त्रिपालमुनि बुहारी स्याहार्दै ससुरा

0 3
 भूकम्‍पले दिएको पीडा
धादिङ : री गाउँ विकास समिति ४ रिचोकका गाङ्जे तामाङ र उनकी बुहारी सपना सदरमुकामकै खुल्ला ठाउँमा त्रिपाल टाँगेर बसेको १६ दिन भयो।
भूकम्प आउँदा गाङ्जेको पाँचजनाको परिवार री गाविसको घरमै बसेर आलु उसिनेर खाँदै थिए। घरमा रहेकी ६२ वर्षीया पत्नी लाकुमाया तामाङ र अढाइ वर्षकी नातिनी स्माइल तामाङको भूकम्पले घर भत्कँदा घरमा नै पुरिएको मृत्यु भयो।
पत्नी र नातिनी गुमाए पनि भूकम्पको दुई दिनपछि बुहारी सपनालाई खुट्टा भाँचिएको अवस्थामा गाङ्जेले टाउकोबाट रगत बग्दाबग्दै उद्धार गरे।
उद्धारपछि हेलिकोप्टरमा जिल्ला सदरमुकाम धादिङबेसीमा ल्याइएका ससुराबुहारी अहिले धादिङबेसीमा रहेको खुला स्थानमा पाल टाँगेर बस्न बाध्य छन्।
घरले च्यापेर सपनाको खुट्टा भाँचिएको छ। सपना हिँडडुल गर्न सक्दिनन्। गाङ्जेका एकमात्र छोरा सुन्दरराम दुबइमा छन्। रसिला आँखा बनाउँदै गाङ्जेले भने, ‘धादिङबेसीमा नै रहेका जेठानले दुई छाक खाना ल्याइदिन्छन्। घर जान घर छैन। त्यसमाथि बुहारीको खुट्टा प्लास्टर गरिएको छ।’

भूकम्‍पले घाइते भएका धादिङका महिलाहरु घर बाहिर आराम गरेर बस्दै। तस्बिर: अन्‍नपूर्ण
अस्पतालले प्लास्टर गरिदिएपछि अस्पतालबाट घर जाउ भनेको र बेलाबेला खुट्टा देखाउन डाक्टरले बोलाएकाले सदरमुकाम छाड्न नसकेको उनले बताए। आफ्नी पत्नी र अबोध नातिनी गुमाएका उनलाई घर जान पनि मन छैन।
गाङ्जेजस्तै भूकम्पबाट घाइते भएका उत्तरी धादिङका धेरैजना जिल्ला सदरमुकाममा नै सहाराविहीन भएर बसिरहेका छन्। सामान्य उपचारपछि अस्पतालले डिस्चार्ज गरिदिएपछि उनीहरू बिचल्लीमा परेका हुन्।
कोही स्कुलका भवनमा बसिरहेका छन् भने कोही खुल्ला चौरमा। सदरमुकाम नीलकण्ठ उच्च माविको स्रोतकेन्द्रमा गाङ्जेजस्तै १० जनाले आश्रय लिइरहेका छन्।
लापा गाउँ विकास समिति २ तिङचेतकी देउमाया तामाङ नीलकण्ठ उच्च माविको स्रोतकेन्द्र भवनमा भाँचिएको खुट्टामा प्लास्टर गरेर बसेको १६ दिन भयो।
भूकम्पमा परी लापा तिङचेतकी देउमायालाई पतिले एक दिनको बाटो बोकेर झार्लाङ ल्याएपछि पाँचौं दिन झार्लाङबाट हेलिकोप्टरबाट उद्धार गरी सदरमुकाममा उपचारका लागि ल्याइएको थियो।
उनलाई उपचारका लागि ल्याएकै दिन खुट्टा प्लास्टर गरेर जिल्ला अस्पतालमा ठाउँ अभाव भएपछि नीलकण्ठ उच्च माविको स्रोतकेन्द्र भवनमा सारियो।
दुई दिन हिँडेर घाइते पत्नी भेट्न सदरमुकाम ल्याइएकी देउमायालाई अहिले उनकै पति बुद्ध तामाङले हेरचाह गरिरहेका छन्।
सदरमुकाममा आफन्त र इष्टभित्र कोही पनि नभएको देउमायाको अहिले बिजोग भएको छ।
न खाने कुराको ठेगान छ, न घर जाने ठेगान छ। देउमायाले रुँदै भनिन्, ‘घर भत्किएर खुट्टा भाँचियो, हिँड्न सक्दिनँ। अस्पतालबाट घर जा भनेको छ कहाँ जाने, कहाँ खाने बस्ने केही ठेगान भएन।’
झार्लाङ गाउँ विकास समिति २ की ठुङचामाया तामाङ पनि दुवै खुट्टा भाँचिएर अहिले नीलकण्ठ स्रोतकेन्द्रकै भवनमा दिन बिताइरहेकी छन्। घर भत्किएर ६ महिने छोरो आकृष तामाङ र बुबा भाका लामा गुमाएकी ठुङचामायाको पनि अवस्था देउमायाको भन्दा फरक छैन। दुवै खुट्टा भाँचिएर शौचालय जानसमेत समस्या पर्ने उनलाई सहायता दिने सदरमुकाममा न कोही आफन्त छन् त न पति नै।
वैदेशिक रोजगारीको लागि गएका पति याकुव तामाङसँग भूकम्पपछि उनको फोनमा मात्र सम्पर्क भएको छ। नेपाली भाषासमेत राम्रोसँग नजानेकी ठुङचामाया अहिले न समयमा खान पाउँछिन् न कोही आफन्त नै उनलाई स्याहार्न आएका छन्।
जिल्ला अस्पताल धादिङबाट डिस्चार्ज भएका उत्तरी क्षेत्रका सहाराविहीन १० भन्दा बढी घाइेत अहिले स्कुल तथा खुल्लाचौरमा त्रिपालमुनि बसिरहेका छन्।
देउमायाले भनिन्, ‘जिल्ला अस्पतालले डिस्चार्ज गरिदियो अब प्लास्टर काट्ने बेलामा आउनुपर्छ भनेको छ। गाउँ जाउँ खुट्टा भाँचिएको छ। हिँड्न सक्दिनँ। न जाउँ यहाँ अलपत्र परियो।’
अस्पताल नजिकैको स्कुलमा राखिए पनि उनीहरूलाई डिस्चार्ज गरिएकाले जिल्ला अस्पतालको क्यानटिनबाट कहिलेकहीँ मात्रै उनीहरू भएको ठाउँमा खाने कुरा पुग्छ।
कुनै छाक त भोकै बसेको र कहिलेकाहीँ दाताहरूले दिएको बिस्कुट खाएर बसेको देउमायाले बताइन्। अहिले जसोतसो स्कुलको भवनमा बसिरहेको भए पनि स्कुल सञ्चालन भएपछि कहाँ जाने त्यही कुराले उनलाई सताउन थालेको छ।
 ‘न टाँगेर बस्ने पाल छ, न टेक्ने लौरो नै। अब स्कुल सुरु भएपछि कहाँ जाने होला?’ निकै भावुक हुँदै देउमायाले भनिन्।

– Source: Annapurna Post