ग्रामीण भेगका गुम्बामा अझै थुप्रै भीक्षुभीक्षुणी पुरिएका हुन सक्छन् : नरेन्द्र्रकुमार गुरुङ

0 5

हालैको विनाशकारी भूकम्पले देशमा धेरै जनधनको क्षति गरेको छ । यो विपतमा पर्ने सबैमा मेरो समवेदना छ । यो विनाशकारी भूकम्पका कारण राष्ट्रले थुप्रै प्राचीन, मौलिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु र संरचनामा क्षति व्यहोरेको छ । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृति बोकेको देश हो ।

बौद्धसँग सम्बन्धित वस्तु तथा संरचनाको कुरा गर्दा वागमती उपत्यकालगायत बाहिरी जिल्लाका प्राचीन मन्दिर, गुम्बा, विहार, वहिल, माने, छ्योर्तेन, मदरसा, विद्यालयहरुमा क्षति पुगेको छ ।

भूकम्प प्रभावित जिल्लाका करिब एक हजार पाँच सयभन्दा अधिक बौद्धसँग सम्बन्धित संरचना ध्वस्त भएको प्रारम्भिक अनुमान छ ।

काठमाडौं आसपासका पहाडी जिल्ला जहाँ तामाङ, गुरुङ, शेर्पालगायत जातजातिको बसोबास रहेको छ । यी जिल्लामा अधिक रूपमा बौद्ध गुम्बाहरु, बिहारहरु, वहिल, माने, छ्र्योतेन थिए । तिनीहरुमा क्षति पुगेको छ ।

काठमाडौं बाहिरका जिल्लामा मात्रै तीन अर्बभन्दा बढीको बौद्धसँग सम्बन्धित संरचना विनाश भएको छ । काठमाडौंमा सात अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेका छौँ ।

रामेछाप, गेलु–६ मा रहेको उर्गेन छ्योइलिङ गुम्बा पूर्णरूपमा ध्वस्त भएको छ । गुम्बाभित्र रहेका प्राचीन थांकाहरु, भित्तेचित्र तथा माटोका मूर्ति, गुरु रेम्पोक्षे, मन्दरवा, चेङरेसी, दोर्जे छयाङ, गुरु डाक्पोलगायत अन्य पूजाका सामग्री ढ्यांग्रो, शंख, ग्यालिङ, कुंगालगायत सामग्री ध्वस्त भएका छन् । विभिन्न पुराना छ्योइ अर्थात् पुस्तकहरु ध्वस्त भएका छन् । यो त एउटा प्रतिनिधि मात्र हो । यस्ता बौद्ध धरोहरहरुको ठूलो विनाश भएको छ । क्षतिको विवरण संकलन कार्य जारी छ ।

0020150429_165930
गुम्बाहरु बौद्ध धर्मालम्बीहरुको जीवन–मृत्युसँग जोडिएका हुन्छन् । गुम्बाको विनाशका कारण बौद्धमार्गीले जन्म–संस्कार, विवाह–संस्कार, मृत्यु–संस्कार पनि राम्रोसँग सम्पन्न गर्न सकेका छैनन् ।

गुम्बा, विहार, वहिल, माने, छ्र्योतेनमा मानवहितसँगै विश्वशान्तिका लागि पूजापाठ हुँदै आएका थिए । अहिले ती पूजापाठ रोकिएका छन् ।

बौद्धसँग सम्बन्धित संरचना मानव बस्तीभन्दा केही पर र माथि रहन्छ । त्यसैले बस्तीभन्दा पर रहेका गुम्बा, विहारहरुमा ध्यान–तपस्या गरेर बसेका थुप्रै भीक्षुभीक्षुणीको ज्यान गुमाएका हुन सक्छन् । त्यसको पूर्ण विवरण आइसकेको छैन । अझै पनि उद्धार टोली कतिपय गुम्बा, बिहार र चैत्यहरुमा पुग्न सकेको छैन ।

हामीले प्रत्येक जिल्लाका सिडियोसँग समन्वय गरेर उद्धारका लागि अनुरोध गरेका छौँ । प्रत्येक गाविसमा पाँचजनाको टोलीले अब यस्ता प्राचीन, पुरातात्विक मठ–मन्दिर, पाटीपौवा, गुम्बा, माने बिहारहरुको वास्तविक विवरण संकलन गर्नेछ ।

IMG_7468
पटक–पटकको भूकम्पको त्रासका कारण हामी सबै ठाउँमा पुग्न सकिरहेका छैनौँ । हामीले ध्वस्त गुम्बाहरुको तीन चरणमा पुनर्निर्माण गर्ने योजना बनाएको छौँ । पहिलो चरणमा हामीले तत्काल पूजापाठ गर्नका लागि जस्ताको टहरो बनाएर पुरिएका मूर्तिलगायत वस्तुलाई निकालेर राख्ने छौँ । पुनर्निर्माणका लागि दातृनिकाय, दूतावास र विभिन्न व्यक्तिसँग सहयोगका लागि अनुरोध गर्ने योजनामा छौँ । सरकारको एकद्वार नीतिका कारण हामीलाई सहयोग संकलनमा तत्काल अप्ठेरो भएको छ । पूर्ण र आंशिक क्षति पुगेका सबै संरचनालाई हामीले अबको पाँच वर्षमा पुनर्निर्माण गरिसक्ने आशामा छौँ ।

20150429_161337

 

 

– Source: Rato Pati