ओली र प्रचण्ड एकअर्कालाई फकाउँदै

0 5
काठमाडौं : महाविनाशकारी भूकम्पपछि उत्पन्न असहज अवस्थालाई प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले व्यवस्थित गर्न नसकेको निष्कर्षसहित राष्ट्रिय सहमतिको सरकार गठन गर्न सत्तासाझेदार एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच शुक्रबार दुई चरणको वार्ता भएको छ।
प्रधानमन्त्री कोइरालालाई हटाएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान र साँझ दुईपटक वार्ता भएको हो।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सैद्धान्तिक रूपमा राष्ट्रिय सहमतिको सरकार ठीक भए पनि यसबारे कुनै कुरा औपचारिक रूपमा अघि बढिनसकेको दाबी गरे। केही दिनमा धेरै कुरा हुनसक्ने भने उनले बताए।
एमाओवादी महासचिव कृष्णबहादुर महराले शुक्रबार ओली र दाहालबीच अनौपचारिक वार्ता भएको बताए। उनले भने, ‘शीर्ष स्तरमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच वार्ता भइरहे पनि औपचारिक रूपमा खासै केही देखिएको छैन। तीनै दलका शीर्ष नेताहरूबीच भएको द्विपक्षीय वार्ताको स्वरूप आइसकेको छैन।’
भेटवार्तामा ओली र दाहालले दुवैले विद्यमान संकटलाई निकास दिन राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी गरेका थिए। स्रोतका अनुसार दुवै नेताले राष्ट्रिय सरकारको नेतृत्व नलिने दललाई सत्तामा प्रमुख हिस्सा दिने धारणा राखेका थिए।
ओली र दाहालले आफूहरूमध्ये कुनै एकले राष्ट्रिय सरकारको नेतृत्व गर्न नपाए विगतमा प्रधानन्यायाधीशले नेतृत्व गरेझै आगामी दिनमा प्रशासन वा अन्य कुनै निकायका व्यक्तिले त्यस्तो सरकारको नेतृत्व गर्न सक्ने धारणा पनि राखेको स्रोतको दाबी छ।
ओलीले आफूप्रति विद्यमान प्रशासन एवं सुरक्षा सयन्त्रका साथै भारत, चीन र अमेरिकाको समर्थन रहेको दाबी दाहालसमक्ष गरेका थिए।
दाहालले विगतमा आफू सत्तामा गए पनि विविध कारणले हट्नुपरेको स्मरण गर्दै आफ्नो आठमहिने कार्यकाल लोकतान्त्रिक आन्दोलनपछि सबैभन्दा राम्रो रहेको दाबी ओलीसँग गरेका थिए।
यसअघि ओलीले सोमबार आफ्ना सहयोगी नेता विष्णु पौडेललाई एमाओवादी अध्यक्ष दाहाललाई फकाउन उनकै निवास लाजिम्पाट पठाएका थिए।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नै पार्टीका सभापति कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहल बढाएको र त्यसका लागि अनौपचारिक रूपमा केही कूटनीतिक नियोग नै अघि बढेको विषयमा पनि ओली र दाहालबीच वार्ता भएको थियो।
एमाओवादीप्रति कडा रूपमा प्रस्तुत हुँदै आएका ओली पछिल्ला दिनमा ऊप्रति नरम देखिएका छन्।