११ हजार फिटमा भेटियो अवशेष

0 3
अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त 
भूकम्पपीपडितलाई उद्धार तथा राहत वितरण गर्न दोलखा जाने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता अमेरिकी यूएच वान हुएई हेलिकोप्टर शुक्रबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
गत मंगलबार दिउँसो २:३० देखि सम्पर्कविहीन भएको उक्त हेलिकोप्टर दोलखासँग सिमाना जोडिएको ११ हजार दुई सय उचाइमा कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशामा सिन्धुपाल्चोकको घोर्थली गाविसमा फेला परेको हो।
हेलिकोप्टर पूर्ण रूपमा क्षति भएको छ भने पाँचजनाको शव फेला परेको छ। त्यसमा रहेका ६ अमेरिकी र दुई नेपाली सैनिक अधिकारीमध्ये कसैको पनि बाँच्ने स भावना नरहेको सैनिक स्रोतले बताएको छ।
दुर्घटनाग्रस्त क्षेत्र कालिञ्चोक भगवती मन्दिरबाट एक घन्टाको पैदल दूरीमा रहेको दोलखास्थित बर्दबहादुर गणका गणपति विश्वासविक्रम शाहले जानकारी दिए।
उनले आफूहरू मौसमका कारण त्यसतर्फ जान नसकेको उल्लेख गर्दै राजधानीबाट सेनाको विशेष टोली दुर्घटनास्थल पुगेको बताए। ‘सुरक्षाका कारण अरूलाई दुर्घटनास्थलमा जान दिइएको छैन’, उनले भने।
विमान भेटिएको खबर सार्वजनिक भएसँगै एयर डाइनेस्टीको हेलिकोप्टर लिएर दोलखा पुगेका दुई अमेरिकी पत्रकारहरूलाई घटनास्थल जान रोकिएको थियो। दुर्घटनाग्रस्त जहाजको कुनै पनि अवशेष नचलाइदिन अमेरिकी प्रतिनिधिले नेपाली सेनालाई आग्रह गरेका छन्।
सैनिक मुख्यालयले भने शुक्रबार विज्ञप्ति निकाली हेलिकोप्टर दुर्घटना भएको पुष्टि गरे पनि त्यसमा रहेका अमेरिकी र नेपाली सैनिकबारे केही बोलेको छैन। त्यसमा सवार सैनिकहरूको नाम पनि सार्वजनिक भएको छैन।
हेलिकोप्टर दुर्घटना भएको स्थानमा अहिले नेपाली सेनाको एक टुकडीले सुरक्षा प्रदान गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण थप अध्ययन र अनुसन्धान गर्न कठिनाइ भइरहेको पनि सैनिक मुख्यालयले प्रस्ट्याएको छ। दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भए पनि विस्तृत विवरण आएपछि मात्र यथार्थ पत्ता लाग्ने सैनिक मुख्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त हेलिकोप्टर डाँडामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने सैनिक उच्च स्रोतले जनाएको छ। ‘दोलखा क्रस गरिसकेपछि उक्त हेलिकोप्टर कुहिरोमा छिरेको हुनसक्छ, त्यही बेला ठोक्किएको हामीले अनुमान गरेका छौं’, एक सैनिक उच्च अधिकारीले अन्नपूर्णसँग भने।’
दुर्घटना भएको उक्त हेलिकोप्टर भूकम्पपीडितको उद्धार र राहत वितरणका लागि अमेरिकी विशेष अप्रेसनमा सहयोगी हात नामक प्रोजेक्टअन्तर्गत दोलखा उडेको थियो। दुर्घटनाग्रस्त हेलिकोप्टरको खोजी गर्न पैदल गएका सैनिक फौज स्थानीयवासीले सूचना दिएपछि घोर्थलीतर्फ गएको थियो।
त्यसपछि नेपाली सेनाले काठमाडौंबाट पठाएको लान्सर र इक्युरेल हेलिकोप्टरले कालिञ्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ सिन्धुपाल्चोकको घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा उक्त अमेरिकी हेलिकोप्टर फेला पारेको हो। दुर्घटनाग्रस्त हेलिकोप्टरमा सम्पर्क अधिकृतका रूपमा नेपाली सेनाका क्याप्टेन दैलेखका तपेन्द्र रावल थिए।
सम्पर्कविहीन हुनुअगाडि उक्त हेलिकोप्टरका पाइलटहरूले इन्धनको समस्या बेहोर्नुपरेको हुनसक्ने उच्च सैनिक स्रोतले जानकारी दिएको छ।
वैशाख १२ को भूकम्पपछि झन्डै तीन सय अमेरिकी सैनिक फौज भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा सक्रिय छन्।
उक्त हेलिकोप्टर खोज्न नेपाली सेना, भारतीय सेनाको हेलिकोप्टर र अमेरिकी ओस्प्रे हेलिकोप्टर परिचालन गरिएको थियो। मंगलबार हेलिकोप्टर स पर्कविहीन भएपछि बुधबार बिहानैदेखि खोज्दा पनि हेलिकोप्टरको कुनै सूचना प्राप्त हुन सकेन।
तामाकोसी नदीमा खसेको आशंकामा सुनखानीको पिखुतीदेखि भीमेश्वर नगरपालिकाको नागदहसम्म नेपाली सेनाले बिहीबार हेलिकोप्टर खोजेको थियो।
नेपाली सेनाले ६ सयभन्दा बढीलाई सुनखानी, लापिलाङ, लामाबगर, बिगु, कालिञ्चोकलगायत स्थानमा हेलिकोप्टर खोज्न खटाएको थियो।