दोलखाका १४ गाउँ सार्न गृहलाई पत्र

0 3

दोलखा, जेठ ५ – भूकम्पपछि सिंगो दोलखा पहिरोको उच्च जोखिममा परेका बेला जिल्ला दैवी प्रकोप उद्दार समितिले पूर्णरुपमा प्रभावित जिल्लाको उत्तरी भेगका १४ गाविसका बासिन्दालाई तत्काल त्यहाँबाट सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

जिल्ला विकास समिति दोलखाको तथ्यांकअनुसार भूकम्पबाट प्रभावित भएका ती १४ गाविसमा ६ हजार आठ सय ८० घरधुरी छन् । ती घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसकिए थप मानवीय क्षति हुन सक्ने जनाइएको छ ।

वैशाख १२ पछि २९ गते आएको अर्को शक्तिशाली झट्कापछि ती गाविसहरुका अधिकांश बस्तीका घर ध्वस्त भएका छन् भने निरन्तर रुपमा सुख्खा पहिरो खसिरहेको छ । यसै कारण वर्षायाममा ती गाविसका बासिन्दा त्यहाँ बस्न नसक्ने भएकाले उनीहरुलाई अन्यत्र सार्नुपर्ने कारण जनाउँदै उद्दार समितिले गृहलाई आवश्यक पहल गर्न पत्राचार गरेको हो । जिल्ला दैवी उद्दार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दिएको जानकारी अनुसार समितिको आइतबार साँझ बसेको बैठकको निर्णयअनुसार १४ गाविसका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने व्यहोराको पत्र पठाइएको हो । समितिले अध्ययन गरी अन्य गाविसका बस्ती पनि सार्नुपर्ने अवस्था आउन सक्ने जानकारी सोही पत्रमार्फत गराएको लामिछानेले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।