क्यानको बन्द प्रशिक्षणमा २२ खेलाडी

0 9
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न टिट्वेन्टी विश्वकप विश्वस्तरको छनोट र आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको तयारीका लागि २२ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट गरेको छ। लामो समयको अन्योलपछि क्यानले राष्ट्रिय टोलीको तयारी सुरु गरेको हो।
आगामी ९ देखि २६ जुलाईसम्म आयरल्यान्ड र स्कटल्यान्डमा टिट्वेन्टी विश्वस्तरको छनोट प्रतियोगिता आयोजना हुँदैछ। नेपालले डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डविरुद्धको अवे खेल २९ र ३१ जुलाईमा खेल्ने कार्यक्रम छ।
क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा डिभिजन च्याम्पियनसिपसँगै टिट्वेन्टी विश्वकप छनोटका लागि खेलाडी छानेको हो।
यसअघि यी दुवै प्रतियोगिताका लागि छुट्टाछुट्टै राष्ट्रिय प्रतियोगिता आयोजना गरी एकमुष्ट रूपमा ५० जना खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गर्ने योजना क्यानको थियो।
तर टिट्वेन्टी राष्ट्रिय प्रतियोगिता नभएपछि राष्ट्रिय टोलीको तयारी अन्योलमा परेको थियो। विवादित नेपाल प्रिमियर लिग (एनपीएल) पनि नभएपछि क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिताका आधारमा ५० जना खेलाडी छनोट गरेर तीनै खेलाडीबीच छनोट प्रतियोगिता गरी टोली बनाउने तयारी गरेको थियो। तर अचानक विनाशकारी भूकम्प गएपछि क्यानको उक्त योजना पनि भताभुंग भएको थियो।
बन्द प्रशिक्षणका लागि छनोट हुने खेलाडीमा पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, करन केसी, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदीप ऐरी, जितेन्द्रकुमार मुखिया, पृथु बाँस्कोटा, अनिल मण्डल, सिद्धान्त लोहनी, मेहबुब आलम, राजेश पुलामी, अविनाश कर्ण, हरिशंकर शाह, सौरभ खनाल र महेश क्षेत्री छन्।
यीमध्ये सिद्धान्त, हरिशंकर र सौरभले यसअघि सिनियर राष्ट्रिय टोलीबाट खेलेका छैनन्। राजेशले सिनियर राष्ट्रिय टोलीबाट यसअघि प्रथम श्रेणीको क्रिकेटमात्र खेलेका छन्।
लामो समय राष्ट्रिय टोलीमा रहेका नरेश बुढाऐर भने यस पटक बन्द प्रशिक्षणमा पनि अटाएनन्। दुई युवा खेलाडी सिद्धान्त र सौरभले राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।
‘हामीले टिट्वेन्टी प्रतियोगिता गर्न नसकेका कारण एकदिवसीय राष्ट्रिय प्रतियोगिताकै आधारमा खेलाडी छनोट गर्‍यौं’, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने। नेपालमा तयारी गर्न सक्ने स्थिति नभएका कारण २२ खेलाडीमात्र बन्द प्रशिक्षणमा राखिएको उनको भनाइ छ। उनले नेपाली खेलाडीले भारतमा बन्द प्रशिक्षण गर्ने जानकारी दिए।
‘भारतीय क्रिकेट बोर्डले समेत हामीलाई वातावरण मिलाइदिन्छौं भनेकाले भारतमै तयारी गर्ने निर्णय गरेका हौं। हामीले भारतको क्रिकेट बोर्डलाई पत्राचार गरिसकेका छौं। जवाफ प्राप्त भएपछि कहाँ तयारी गर्छौं र भारतको सहयोग कस्तो हुन्छ भन्ने निश्चित हुनेछ’, कर्माचार्यले भने।
क्यानको योजनाअनुसार नेपालले भारतमा ३ देखि २० जुनसम्म बन्द प्रशिक्षण गर्ने कार्यक्रम छ। नेपालमा आएको भूकम्पका कारण स्वदेश (क्यानडा) फर्किएका राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके ३ जुनमा भारत आइपुग्ने कार्यक्रम छ।
भारतबाट टोली फर्किएपछि टिट्वेन्टी विश्वकपको छनोटका लागि राष्ट्रिय टोली घोषणा हुनेछ। १४ टोली सहभागी हुने उक्त प्रतियोगिताबाट ६ टोली भारतमा सन् २०१६ मा हुने टिट्वेन्टी विश्वकपका लागि छनोट हुनेछन्। नेपालले समूहगत चरणमा आयरल्यान्ड, हङकङ, पपुवान्युगिनी, नामिबिया, अमेरिका र जर्सिको सामना गर्नेछ।
नेपालले गत टिट्वेन्टी विश्वकपमा सहभागी भएर टिट्वेन्टी अन्तर्राष्ट्रियको हैसियत प्राप्त गरेको थियो। टिट्वेन्टी छनोट प्रतियोगिताअघि नेपाली टोलीले इङल्यान्डमा एक साताको अभ्यास र नेदरल्यान्ड्ससँग एकदिवसीय स्वरूपका अभ्यास खेल खेल्ने कार्यक्रम छ।