सिन्धुपाल्चोकका १२ गाउँ सार्नुपर्ने अवस्था

0 13
सिन्धुपाल्चोक : भूकम्पले धाँजा फाँटेर सिंगो गाउँ नै पहिरोको जोखिममा परेपछि उत्तरी भेगका १२ गाविसका बासिन्दा बस्ती नै छाड्नुपर्ने अवस्थामा पुगेका छन्। वैशाख १२ गतेपछि लगातार गएका सानाठूला भूकम्पले बस्ती जोखिममा परेपछि यी गाउँका बासिन्दा अन्यत्र सर्नुपर्ने अवस्था छ।
कुनै ठाउँमा पहिरोले बस्ती बगाउन थालिसकेको छ भने कतै जमिनमा ठूलाठूला धाँजा फाटेकाले पहिरोको खतरा बढेको छ। वर्षा सुरु हुनुअघि नै बस्ती स्थानान्तरण नगर्दा फेरि ठूलो खतरा सामना गर्नुपर्ने स्थानीय बासिन्दाले बताए। जोखिममा परेका बस्तीका अधिकांश बासिन्दा सरकारले सुरक्षित स्थानमा बासको व्यवस्था गर्नुपर्ने बताउँछन्।
उच्च जोखिममा रहेको तातोपानी, लिस्ती, फुल्पिङकट्टी, गाती, मानेश्वारा, घुम्थाङ गुम्बा, गोल्चे, पाङताङ, भोताङ, गुन्सा र बरुवा गाविसका अधिकांश बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ।
सिंगै डाँडामा धाँजा फाटेर जुनसुकै बेला बगाउन सक्ने र पहिरोले पुर्ने खतरा भएकाले बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय राजनीतिक दलका नेताहरू बताउँछन्। एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल जिल्लाका १२ गाविसलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताउँछन्। उनले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने विषयमा सरकारले ठोस योजना ल्याउनुपर्ने बताए।
एमाओवादीका अध्यक्ष माधव सापकोटा पनि विकट ठाउँका जोखिममा रहेका बस्ती सार्नुको विकल्प नभएको बताउँछन्। स्थानीय विकास अधिकारी युवराज कट्टेलले धाँजा फाटेका भूभागमा बस्न सक्ने नसक्ने अध्ययन गर्न भूगर्भविद्को आवश्यकता औंल्याए। उनले प्रधानमन्त्री भ्रमणमा आउँदासमेत भूगर्भविद्लाई अध्ययनका लागि पठाउन आग्रह गरेका थिए।
पहिरोको जोखिममा परेको गुन्सा गाविसका काले गोले आफ्नो गाउँ बस्न लायक नरहेकाले अन्यत्र सर्नुको विकल्प नरहेको बताउँछन्। भूकम्पसँगै गएको पहिरोले बस्तीका प्राय: सबै घर खतरामा रहेकाले आफूहरू सुरक्षित स्थानको खोजीमा रहेको उनले बताए।
गाउँका अधिकांश भाग बस्न लायक नरहेको लिस्ती गाविसका राजनीतिक कार्यकर्ता दोर्जे लामाले बताए। भूकम्पपछि घरबारविहीन भएका गाउँलेलाई व्यक्तिगत पहलमा राहत तथा उद्धारमा जुट्दै आएका उनी राहतले मात्र लिस्तीका बासिन्दाको समस्या समाधान नहुने धारणा व्यक्त गर्छन्।
‘डाँडाभरि धाँजा फाटेका छन्। गाउँ सिंगै बगाउने अवस्था छ, कसरी यहाँ निर्वाह चल्न सक्छ?’ उनले भने, ‘लिस्तीका अधिकांश बस्ती पहिरोको जोखिममा छन्।’ उनका अनुसार गाउँका कुनै पनि घर सग्ला छैनन्। आठवटा गुम्बा भत्किएका छन्।
तिब्बती र नेपाली गरी झन्डै चार सय आनीहरूको बसोबास रहेको छगामस्थित आनी गुम्बा आसपासको भूभाग भासिएको उनले बताए। उनका अनुसार २९ गतेको भूकम्पले सडक अवरुद्ध भएपछि राहत पु:याउनसमेत समस्या छ।
त्यसैगरी तातोपानी बजारको अस्तित्व पनि संकटमा परेको छ। तातोपानीमै पर्ने दुगुनागढी भासिएर त्यस क्षेत्रको बस्ती पहिरोको जोखिममा परेपछि स्थानीय बासिन्दा एउटा डाँडामा आश्रय लिएर बसिरहेको तातोपानीका विष्णुबहादुर श्रेष्ठले जानकारी दिए।
तातोपानी र सीमाक्षेत्रको लिपिङ बजार छेउछाउ लगातार आएको पहिरोले तातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापारमा समेत समस्या आउनसक्ने देखिएको छ।