‘राहत: चाहिएको अहिले सरकारले दिने कहिले?’

0 4
गोरखा : वर्षा याम नजिकिँदै छ। पालमुनिको बास अब धेरै दिन टिक्न सक्दैन। त्यसैले गोरखा घैरुङवासीले सरकारको मुख नहेरी बासको जोहो गर्न थालेका छन्। यतिबेला घैरुङवासी धमाधम कटेरो निर्माणमा गर्दैछन्। भूकम्प पछि गाउँमा पहिलो पटक अनु गुरुङको परिवारले बाँसको कटेरो बनायो। घर चर्केर बस्न नमिल्ने भएपछि उनीहरूले बाँसको कटेरो बनाएका हुन्।
यो घर सबैको आकर्षण बनेको छ। तर चाहेर पनि अन्य गाउँलेले सानो कटेरो पनि बनाउन सकेका छैनन्। गाउँमा बाँसको कमी छैन। कमी छ त केवल छानोको।  शनिबार काठमाडौंबाट पुगेको सगुन ओभरसिजको टोलीले राहतस्वरूप खाद्यान्न, लत्ताकपडा र जस्तापाता वितरण गरेपछि गाउँले बासस्थानको जोहो गर्न आफैं जुटेका हुन्।
टाढाबाट हेर्दा सग्लो देखिने घैरुङ गाउँ भित्रभित्रै चर्केको छ। भत्केको ठाउँमा धेरैको ध्यान जान्छ। तर चर्केको घरको पीडा पनि कम हुँदैन। ‘मन चर्केको कुरा सग्लो शरीर हेरेर कसैले थाहा पाउँदैन, घर चर्किंदा पनि त्यस्तै हुँदो रैछ’, स्थानीय पदमबहादुर गुरुङ भन्छन्, ‘हामीलाई खान दु:ख छैन, समस्या बासकै हो।’

अनुले बस्नको लागि बनाएको बाँसको कटेरो।तस्बिर: अन्‍नपूर्ण
धादिङ बेनीघाटबाट ५६ किलोमिटर कच्ची बाटो पार गरेपछि घैरुङ गाउँ पुगिन्छ। कच्चीबाटोबाट राहत पु:याउन सजिलो छैन। बल्लबल्ल पुगेका राहतमा पनि खाद्यान्नमात्र हुन्छ। तर उनीहरूको आवश्यकता खाद्यान्न नभई बासस्थान हो।
बासस्थानका लागि गाउँमा कच्चा पदार्थ र जनशक्ति पर्याप्त छन्। तर जस्तापाता नहुँदा समस्या छ। एउटा टोलीले दिएको ५० बन्डल जस्तापाता गाउँका एक सय ७२ घरका लागि पर्याप्त छैन।
जसको हातमा सोमबार जस्तापाता पर्‍यो उनीहरू अब सरकारको मुख ताक्ने पक्षमा छैनन्। सरकारको भर परे वर्षा काट्न सकिने आस छैन उनीहरूलाई। त्यसैले दिलबहादुर नेपाली भन्छन्, ‘सरकारको भर परे हामीलाई पनि गाह्रो, सरकारलाई पनि गाह्रो, बरु गाउँकै सामान प्रयोग गरेर आफैं आफ्नो बास खडा गर्छौं’
जस्तापाता हातमा लिएपछि प्रेमबहादुर परियारलाई बाँस काट्ने हतारमा छन्। ‘कम्तीमा छानोमा हाल्ने जस्ता पाएपछि अब त हामी आफैं कटेरो बनाउन सकिहाल्छौं नि’, उनले भने, ‘सरकारको मुख हेरे कहिले हो कहिले, आफैंले गरे अहिले नै बस्न पाइयो।’

बाँसको कटेरोमा बसेर सुखदुख सुनाउँदै अनु। तस्बिर: अन्‍नपूर्ण
ऊर्जाशील गाउँलेको पाखुरीमा बल भएपछि सरकारको मुख ताकेर बस्ने बानी छैन। हलबहादुर परियारले पनि बाँसको जोहो गरिसके, अब केही दिनमै सुरक्षित बास बस्न पाउनेमा उनी ढुक्क छन्।
यस्तो घर बनाउन खर्च पर्खिरहनु पर्दैन। गाउँकै बाँस, गाउँकै जनशक्ति पर्याप्त हुनेछ। गाउँलेहरू पर्म लगाएर एकअर्काको घर बनाउन पनि थालेका छन्। दुई दिनमा तयार हुने अस्थायी घरले तत्कालका लागि धेरैको बासको समस्या टर्नेछ।

-Source: Annapurna Post