छाक काटेर भूकम्प पीडितका लागि सहयोग जुटाउँदै सुकुम्बासी

0 4

भूकम्प आउँदा म थापाथलीको सुकुम्बासी बस्तीको आफ्नै टहरोमा थिएँ । मलाई त ठूलो डोजर आएजस्तै लागेको थियो । किनभने, वागमतीको किनारमा पर्खाल लगाउने काम भइरहेको थियो । डोजरहरु हिडिँरहेका थिए । कति ठूलो डोजर आए छ, भुइँ नै थर्काउने गरी, भन्ठानेकी थिएँ । भूकम्प पो आएको हो रैछ । बस्तीका सबैले भूकम्प आयो भनेर चिच्याए । कोकोहोलो नै मच्चियो । म पनि टहरोबाट बाहिर निस्केँ । बस्तीका केटाकेटी र महिलाहरु रुवाबासी गर्न थाले । सबै रोएको देखेपछि मेरो पनि मन आत्तियो । लौ ठूलै विध्वंश भएछ कि भन्ने लाग्न थाल्यो । केटाकेटीको चिल्लिबिल्ली सुन्दा मलाई ०६९ सालको सम्झना भयो । त्यतिबेला सरकारले यो बस्तीमा डोजर लगाउँदा केटाकेटी यसरी नै चिल्लिबिल्ली गरेका थिए । त्यतिबेलाको दुःख र डर मेरो मनमा पनि गढेको थियो ।

बस्तीका सबैजना टहरा छाडेर खाली ठाउँ र रुखको फेदतिर गयौँ । बिरामी बूढाबूढी आत्तिएका थिए, केटाकेटी रुन छाडेका थिएनन् ।
हाम्रो कालिका सामुदायिक संस्था छ । अधिकारका लागि लड्न हामीले संस्था दर्ता गरेका हौँ । बस्तीमा कसैले जाँड खाएर हल्ला गर्दा, घर–झगडा हुँदा पनि पुलिसले लैजाने गथ्र्यो । अनेक बहाना र आरोप आउँथे । यस्तोमा संस्थाबाट कुरा गर्न सजिलो हुँदो रैछ । त्यसैले हामीले संस्था दर्ता गरेका छौँ । म संस्थाकी उपाध्यक्ष हुँ ।

हामी संस्थाका दिदीबहिनीहरुले बच्चा, बूढाबूढीलाई रुखका फेदमा ओत लगाऔँ । सुकुम्बासी टोलमा घरै भत्केर पुरिने डर त थिएन । फेरि साना कमजोर टहराको के भर ? भूकम्पले जमिनै फाट्न पनि त सक्छ, नदीको किनार हो । फेरि केटाकेटी घरमा बस्न डराए, खुला ठाउँतिर जान भने ।

thapathali
हामीसँग केही पाल पनि थियो । यहाँ सबै दिनभरि काम गरेर बिहान–साँझ हातमुख जोड्नेहरु छौँ । ज्यामी, मजदुरी गर्दा पाल बनाएर बस्नुपर्ने हुन्छ । त्यस्ता पाल बटुलेर हामीले केटाकेटी, बूढाबूढीलाई ओत दियौँ ।
भूकम्प आएदेखि हाम्रो कुनै कामदाम छैन । यहाँ सबै बिहान कमाएर बेलुका खानुपर्ने छौँ ।
यहाँ कोही बिरामी भयो र ५०–६० हजार रुपैयाँसम्मको उपचार गर्नुपर्यो भने हामीले रकम संकलन गर्छौं ।
अहिले देशैभरि मानिसहरु घाइते भएको, आफन्त गुमाएको, घर भत्केको समाचार हामीले पनि हेरेका छौँ । भूकम्प पीडितलाई थोरै भए पनि राहत दिन सक्छौँ कि भनेर रकम उठाउँदै छाँै ।
हामीले देशैभरि भुइँचालोले ध्वस्त पारेको खबर सुन्दैँ गयौँ । हामी संस्थाका दिदीबहिनी पनि केही राहत बाँड्न सक्छौँ कि भनेर लागेका छौँ । दलमर्दन कामीको नेतृत्वमा हामीले पनि जति सकिन्छ, सय–पचास उठाउँदै छौँ ।

२०–२५ हजार रुपैयाँ उठ्यो भने कुनै गाउँमा राहत बाँड्न जाने पनि भनेका छौँ । हेरौँ, के हुन्छ ।

यो बेला सबैले सकेको गर्ने हो । तर, अहिले यहाँ कसैले काम पाएका छैनन् । यहाँका कोही कसैको घरमा भाँडा माझ्ने, लुगा धुने, कोही मजदुरी गर्ने, कोही फुटपाथमा सामान बेच्ने हुनुहुन्छ ।

अहिले सबैलाई भुइँचालोको डर छ । हामी त काम गरेर खाने हौँ । दुई–चार दिन काम नहोला । फेरि हामीलाई त एकछाक खाएर बस्ने बानी पनि छ । अहिले भूकम्पले बिचल्ली बनाएको गाउँघरको कुरा सुन्दा मन दुख्छ । कति टुहुरा भएका होलान् । कति विधुवा भएका होलान् ? कति गरिब गाउँका मानिस फेरि सुकुम्बासी बन्न पुग्छन् कि भन्ने पनि डर लाग्छ । यस्तो बेला सरकारले, सबैले सहयोग गर्नुपर्छ । त्यै राम्रो चिताउने हो, सबैको राम्रो होस्, काम गरेर खान पाइयोस् ।

11350237_836734943049134_441786355_n
म यो वागमती किनार थापाथलीको सुकुम्बारी बस्तीमा बस्न थालेको आठ–नौ वर्ष भयो । यहाँ म रहरले बसेकी होइन । यो सहरमा कोही पनि साना दुःखले सुकुम्बासी बन्ने हिम्मत गर्दैन । सुकुम्बासी भनेपछि मान्छेहरु कसरी नाक खुम्च्याउँछन्, त्यो हामीलाई थाहा छ ।

 

-Source : Rato Pati