अमेरिकी टोलीलाई सिंहदरबार निरीक्षण गर्न रोक

0 9
काठमाडौं : विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार रोक लगाएको छ।
सरकारको पूर्वअनुमतिबिना विदेशीहरूलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले सिंहदरबार पुनर्निर्माण विकास समितिका पदाधिकारीलाई हप्काएका थिए।
समितिका एक अधिकारीका अनुसार सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले आफूले सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त गरेको र सोही पत्रका आधारमा क्षति पुगेका मन्त्रालय तथा भवनको प्राविधिक मूल्यांकन गर्न लगाएको जबाफ दिएका थिए।
मन्त्रालयले बिहीबार समितिलाई पत्राचार गरी अमेरिकास्थित ग्लोबल फेयरनेस इनिसियटिभ भन्ने संस्थाबाट नौजना प्राविधिक (इन्जिनियर) लाई सिंहदरबारका मन्त्रालय रहेका भवनहरूको अध्ययन गर्न लगाउन निर्देशन दिएको थियो।
अमेरिकी टोलीमा समितिले आफ्ना इन्जिनियरहरू रञ्जन प्रजापति र सरोज कायस्थलाई समावेश गराएको थियो।
टोलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद, श्रम तथा रोजगार, योजना आयोग, सामान्य प्रशासन, उद्योग, वाणिज्य, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालयका भवन निरीक्षण गर्ने योजना थियो।
सचिव राईले आपत्ति जनाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयको ‘र्‍यापिड भिजुयल एसेसेमेन्ट’ (बस्न हुने-नहुने मात्र छुट्टयाउने गरी हुने प्राविधिक जाँच) गरेर फर्केका थिए।
टोलीले तीन दिन ती मन्त्रालयको प्राविधिक मूल्यांकन गर्ने र तीन दिन लगाएर प्रतिवेदन सरकारलाई दिने कार्यक्रम थियो। प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयबीच टोलीलाई अध्ययन गर्न दिइएको विषयमा विवाद परेपछि बाँकी मन्त्रालयका भवनमा अब के गर्ने भन्ने निचोडमा आगामी आइतबार प्रधानमन्त्री कार्यालयमा छलफल गरेर निधो लगाउने सहमति भएको स्रोतले बतायो।
उक्त टोलीले सिंहदरबारका अतिरिक्त भवन विभागको कार्य क्षेत्रअन्तर्गत पर्ने सबै सरकारी भवन, सरकारले अनुमति दिएका अपार्टमेन्ट, अस्पताल र धेरैजना सर्वसाधारण उपस्थित हुने विभिन्न डिपार्टमेन्ट पसल, मल आदि निरीक्षण गर्न कार्ययोजना बनाएको छ।
यसका लागि नगर विकास प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभाग र सिंहदरबार पुनर्निर्माण समितिले समन्वय गर्ने गरी टोली परिचालन गर्ने तय भइसकेको छ।
स्रोतका अनुसार उक्त टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर प्राविधिक जाँच सुरु गरेपछि सचिव राईले आपत्ति जनाउँदै फर्काएका थिए। सचिव राईले सहरी विकास सचिव अर्जुनकुमार कार्कीलाई फोन गरी ती अमेरिकी टोलीलाई सिंहदरबार छिर्न कसले अनुमति दिएको भनी प्रश्न गरेका थिए।
राईले कार्कीलाई सोधेपछि कार्कीले मन्त्रालयका सहसचिवहरूलाई डाकेर कसको अनुमति लिएर यस्तो काम गरेको भनी प्रश्न गरेका थिए। ‘ टोलीलाई कसले अनुमति दिएको र अब काम गर्न दिने-नदिने विषयमा आइतबार छलफल हुनेछ’, स्रोतले भन्यो।
सचिव राईले उक्त टोली केका लागि आएको र कसको अनुमति लिएको भन्ने कुनै खुल्न नसकेकाले फर्काइएको बताए। ‘सरकारको केन्द्रीय प्रशासनिक केन्द्रमा बिनाअनुमति विदेशीलाई प्रवेश दिनु हुन्न भन्नेर हामीले रोकेका हौं’, सचिव राईले शुक्रबार अन्नपूर्णसित भने, ‘स्वयं सहरी विकास सचिवलाई समेत कसको अनुमतिमा टोली आएको भन्ने जानकारी रहनेछ।’
गत वैशाख १२ गतेको भूकम्प र त्यसको १८ औं दिनमा आएको पराकम्पनले सिंहदरबारस्थित रक्षा मन्त्रालय, युवा तथा खेलकुद मत्रालय, श्रम तथा रोजगार मन्त्रालय, प्रधानमन्त्री कार्यालय र योजना आयोगका भवन बस्नै नहुने गरी क्षति पु:याएको छ।
भूकम्पले सिंहदरबारस्थित आंशिक क्षति पुर्‍याएका अन्य भवनमा सामान्य प्रशासन मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालय छन्।
टोलीलाई काम गर्न नदिएको बारे सरकारका मुख्य सचिव लीलामणि पौड्यालले आफूलाई कुनै जानकारी नभएको बताए। ‘भवन हेर्न कुनै टोली आएको मेरो जानकारीमा छैन’, पौड्यालले शुक्रबार अन्नपूर्णसित भने, ‘काम गर्न नदिएर फिर्ता पठाएको पनि जानकारीमा छैन।’