सरकार नपुग्ने ध्वस्त बस्तीमा ‘मनकारी आमा’

0 18

दुईपीपल (नुवाकोट) । काठमाण्डौंस्थित तिनथाना बस्ने शान्ता उप्रेती आफैँ पनि भूकम्पपीडित नागरिकको सूचिमा पर्छिन् । छिनभरमै उद्धार र राहत पुग्नुपर्ने राजधानीजस्तो देशको मुटुमासमेत निम्तिएको भयावह संकट हप्तौदिनसम्म उनले नजिकबाट नियालिरहिन् । भूकम्पको त्रासले आतंकित हजारौँ मान्छेका चित्कार, वेदना र आफन्त गुमाउनुपर्दाको वियोगमा छट्पट्टाइरहेकाहरु देखिन् र आफ्नै सामु पाइन, मनै छिया–छिया हुनेगरी निमेषभरमै धर्तीकै सुन्दर धरोहरहरु ढलेर ध्वस्त बनेको शहरको कुरुप दृक्ष्य पनि । अनि सोचिन, अनुमान् गरिन्–‘शहरमा त यस्तो छ । हविगत कस्तो होला, दुर्गम र दुरदराजका गाउँवस्तीहरुमा ?’ भूकम्पको आतंकले आफैँपनि खुला आकामुनि रात काट्न बाध्य शान्तालाई आफ्नै पिडा भन्दापनि दुर्गम पहाडी गाउँमा घरवारविहिन बनेकाहरुप्रतिको माया र भयानक चिन्ताले सतायो । अगाध दया पलायो र सहयोग गर्ने जागृत ईच्छा मनभित्रदेखि नै एकसाथ मडारिरह्यो । उनलाई त्यहाँ पुग्ने लालसा जाग्यो र त्यही मनकारी मनले डो¥यायो नुवाकोटको दुर्गम वस्तीतिर । पीडितलाई दिने राहतमा पनि राजनीति छ । टाठाबाठाको रजाइँ छ र गर्छ भेदभाव सरकारले पनि सुगम र दुर्गममा । यो तितो यथार्थ बुझेर उनले सरकार नपुगेको गाउँ रोजिन् । सरकारले नदेखेको वस्ती खोजिन् र भेटिन् भूकम्पले तहसनहस पारेको नुवाकोट दुईपीपलको पञ्चासे गाउँ । सदरमुकामबाट नजिकै छ यो वस्ती, र पनि पुग्दैन सरकार । उपेक्षित छ हरेकपटक । सरकारी उपस्थिति नहुँदा भूकम्पको भयले झनै प्रताडित छन्, संकटको यो बेलामा यहाँका नागरिक । यहाँका घरहरु कुनै सग्ला छैनन् न त अग्ला नै देखिन्छन् । सबै घर गल्र्यामगुर्लुम् ढलेर माटोमा मिलेका छन् । महिनौपछिसम्मका लागि जोहो गरेर राखिएका अन्नपातको गेडो पनि नभेटिने गरी भग्नावशेषभित्रै हराएका छन् । ‘तर, यहाँ भोट लिएर जित्ने नेता फर्केका थिए, न राहत नै आयो’, स्थानिय गुनासो पोख्छन् । शान्ताका छोरा दिपेन्द्र उप्रेती क्यानडामा बस्छन् । दूर्गमका भूकम्प पीडितलाई सहयोग गर्ने विषयमा छोरासँग सरसल्लाह गरिन् र त्यसका लागि आवश्यक पैसा जोहो गरिदिन भनिन् । आमाको मानविय र मनकारी मन देखेर छोरा दिपेन्द्र पनि यो कुरामा राजी भए र पञ्चासेका घरवारविहिन असहाय गाउँलेहरुलाई चाहिने राहत सामग्री खरिदका लागि रकम पठाए । भूकम्पको भूमरीमा परेको घर धराप छ, चौरमै वास छ । त्यसमाथी उमेरले पनि ६ दशक टेक्न आँटेकी उनी आफैँलाई सहायताको खाँचो परेका बेला त्यसको कुनै वास्ता नगरी करिब ६ लाख बराबरको खाद्यान्न, लुगाकपडा, त्रिपाल लगायतका सामग्री लिएर शान्ता पञ्चासे गाउँ खोज्दै काठमाण्डौंबाट हिँडिन्, केहीदिनअघि कान्छा छोरा हरि उप्रेतीको साथमा । दुईघण्टाको सडकयात्रापछि आइपुगिन्छ नुवाकोटको कोल्पुटार । त्यहाँबाट ५ घण्टाको अत्यासलाग्दो उकालो पार गरेपछि भेटिने गाउँ हो पञ्चासे । कठिनको यात्रापछि पुगेकी शान्तालाई भेटपछि साक्षात् भगवानझैँ मान्नेहरुको कमी थिएन यहाँ । गाउँलेहरुको उत्साहले पनि यस्तै झल्को दिन्थ्यो । किनकी, भूकम्पले उजाड बनाइदिएको यो वस्तीमा अभावसँगै त्रसित मानसिकता बोकेर बाँच्नेहरुका लागि शान्ताको सद्भाव, सहानूभुति र सहयोग अमूल्य थियो । ढुंगा खोज्दा देउता पाएको अनुभुति गर्थे गाउँलेहरु । एक–एक बोरा चामल, चिउरा, त्रिपाल, कपडा, चाउचाउ, बिस्कुट, दाल, नुन, साबुनदेखि घरायसी प्रयोजनमा आवश्यक सबै सामग्री राहतको रुपमा शान्ताले करिब एकसय भन्दा बढी घरपरिवारलाई वितरण गरिन् । ‘नआत्तिनुहोला, देश नै शोकमा डुबेको छ । यो मेरो सानो सहयोग मात्रै हो । यो संकटबाट अब पाठ सिकेर तपाईहरुले नयाँ आँट बोक्नुपर्छ,’ गाउँलेप्रति उनको सहानुभूति थियो । स्कुले उमेरका गाउँभरिका स–साना बालवालिकालाई पनि मायापूर्वक कापीकलमदेखि पठनपाठनका सामग्री थमाइन् । स्थानियवासी सबै खुसी भए, सन्तुष्ट देखिन्थे । दिनदुःखी र विपत्तीमा परेकालाई सहयोग गर्न पाउँदा आफु पनि सन्तुष्ट भएको शान्ताको भनाई थियो । पञ्चासेबाट फर्केर ओरालो लाग्दा बाटैभरि भेटिएका बालबालिकालाई कापी कलम र खानेकुरा झिक्दै बाँड्दा खुसीले फुरुङ हुन्थे । जो भूकम्पको त्रासले लपेटिएका र लखेटिएका थिए । कतिपय बालबालिका नयाँ मान्छे देख्नासाथ भाग्थे । सायद उनीहरुको बालमनोविज्ञानलाई भूकम्पको असरले नराम्ररी गाँजेको थियो । ‘संकटमा परेकालाई उद्धार गर्नु मानविय दायित्व हो, खुसी व्यक्त गर्दै शान्ताले भनिन्, ‘मन्दिरमा गएर मात्र धर्म हुने होइन, मानिसको दुःखमा साथ दिनु ठूलो धर्म हो । यसमा मलाई गर्व लागेको छ ।’ जनताले गाँस काटेर राज्यलाई कर तिरेपछि यस्तो संकटमा सरकार पुग्नुपर्ने हो । राज्यले हेँला गरेको वस्तीमा राहत बोकेर आफ्नी आमा पुगेकोमा छोरा दिपेन्द्र गर्व गर्छन् । खुसीको क्षण पटकपटक हुँदैन, एकपटक आउँछ । जतिबेला गर्वले शिर उँचो बनेर आउँछ । ‘असल आमा आफ्ना सन्तानका लागि मात्र दयावान हुँदैनन्, ‘धर्तीका सहाराविहिन सारा मान्छेका दया र करुणाकी खानी पनि हुन् ।, दिपेन्द्र आमाप्रति सम्मानभाव व्यक्त गर्दै भन्छन्, ‘मेरी आमा मेरा लागि त महान् हुनुहुन्छ नै, अरुका लागिसमेत महान् आमा बन्न सक्नुभएकोमा कृतज्ञ छु ।’ दिपेन्द्र जो आफैँमा व्यक्तिगत स्वार्थभन्दा सामाजिक र मानविय सेवामा रमाउँने युवा हुन् । दिनःदुःखीलाई सहयोग गर्नु नै सार्थक जीवन ठान्ने उनले धेरै नेपालीमाथी न्याय गरेका छन् । यसअघि लेवनानमा नेपाली राजदुतावास अन्तर्गत श्रमसहचारीको रुपमा कार्यरत रहँदा वैदेशिक रोजगारमा त्यहाँ पुगेर अलपत्र परेका र दलालबाट ठगिएका सयौँ नेपालीको उद्धारमा महत्वपूर्ण योगदान दिएका थिए । त्यसबाहेक नेपालमा बस्ने धेरै व्यक्तिहरुलाई पनि आर्थिक लगायत थुप्रै सहयोग गरेका छन् । उनी गर्वका साथ भन्छन्, ‘सामाजीक सेवा, मानवियता र सहयोग मेरो जीवनको पर्यायजस्तै हो ।