जस्तापाता किन्न ४ अर्ब निकासा

0 5
काठमाडौँ, ७ जेष्ठ – सरकारले भूकम्पका कारण घरविहीन सबै परिवारलाई अस्थायी वासका निम्ति जस्तापाता किन्न ४ अर्ब रुपैयाँ निकासा गरेको छ।

केही दिनअघि भूकम्पका कारण घर ध्वस्त भएका परिवारलाई अस्थायी टहरो बनाउन आवश्यक पर्ने जस्तापाता किन्न १५ हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत बुधबार गृह मन्त्रालयलाई निकासा गरेको हो। यसका लागि करिब ७ अर्ब ३५ करोड लाग्नेमा पहिलो किस्ताबापत रकम निकासा पठाइएको नागरिक दैनिकमा खबर छ।

गृहको मागअनुसार बुधबार भूकम्प पीडितलाई जस्तापाता खरिदका लागि पैसा दिन ४ अर्ब रुपैयाँ बजेट दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव लक्ष्मण खनालले जानकारी दिए। यो रकमसहित गृहलाई अहिलेसम्म राहत तथा उद्धारका लागि ८ अर्ब रुपैयाँ निकासा भइसकेको छ।