भूकम्पको मौका छोपेर तस्कर सक्रिय

0 2
चुलाचुली (इलाम) : भूकम्प पछि सबैको ध्यान राहत र उद्धारमा केन्द्रित भएको मौका छोपी इलाममा काठ तस्करी बढेको छ।
इलामको चुरे क्षेत्रका सामुदायिक वनबाट दिउँसै काठ चोरी निकासी भइरहेको स्थानीयले जानकारी दिएका छन्। पेल्टीमारीको प्रहरी चौकीको गस्ति टोलीले सोमबार मात्र काँधमा बोकेर झापा तर्फ लैजादै गरेको पाँच क्युविक फिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
चुलाचुली ५ को रतुवा खोलानजिकको बनबाट काट ओसार्दै गरेका तस्करलाई देखेपछि गएको प्रहरीले काठ पक्राउ गरेपनि तस्कर पक्रन नसकेको जनाएको छ। गत बुधबार इलाम नगरपालिका ५ भञ्ज्याडबाट ससस्त्र प्रहरीको टोलीले चन्द्र बहादुर लिङ्दमको काठ मीलबाट एक ट्याक्टर काठ बरामद गरेको थियो। मिलमा सखुवा र कर्मा ल्याएर आफ्नो नाममा रहेको लिङ्दम फर्नीचरमा झ्याल ढोकाका पल्ला बनाइरहेका अवस्थामा काठ बरामद गरेको जनाइएको छ।
बैशाख १५ गते खानतलासीका क्रममा बरबोटेमा पक्राउ गरिएको चाप काउला र कट्टुस जातका ६२ क्यूबिक फिट काठको बारेमा समेत अनुषन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ गरेपनि वन प्रशासनले अनुसन्धानमा असहयोग गरेका कारण नियन्त्रण प्रभावकारी नभएको प्रहरीका उच्च अधिकारी गुनासो गर्दछन्।
बैशाख १४ गते ट्याक्टर सहित ३० क्युविक फुट चाँपको काठ वेवारीसे रुपमा प्रहरीले पक्राउ गरेको थियो। सबैलाई भुइचालोले हल्लाएको समयमा तस्करहरु भने चुरे सखाप पार्न लागेको चुलाचुलीका एक शिक्षकले बताए। उनले भने ‘तस्करको ठुलो सञ्जाल सकृय छ, मेरो नाम चाहिँ नछापी दिनुहोला।’