेरै घरधुरी संख्या बढेको निरीक्षणमा खटिएका सरकारी कर्मचारीले बताएको नागरिकदैनिकमा समाचारमा छ।

धादिङमा जनगणना ०६८ अनुसार ७३ हजार ८ सय ४२ घरधुरी थिए। जसमध्ये ४३ हजार ७ सय ४१ घरधुरी पूर्णरुपमा क्षति भएको र १८ हजार ७ सय २० मा आंशिक क्षति भएको प्रारम्भिक तथ्यांक आएको थियो। स्थलगत निरीक्षण र राहत वितरणको क्रममा संकलन भएको तथ्यांकमा भने २० प्रतिशतसम्म बढेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

जिल्लाको क्षतिको पछिल्लो अवस्था र उद्धार तथा राहत वितरण सम्वन्धमा प्रकाशित विज्ञप्तिमा ग्रामीण तहका लगभग सबै धरधुरीमामा नराम्रो असर गरेको उल्लेख छ। जनगणनापछि सबै गाविसमा २० प्रतिशतसम्म घरधुरी बढेकाले पनि क्षति पनि सोही अनुपातमा बढ्ने बताइएको छ। यसरी घरधुरी ह्वात्तै बढ्नु अस्वाभाविक भएको थाक्रे गाविसका प्राविधिक सहायक उत्तम अधिकारी बताउँछन्।

यसरी घरधुरी बढ्नुमा राहत र क्षतिपूर्ति भएको कर्मचारीको बुझाइ छ। विवाहसमेत नभएका छोरा, गाउँ र बजारमा भएका घर, एउटै छानोभित्र छुट्टीएर बसेका बेग्लाबेग्लै परिवारले राहतको आशमा भिन्दाभिन्दै देखाएका कारण एकाएक घरसंख्या बढेको अधिकारीहरु बताउँछन्।