भूकम्प रोक्न धर्तीमाताको पूजा

0 18
हेटौंडाः बैशाख १२ देखि लगातारको भूकम्पको धक्काले देशलाई आहत बनाएको भन्दै शनिबार हेटौंडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा बैदिक पूजापाठ गरिएको छ ।
भुकम्पका घाइतोहरुको स्वास्थ्यलाभको कामना र ज्यान गुमाएका मानब एबम् समस्त प्राणीको आत्माको चिरशान्ति तथा मोक्षप्राप्तिको लागि सामूहिक पूजापाठ गरिएको हो ।
कुष्माण्डधाम संरक्षण समितिको संयोजनमा लघुरुद्राभिषेक, अग्निस्थापना हवन, ग्रहपूजा, धर्तिपूजा, श्रीमद्भागवतगीता, गजेन्द्रमोक्ष, शिबसहस्रनाम, मृत्युञ्जय र बिष्णुसहस्रनामलगायत पाठ गरिएको हो ।
स्थानीय श्रद्धालुहरुको बाक्लो जमघट रहेको कार्यक्रममा भगवतनाम संकीर्तन, ध्यान, बैद्धिक प्रार्थना, स्वस्तीबाचन पनि गरिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।
धर्तीमाताको पूजा आरधना गरेपछि प्राकृतिक बिपत्ति रोकिने अपेक्षासहित धार्मिक अनुष्ठान गरिएको अध्यक्ष न्यौपानेले बताए ।
यसैगरी हेटौंडा–४ स्थित भुवनेश्वर महादेवको मन्दिरमा पनि शनिबार स्थानीयले दीपप्रज्ज्वलनसहित भजनकीर्तन गरी भुकम्पमा ज्यान गुमाएका मानव तथा समस्त प्राणीजगतको आत्माको शान्तिको कामना गरे ।
कार्यक्रममा पण्डित मुरारी चालिसे, समाजसेवी रामप्रसाद सुबेदी, भुवनेश्वर सेवा समितिका सचिव तेजप्रसाद रुपाखेतीलगायतको सहभागिता थियो ।
प्राकृतिक बिपत्मा ज्यान गुमाएका मानब तथा समस्त प्राणीको आत्माशान्तिको कामना गर्दै धार्मिक अनुष्ठान गर्ने क्रम ग्रामीण क्षेत्रका मन्दिरमा पनि जारी छ ।
-Source: Annapurna Post