चर्किएका भवनमा उपचार गर्न रोक

May 19 2015 02:44
काठमाडौं : सरकारले भूकम्पका कारण चर्किएका अस्पताल र स्वास्थ्यसंस्थाका भवनहरूमा उपचार गर्न रोक लगाएको छ। चर्किएका भवनमा बिरामी भर्ना गरेको पाइएमा सरकारी वा निजी कुनै पनि अस्पताल र स्वास्थ्यसंस्थालाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
भूकम्पपछि कतिपय अस्पतालले भवनको भत्किएका र चर्किएको भाग छोपेर बिरामी भर्ना गरेको पाइएपछि मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको हो।
कतिपय अस्पताल सञ्चालकले त चर्किएको भवनमा जबर्जस्ती सेवा दिन चिकित्सक र नर्सलाई दबाब दिन थालेका छन्। मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार चर्किएका भवनमा भर्ना गरेर बिरामीलाई सेवा दिएको पाइएमा त्यस्ता अस्पताल कारबाहीमा पर्नेछन्।
‘महाभूकम्प बाट सरकारी र निजी अस्पतालका धेरै भवनमा क्षति पुगेको छ, कतिपय अस्पतालमा त बिरामी भर्नासमेत गर्न मिल्दैन’, लोहनीले अन्नपूर्णसँग भने, ‘आफ्नो भवन असुरक्षित भएको थाहा पाउँदापाउँदै पनि कतिपय अस्पताल र स्वास्थ्य संस्थाले जथाभावी बिरामी भर्ना गर्न थालेको पाइयो, त्यही भएर हामीले कारबाहीको चेतावनी दिएका हौं।’
राजधानीका परोपकार प्रसूति तथा स्त्रीरोग, वीर, कान्ति बाल, त्रिवि शिक्षण, निजामती कर्मचारी, भक्तपुर क्यान्सर, धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत ठूला सरकारी अस्पतालका भवन चर्किएका छन्। भवन असुरक्षित भएपछि ती अस्पतालले बिरामीलाई त्रिपाल टांगेर चौरमा उपचार सेवा दिइरहेका छन्।
निजी अस्पतालको हालत झन् दयनीय छ। राजधानीका वसुन्धरास्थित ग्रिन सिटी अस्पताल, चिरायु अस्पताल, किस्ट मेडिकल कलेजलगायत भाडामा लिएर सञ्चालनमा आएका अन्य निजी अस्पतालका अधिकांश भवन चर्किएका छन्। भूकम्प प्रतिरोधात्मक भनिएको राष्ट्रिय ट्रमा सेन्टरमा समेत बिरामीभित्र बस्न डराउने गरेका छन्।
मन्त्रालयले आफ्नो अस्पताल भवनमा पुगेको भौतिक क्षतिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा छिटोभन्दा छिटो बुझाउन सम्म्पूर्ण अस्पताललाई पुन: निर्देशन दिएको छ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top