सशस्त्रबाट बरामद चरेश नेपाल प्रहरीले तस्करलाई बेच्यो

0 3

वीरगन्ज : सशस्त्र प्रहरीले बरामद गरी बुझाएको चरेश नेपाल प्रहरीले तस्करलाई नै बेचेको खुलासा भएको छ ।

पर्साको पोखरियामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय लालबाबू सहनी र दीपक कार्कीले आठ किलो चरेश तस्करलाई नै बेचेको खुलेको हो ।सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगरबाट आइतबार राति पाँच किलो चरेशसहित दुई तस्करलाई पक्राउ गरेपछि नेपाल प्रहरीले चरेश बेचेको खुलाशा भएको हो ।

आइतबार राति ना२५प ४५२० नम्बरको मोटरसाइकलमा चरेश लिएर भारत जाँदै गरेका रौतहटको झूनखुनवा–३ निवासी भुतपूर्व प्रहरी अमरेन्द्र यादव र बीरगञ्ज–२ छपकैयाका शेष तमन्नालाई सशस्त्र प्रहरीले पक्रेको हो ।

उनीहरुले प्रहरी जवानद्वय सहनी र कार्कीसँग आफुहरुले चरेश खरिद गरेको बयान दिएपछि सशस्त्र प्रहरीले प्रहरी जवान सहनीलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको होे ।

बयानका क्रममा सहनीले चरेश बिक्रीमा अर्का प्रहरी जवान कार्की पनि संलग्न रहेको बताएपछि कार्कीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए ।

प्रहरी जवानद्धय सहनी र कार्कीले आठ किलो चरेश ५६ हजार रुपैयाँमा तस्करलाई बेचेको बताएका छन् ।

तस्करहरुलाई चरेश बेचेको आरोपमा दुवै प्रहरी जवानलाई निलम्बन गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रनाउ ओलीले बताए । चरेशसहित पक्राउ तस्करहरु यादव र तमन्नालाई पनि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

सशस्त्र प्रहरीले बैशाख २३ गते पर्साको शंकरसरैयाको सुकीभार जंगलक्षेत्रबाट ३० किलो चरेश , ७५ किलो गाँजा र १२ बोरको एकनाले बन्दुक बरामद गरेर बैशाख २४ गते इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको थियो ।

इलाका  प्रहरी कार्यालय पोखरीयाले बैशाख २९ गते उक्त चरेश र गाँजा नमुना परीक्षणका लागि दुवै प्रहरी जवानलाई जिम्मा लगाएर पर्सा जिल्ला अदालतमा  पठाएको थियो ।

अदालतबाट नमुना परिक्षण गराई इलाका प्रहरी कार्यालय पोखरियाकै गाडीमा फर्कने क्रममा बीचबाटोमै प्रहरी जवानद्धय सहनी र कार्कीले ३० पोका (३० किलो) मध्ये आठ पोका चरेश चोरेर झोलामा लुकाएका थिए ।

उनीहरुले अदालतबाट फर्किएपछि इलाका प्रहरी कार्यालयमा २२ पोका चरेशमात्र बुझाएपनि प्रहरी निरीक्षक निशान थापाले सोधीखोजी गरेनन् ।

चरेश चोरी र बिक्रीको घटनामा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक थापाको पनि संलग्नता रहेको प्रहरी श्रोतले जनाएको छ । चोरी गरिएको चरेश उनीहरुले बैशाख १ गते तस्करलाई बेचेका थिए ।

प्रहरी जवानद्वय सहनी र कार्कीले चोरेर बेचेको चरेशमध्ये तीन किलो तस्करहरुले भारत पठाइसकेका खुलेको छ । बाकी पाँच किलो चरेश आइतबार राति भारत लैजाने क्रममा सशस्त्र प्रहरीले बरामद गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो ।

प्रनाउ ओलीले पक्राउ परेका तस्करहरुको बयानका आधारमा आरोपित प्रहरी जवानद्वय सहनी र कार्कीलाई निलम्बन गरेर थुनामा राखिएको बताए । ‘व्याक्ति गलत हुन सक्छ , तर सिंगो संगठन गलत हुनै सक्दैन’, उनले भने ,‘नेपाल प्रहरीको छबि बिल्कुल स्वच्छ र पवित्र छ ,यसमा शंका नगरे हुन्छ ।’