जोखिमपूर्ण बस्ती तराईमा सार्न सुझाव

0 9
काठमाडौ, २ जेठ – कांग्रेस केन्द्रीय सदस्य तथा सभासदले भूकम्पग्रस्त जिल्लाका जोखिमपूर्ण बस्ती तराईमा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसले भूकम्पग्रस्त १४ जिल्लामा अनुगमन गर्न पठाएको केन्द्रीय सदस्य तथा सभासदहरुको टोलीले स्थलगत भ्रमण री यस्तो सुझाव दिएका हुन्।

भूकम्पग्रस्त १४ जिल्लामा स्थलगत भ्रमण गरी काठमाडौ फर्केका सभासद तथा केन्द्रीय सदस्यहरुले शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई लिखित रुपमा सुझाव दिएका हुन् । उनीहरुले सिन्धुपाल्चोक, दोलखा, गोरखा लगायत केही ठाउँमा बस्ती नै असुरक्षित रहेको भन्दै जोखिमपूर्ण वस्तीलाई तत्कालै जिल्लाकै सुरक्षित ठाउँमा या तराईमा सार्न सुझाव दिएको  छ। त्यस्तो ठाउँमा एकीकृत बस्ती बसाउन पनि उनीहरुले सुझाव दिएका छन्।

नयाँ ठाउँमा बस्ती बसाउँदा खाली भएका बस्तीलाई संरक्षित क्षेत्र बनाउन पनि पार्टीलाई सुझाव दिएका छन्। संरक्षित क्षेत्रमा सुरक्षित बस्ती बनाउन सकिने उनीहरुको भनाई छ । वर्षायाम सुरु हुनअघि नै असुरक्षित बस्तीलाई सुरक्षित स्थानतिर बस्ती सानुपर्ने तर्क उनीहरुले राखेका छन्।

सिक्नुपाल्चोक, दोलखा, गोरखालगायतका केही जिल्लामा तत्कालै बस्ती सार्नुपर्ने सुझाव दिएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए, राजधानी दैनिकमा खबर छ।