यस वर्ष कमजोर मनसुन

0 4
काठमाडौं : अर्को महिनादेखि सुरु हुने मनसुनी वर्षा कमजोर हुने देखिएको छ। संसारभरिका मौसमविद्ले विभिन्न मौसमी गतिविधि तथा संकेतको अध्ययनपछि नेपालसहित भारत र पाकिस्तानमा औसतभन्दा निकै कम वर्षा हुने प्रक्षेपण गरेका हुन्।
विश्व मौसम संघको अनुवाइमा दक्षिण एसियाली मौसमविद्हरूको संस्था साउथ एसियन क्लाइमेट आउटलुक फोरमको हालै सम्पन्न बैठकले हिन्द र प्रशान्त महासागरमा देखिएको मौसम प्रणालीमाथि अध्ययन गरी खडेरी र सुख्खा बढ्ने निष्कर्ष निकालेको हो।
औसतभन्दा कम वर्षा हुँदा तत्कालीन समयमा भूकम्प प्रभावितलाई केही राहत भए पनि मनसुनी वर्षामा भर पर्ने नेपालको कृषि उत्पादन भने झन घट्ने देखिएको छ। मौसम प्रक्रियामा देखिने ‘इलनिनो’का कारण यस वर्ष औसतभन्दा कम वर्षा हुने देखिएको हो।
‘यस वर्ष एलनिनो देखिएको छ। त्यसको असर नेपाल र भारतमा पर्छ। यी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने देखिन्छ’, फोरमले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रशान्त महासागर तात्ने र तातो हावा तथा पानीले मनसुन प्रक्रियामा पार्ने प्रभाव नै एलनिनो प्रभाव हो। वैज्ञानिकका अनुसार महासागरबाट तातो पानी र हावा दक्षिण अमिरिकातिर जान्छ। जसले दक्षिण एसिया, अफ्रिका तथा अस्ट्रेलियाको मनसुन कमजोर बनाइदिन्छ।
मौसमविद्का अनुसार प्रशान्त महासागरको पानी सधैं तात्दैन। वरिष्ठ मौसमविद् तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्यका अनुसार प्रशान्त महासागरको पूर्व तथा मध्यभागको पानीको सतहको तापमान औसतभन्दा चिसो हुने बेला दक्षिण एसियामा मनसुन राम्रो हुन्छ। यस्तो प्राकृतिक प्रक्रियालाई लानिना भनिन्छ। ‘लानिना देखिँदा नेपालमा पनि राम्रो मनसुन हुन्छ,’, शाक्यले भने।
एलनिनोले यो वर्ष दक्षिण एसियामा सुख्खा र खडेरी ल्याउने अनुमान वैज्ञानिकहरूले गरेका छन्। ‘जसको असर नेपालमा पनि धेरै पर्छ’, जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भने। प्रशान्त महासागरमा एलनिनो जस्ता विभिन्न प्राकृतिक प्रणालीको प्रभाव देखिन थालेको छ।
नेपालको पूर्व र पश्चिमी पहाडमा भने औसत वर्षा हुने अनुमान छ। बाँकी भागमा भने औसतभन्दा कम वर्षा हुन्छ। नेपालमा जुनदेखि सेप्टेम्बरसम्मका एक सय पाँच दिनलाई मनसुनी समय भनिन्छ।
जलवायु तथा मौसमविज्ञान विभागका अनुसार यो अवधिमा देशभरि औसत एक हजार चार सय २२ मिलिमिटर पानी पर्नुपर्छ। सामान्यतया मनसुनमा समयमा नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी पर्छ।
वैज्ञानिक गणितीय मोडेलका आधारमा मनसुनलाई प्रभावित पार्न सक्ने एलनिनो र लानिनाजस्ता प्राकृतिक प्रक्रियाबारे गहिरो अनुसन्धान गरेका थिए।
अध्ययन हिन्द महासागरमा देखापर्ने मौसमी गतिविधि र यसले मनसुनलाई पार्न सक्ने प्रभावबारे केन्द्रित थियो। यससँगै हिउँद याममा उत्तरी गोलार्धको विभिन्न स्थानमा भएको भारी हिमपातलाई दृष्टिगत गरी यसबाट मनसुनलाई पर्न सक्ने प्रभावलाई पनि अध्ययन गरिएको मौसमविद्हरूले बताएका छन्।
दक्षिण एसियाली देशले आफ्नो देशमा मनसुन सुरु हुने फरक फरक समय सार्वजनिक गर्छन्। नेपालमा सरदर जुन १० तारिखदेखि पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ सम्म रहन्छ। तर जलवायु परिवर्तनका कारण दक्षिण एसियाली मनसुन सबैभन्दा धेरै प्रभावित भएको र पछाडि सरिरहेको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पुष्टि गरेका छन्।
जलवायु परिवर्तनका कारण मनसुन पछाडि धकेलिँदै गएको वैज्ञानिकको निष्कर्ष छ। प्रत्येक वर्ष हिन्द महासागरलगायतका ठाउँमा उत्पती हुने मनसुनी वायु भारतको केराला हुँदै उत्तर पूर्वतिर बढ्दै भारतका विभिन्न स्थान तथा बंगलादेशतिर प्रवेश गर्छ।
त्यहाँबाट मनसुनी वायुको दिशामा परिवर्तन भई दक्षिण पूर्वी दिशाबाट नेपाल प्रवेश गर्छ र पाकिस्तान हुँदै बिदा हुन्छ।
 Source: Annapurna pOst