ठगिन थाले भूकम्प पीडित

0 10
काभ्रे : भूकम्पले घर भत्किएपछि खुल्ला आकाशमुनि बसिरहेका जिल्लाका अधिकांश पीडितले आफैं अस्थायी टहरा निर्माण गर्न खरिद गर्न लागेको जस्ता पातामा समेत व्यापारीहरूले चर्को रकम असुल्न थालेका छन्।
भूकम्प गएको २३ दिन पुग्दासमेत राहतका नाममा राज्यको तर्फबाट त्रिपाल पनि पाउन नसकेका पीडितले ऋण खोजेर किन्न लागेको जस्तामा समेत व्यापारीले चर्को रकम असुल्न थालेका हुन्।
छाप्रो बनाउन जस्ता किन्न बनेपा आएका पाँचखालका केशव सापकोटा भन्छन्, ‘पसलमा भाउसमेत बुझ्न पाइँदैन। उनीहरू पहिला बिल तिर्नोस् अनि लैजानुस् भन्छन्।
उनीहरूले जति माग्यो त्यति नै तिर्नुपर्छ’, उनले थपे, ‘पसलैपिच्छे मूल्य फरक छ। किन यस्तो भयोभन्दा हामीलाई जस्ताको गुणस्तर, गेज, एमएम र ब्रान्ड फरक भएर भन्छन्। तर हामीले यसबारे जानकारी नभएकाले जति भन्यो त्यति तिरेर लग्यौं।
एकतर्फी रूपमा व्यापारीहरूले मूल्य लिने गरेकाले अधिकांश पीडितहरूले भूकम्प अगाडि भन्दा पछाडि जस्ताको मूल्यमा वृद्धि भएको गुनासो गर्दै आएका छन्।
‘मूल्यको बारेमा के गलफती गर्नु चित्त नबुझे नलैजा भन्छन्। त्यसैले जति भन्यो त्यति तिरेर लैजान लागेको’, कासीखण्ड नगरपालिक २ का रञ्जित श्रेष्ठले भने, ‘घर पूर्ण रूपमा क्षति भएपछि सरकारको तर्फबाट पालसमेत पाउन नसकेको अधिकांशले आफैं अस्थायी जस्ताका टहरा निर्माण गर्न सुरु गरेका छन्।’
‘आफूहरूले पहिलाकै मूल्यमा जस्ता बिक्री गरिरहेका छौं’, उपभोक्तासँग चर्को रकम असुलेका छैनौं’, राजेश हार्डवयर बनेपाका व्यवस्थापक दीपक रूपाखेती भन्छन्, ‘पहिलाको मूल्यभन्दा बढी लिएर बिक्री गरेको थाहा पाए कानुनबमोजिम कारबाही भोग्न तयार छौं।’
उनका अनुसार पसलबाट आरती ब्यान्डको जस्ता पाता बिक्री गर्दा २७ किलोको भएको १८ गेजको एक बन्डलको ३२ सय, ४२ किलोको भएको २७ गेजको ४७ सय र ६५ किलोको २४ गेजको ७२ सय रुपैयाँ लिएका छौं।
दैनिक रूपमा जस्ताको अत्यधिक माग बढ्दै गएकाले मागअनुसार बिक्री गर्नसमेत कठिन भएको उनले बताए। दैनिक ५० लाख रुपैयाँभन्दा बढीेको जस्ता बिक्री हुने गरेको छ।
‘यस्तो आपतविपद्को अवस्थामा कोही कसैले कालोबजारी र चर्को रकम असुलेको फेला परेमा कानुनबामोजिम कारबाही गर्छौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन गुरागाईंले भने, ‘अनुगमन गरिरहेका छौं।
कसैले मौकाको फाइदा उठाई कालोबजारी गरेको भेटिएमा जिल्ला प्रशासन वा नजिकैको प्रहरीमा जानकारी दिनुहोस्, हामी तत्काल कारबाही गर्छौं।’ एक दर्जनभन्दा बढी हार्डवयर पसलबाट जस्ता बिक्री हुँदै आएको छ।
‘बनेपाका केही हार्डवयरहरूले मनलाग्दी रकम लिइरहेको सुन्न आएको छ’, उद्योग वाणिज्य माहासंघ काभ्रेका निर्माण सामग्री संयोजक कृपेन्द्र श्रेष्ठ भन्छन्, ‘हामीले प्रशासन र नगरपालिकासँग समन्वय गरेर अनुगमन गरिरहेका छौं।’
पीडितले अस्थायी टहरा बनाउन थाले
भूकम्पले घर भत्किएको २३ दिन बितिसक्दा समेत अधिकांश पीडितले त्रिपालसमेत नपाएपछि ऋण गरेर अस्थायी बासस्थान निर्माण गर्न थालेका छन्।
‘सरकारको मुख ताक्नुभन्दा आफैं निर्माण गर्नु बेस भन्दै स्थानीय स्रोतसाधन प्रयोग गरेर छाप्रो बनाएँ’, कलाती भूमिडाँडा गाविसका रोशन तामाङले भने, ‘यति भएपछि घामपानी र हावाबाट सुरक्षित भइन्छकि भनेर १० हजार ऋण गरेर निर्माण गरेको हुँ।’
उनले थपे, ‘सरकारको भर प:यो भने बर्खा जान्छ। बरु आफूले जस्तो सकिन्छ त्यस्तै बनाउन उपयुक्त हुन्छ भनेर काठ, बाँस र जस्ताको टहरा बनाएको हुँ। जिल्लामा अधिकांश ग्रमीण क्षेत्रमा भत्किएका घरका काठ, जस्ताको प्रयोग गरी अस्थायी घरटहरा निर्माण गर्न थालेका छन्।’
‘आधा रात भूकम्पको डरले सुतिँदैन। आधा रात हावाहुरीको डरले रातभर त्रिपाल समाएर बस्नुपर्छ।
त्यसैले सानो भए पनि छाप्रो बनाउँ भनेर लागेको हुँ’, पाँचखाल नगरपालिकाका विकास अधिकारीले भने, ‘त्रिपालमा बस्दा आकाशबाट हावापानी र जमिनबाट सर्प र लामखुट्टेले सताउने गरेको छ,’ उनले थपे, ‘आपत्माथि आपत् थपिँदै गएको छ।
त्यसैले बाँस र जस्ता किनेर दुईकोठे छाप्रो बनाउन लागेको हुँ। एक दुई वर्ष धानिहाल्छ।पछि आर्को व्यवस्था गरौंला।’ त्रिपालमा बस्दा अधिकांश बालबालिका र वृद्धा चिसोका कारण निमोनिया, दम, ज्वरो र रुघाखोकीबाट प्रभावित हुन थालेका छन्।
सरकारको राहात र सहयोगको आसमा बसेका गाविस र नगरपालिकाका अधिकांश पीडितले बासस्थानको विकल्पका रूपमा जस्ता र काठको अस्थायी टहरा निर्माण गर्न सुरु गरेका छन्।