विश्व खाद्य कार्यक्रमले बाँडेको चामल नखाऊ : आयोग

0 5
काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम(डब्लुएफपी)ले बाँडेको चामल तत्काल नखान राष्ट्रिय मानवअधिकार आयोगले अनुरोध गरेको छ।

भूकम्पपीडितलाई कुहिएको चामल वितरण भएको समाचार प्रकाशित भएपछि बुधबार महादेवस्थान र चण्डेनीमण्डन गाविसमा राष्ट्रिय मानवअधिकार आयोग टोली पुगेको थियो। आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालसहितको टोलीले दुवै गाविस र पाँचखाल केराघारीका घरघरमै पुगेर चामलको नमुनासमेत संकलन गरेर लगेको नागरिक दैनिकमा खबर छ।

’धेरै ठाउँमा हेरियो, स्टोर गरिएका गोदाम पनि हेरियो, स्थानीयसँग पनि बुझ्यौं पत्रपत्रिकामा समाचार आएपछि संस्थाले चामल बाँड्न रोकेको रहेछ, नमुना परीक्षणका लागि ल्याएका छौं, परीक्षणको नतिजा नआउँदासम्म नखान अनुरोध गरेका छौं’,- अन्सारीले भनिन्।

डब्लुएफपीले काभ्रे रेडक्रसमार्फत महादेवस्थान, चण्डेनीमण्डन र पाँचखाल नगरपालिकामा चामल बाँडेको थियो। रेडक्रसको स्थानीय उपशाखामार्फत प्रत्येक घरमा १० किलो चामल पुगेको थियो। दुवै गाविसमा गरी ३ सय ३८ क्विन्टल चामल वितरण भएको हो।