भूकम्पबारे विज्ञ के आधारमा बोल्छन् ? : डा. तारानिधि भट्टराई, भूगर्भविद्

0 4

नेपालमा भूकम्प किन र कसरी आउँछ वा आउँदैन भन्ने केही आधार छन् । त्यससम्बन्धी अध्ययन गरेको मान्छेले नै यसबारे आफूले बुझेको बोल्ने हो । हामीले सबैभन्दा पहिले त हाम्रा पहाड, पर्वत, हिमशृंखला कसरी बने भनी बुझ्न आवश्यक हुन्छ । यी पहाड, हिमालहरु अचानक एकै दिनमा बनेका होइनन् । यी बन्नका लागि करोडौँ वर्ष खर्च भएको छ । भूगर्भशास्त्रले भन्छ, आजभन्दा झन्डै पाँच करोड वर्षअगाडि भारतीय प्लेट र युरोसियन प्लेटको बीचमो तेथिस सागर थियो । तेथिस सागरको दक्षिणतिर रहेको भारतीय उपमहाद्वीप अर्थात् इन्डियन प्लेट बिस्तारै उत्तरतिर सर्दै थियो । अन्तमा इन्डियन प्लेट र तिब्बेतीयन प्लेट भेट भए वा जुधे । यो आजभन्दा पाँच करोड वर्षअघिको कुरा हो । यसरी प्लेट जुधेपछि साधारणतः ठूलो प्लेटभित्र सानो प्लेट घुस्ने प्रक्रिया हुन्छ । हाम्रोमा तिब्बतीयन प्लेटमुनि इन्डियन प्लेट घुस्यो । तर, यो घुसिरहन भने सक्दैन । किनभने, अर्कोले थिचिराखेको हुन्छ । उदाहरणका लागि एउटा बाँसको भाटोले माटो भएको भित्तोमा सीधा ठेल्यौँ भने दुई–तीन इन्च भासिन्छ । धेरै ठेलियो भने भाटो बांगिन्छ । र, बांगिएको ठाउँबाट चिरिँदै भाँचिन्छ । भाँचिदा ठेल्ने मान्छे पनि हल्लिन्छ, हुत्तिन्छ । यहाँ बाँसको भाटो भनेको इन्डियन प्लेट, भित्तो भनेको तिब्बतीयन प्लेट । जसरी भाटो भाँचिदा ठेल्ने मान्छे यताउता हुन्छ वा हुत्तिन्छ । त्यसरी नै इन्डियन प्लेटभित्रका चट्टानहरु भाँचिदा त्यो भाग उछिट्टिन्छ । यसरी उछिट्टिनु भनेकै भुइँचालो जानु हो ।
यो प्रक्रिया सुरु तब भयो, जब दुइटा प्लेटहरु एकआपसमा जुधे । भुइँचालो त गइहाल्यो, के अब सकियो त ? यस्तो हुँदैन । किनभने, इन्डियन प्लेट त अघि बढिरहेकै छ । एकचोटि ठूलो शक्तिशाली भुइँचालो गएर पृथ्वी उचालिइसकेपछि फेरि दुई–चार सय वर्षपछाडि अर्को महाभूकम्प आउँछ । र, फेरि पनि पृथ्वी त्यसरी नै उचालिन्छ । यो दृष्टिकोणले हेर्दा हाम्रा पहाड, पर्वत, हिमशृंखला लाखौँ भूकम्प गइसकेपछि बनेका हुन् ।

अहिले पनि इन्डियन प्लेट बिस्तारै उत्तरतर्फ बढिरहेको छ । यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने यदि भूसतहबाट केन्द्रतिर खनेर हेरियो भने पृथ्वीमा पाँच तह अर्थात् पत्र छन् । सबैभन्दा बाहिरको पत्रलाई लिथोस्फेर, त्यसमुनि अस्थेनोस्फेर, त्यसमुनि मेसोस्फेर, त्यसपछि आउटरकोर र इनरकोर गरी पाँच तह छन् । यी पाँच तहमध्ये अस्थेनोस्फेरभन्दा तलका तह निकै ताता छन् । जसले अस्थेनोस्फेरलाई तताउँछ । अस्थेनोस्फेरमा लेदोजस्तो तन्कने खालको पदार्थ छ । अस्थेनोस्फेर तातेपछि के हुन्छ त ? पानी उमालेको उदाहरण हेरौँ, पानी उम्लन थालेपछि भाँडोमा पानी फनफनी घुम्न थाल्छ । त्यसमा चियाको पात राखियो भने पानी सँगसँगै चियाको पात पनि फनफनी घुम्छ । यसरी नै अस्थेनोस्फेर घुम्दा वा चल्दा यसमाथि रहेको लिथोस्फेर पनि सँगै चल्छ । यसलाई नै प्लेट हिँडेको वा घुसेको भनिएको हो । सरदर चार सेमिका दरले प्रतिवर्ष यो प्लेट घुसेको छ ।

यसमाथिको लिथोस्फेर विभिन्न चट्टानले भनेको हुन्छ । जहाँ पहाड, समथर भूभाग, हिमशृंखला, पानी छन् । यो भाग पनि अस्थेनोस्फेरसँगै बिस्तारै हिँडिरहेको हुन्छ । अस्थेनोस्फेरलाई माथिका भूभागले थिचिरहेको हुन्छ । माथिको दबाबका कारण लिथोस्फेर अर्थात् प्लेट एकअर्कामा घुस्दा वा ठेलिँदा भाँचिन्छन् । भाँचिएको ठाउँमा तुरुन्तै कम्पनसँगै फेरबदल ल्याउँछ ।

dr taranidhi (1)

जस्तो, एउटा साधारण टेबलमाथि ढुंगा थप्दै गयौँ भने अन्तिमको एउटा ढुंगाकै कारण टेबल भाँचिन्छ । यसरी नै प्लेटहरु एउटा अर्कोमा घुस्दै जाँदा माथिको भारले प्लेट भाँचिन्छ । र, भुइँचालो जान्छ । यो इन्डियन र तिब्बतीयन प्लेटका कारण भुइँचालो नेपालमा मात्रै जाने होइन । यी प्लेट जुध्ने क्षेत्र पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म पर्छ । यी ठाउँ भूकम्पका जोखिम क्षेत्र हुन् ।

यी प्लेटको जुधाइका कारण सामान्य हलचल त दिनमा दर्जनौँ आइरहेकै हुन्छन् । हामीले साधारणतः चार रेक्टर स्केलभन्दा माथिको भूकम्प महसुस गर्न सक्छौँ । आठ रेक्टरभन्दा माथिको भूकम्पलाई महाभूकम्प भनिन्छ । यस्तो महाभूकम्प हाम्रोमा सय, डेढ सय वर्षको अन्तरमा आएको पाइन्छ ।

सीधै अध्ययन गरेर कहाँ, कहिले, कतिसम्मको भूकम्प जान्छ भन्ने विधि, प्रविधि, विज्ञान अहिलेसम्म विकास भएको छैन । किन छैन भने, भूकम्पसँग सम्बन्धित प्रक्रिया नेपालको सन्दर्भमा भूसतहदेखि १० देखि ४० किलोमिटर तल भइरहेको हुन्छ । त्यति गहिरोमा गएर सीधै अवलोकन सजिलो छैन । अवलोकन गर्दा पनि एउटा बिन्दुमा गएर भएन, विभिन्न ठाउँमा गर्नुपर्यो । एक अर्थमा यो सम्भव पनि छैन । फेरि अवलोकन गरेर, थाहा पाएर पनि रोक्न सकिने होइन । यो पृथ्वीको भौगर्भिक बनावटसँग सम्बन्धित कुरा हो । त्यसैले भूगर्भविद्ले भूकम्पको इतिहास, प्रकृति हेरेर यसबारे बताउने गर्छन् । जस्तो, कुनै स्थानमा हजार वर्षको भूकम्प रेकर्ड गरियो । र, यो बीचमा औसत तीन सय वर्षको अन्तरमा तीनपल्ट महाभूकम्प गएको छ भने यसैलाई आधार बनाएर सामान्य भविष्यवाणी गरिन्छ । कि कुनै एक स्थानमा तीन सय वर्षमा एकपल्ट ठूलो भूकम्प जानेरहेछ भनेर । यसरी नै आउने दिनमा पनि यही तीन सय वर्षको हाराहारीमा भूकम्प जान्छ भनेर भन्न त सकिन्छ । तर, ठ्याक्कै मिति र भूकम्पको प्रकृतिबारे केही भन्न सकिँदैन । यसरी नै हिमालय क्षेत्रमा लगभग एक, डेढ सय वर्षमा एउटा ठूलो शक्तिशाली भूकम्प गएको पाइएको छ । हाम्रोमा काठमाडौंदेखि पूर्वको भागमा लगभग सय वर्षको अन्तरमा भूकम्प आएको इतिहास छ । जस्तो, नब्बे सालको भूकम्प त हामीले सुनेकै कुरा भयो । त्यसअघि पनि यस ठाउँमा भुइँचालो गएको इतिहास छ ।

तर, हाम्रो गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वको ठूलो भूभागमा भने लगभग पाँच सय वर्षदेखि भूकम्प आएको छैन । भूगर्भ शास्त्रमा दुई–तीन सय वर्ष नमिल्नु भनेको स्वाभाविक मानिन्छ । किनभने, यो मान्छेको उमेर जस्तो होइन, पृथ्वीको आयु र प्रक्रिया हो ।

त्यसैले काठमाडौंदेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प जान सक्छ भनेर भन्न सकियो । र, भूगर्भविद्हरुले यो भन्दै आएका पनि थिए । वैशाख १२ को भूकम्प पनि काठमाडौंदेखि पश्चिममा नै आयो । अझै पनि गोरखादेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प आउँछ है भनेर नभनी पनि हुँदैन । यसको अर्थ हामी अत्तालिने होइन । पूर्वतयारीमा जुट्नुपर्छ भन्ने सन्देश दिनु हो । किनभने, हामीले समयमै भूकम्पको असर न्यूनीकरणका लागि पहल गर्नु छ । भूकम्प प्रतिरोधात्मक संरचना बनाउनु छ ।

भूकम्पविद्ले भूकम्पको इतिहासलाई आधार मानेर आउने दिनका लागि सजगता अपनाउन सकियोस् भनेरै अनुमान मात्रै गर्ने हुन् । भूकम्पबारे भरपर्दो भविष्यवाणी गर्ने प्रविधि र विज्ञानको विकास भइसकेको छैन ।

भूकम्पबारे भविष्यवाणी गर्ने प्रविधि किन विकास भएन ?

dr taranidhi (2)
कतिपय देशले भूकम्पबारे जानकारी लिने प्रविधिको विकास गर्ने प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म त्यो प्रविधि सबै देशले प्रयोग नर्ग सक्ने अवस्थामा विकास भइसकेको छैन । भविष्यमा होला बेग्लै कुरा भो । अहिले हामीले बुझ्नुपर्ने कुरा यो पनि छ— कहाँ, कहिले, कतिको भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने विधि महँगो छ । यो अनुसन्धान कहाँ–कहाँ, कहिले–कहिले गर्ने त ? फेरि यो अनुसन्धान गर्दा जति खर्च लाग्छ, फेरि त्यो नतिजा सधैँ काम लाग्छ भन्ने पनि छैन । यसो गर्नुभन्दा त भूकम्प प्रतिरोधात्मक संरचना बनाउँदा नै छिटो र सस्तो हुन्छ । बलियो संरचना भयो भने, भूकम्प आउँछ–जान्छ । हामीले हेरिबस्न सक्छौँ । त्यसैले वैज्ञानिकहरुको ध्यान पनि भूकम्प प्रतिरोधात्क संरचनामै छ ।

हाम्रा छिमेकी देशले पनि भूकम्प प्रतिरोधात्मक संरचना बनाउन सुरु गरिसकेका छन् । विकसित देशहरुले त भूकम्पको क्षति अत्यन्तै न्यून बनाइसकेका छन् ।

त्यसैले हामीले पनि भूकम्प कहिले जान्छ ? कहाँ जान्छ ? कत्रो जान्छ ? भनेर चिन्ता लिनुभन्दा अब जनचेतना र भूकम्प प्रतिरोधात्मक संरचनातर्फ ध्यान दिन अत्यन्तै आवश्यक छ । यो विपत् न हो । विपतको कुनै टुंगो हुँदैन । विपतलाई सामना गर्नुको विकल्प छैन ।

यो विपतको घडीमा कसका कुरा सुन्ने ?

अहिले हामी विपतमा छौँ । यो बेला अनेक कुरा आइरहेका छन् । विदेशी विज्ञले यसो भने, उसो भने भन्ने खालका कुरा आइरहेका छन् । देशकै विज्ञले यसो भने, उसो भने भन्ने कुरा पनि सामाजिक सञ्जालमा आइरहेका छन् ।

यस्तो प्रकृतिको विपत शताब्दीमा एकपल्ट आउँछ । त्यसैले यसलाई व्यवस्थापन गर्न सजिलो छैन । यसबारे हल्का ढंगले टिप्पणी गर्ने, बोल्ने, लेख्ने गर्नु हुँदैन । यतिबेला विश्वसनीय निकाय र विज्ञको कुरा सुनिनुपर्छ । त्यस्ता कुरा मिडियाले निकै गम्भ ीरतापूर्वक जनतासम्म पुर्याउनुपर्छ । तर, हाम्रोमा लथालिंग ढंगले समाचार र विश्लेषण आएको अवस्था पनि छ । विदेशमा त त्यो देशको आधिकारिक निकायको सूचना र विश्लेषण मात्रै बाहिर ल्याइने गरिन्छ ।

हाम्रोमा भूगर्भविद्को कुनै खाँचो छैन । यसबारे स्वदेशमै अध्ययन, अनुसन्धान गराइन्छ । विदेशमा अध्ययन गरेर आएका भूगर्भविद्हरु पनि हुनुहुन्छ । त्यसैले अहिले विदेशी विज्ञ वा जथाभावी आइरहेका विश्लेषण सुनिनु पनि दुर्भाग्य हो ।

यस्तो विपतका बेला सरकारको आधिकारिक निकायको कुरा सुनिनुपर्छ । कसैलाई त विश्वास गर्नैपर्यो । यो संकटका घडीमा तर्क–वितर्क गर्ने होइन । तर्क त संकट टारेपछि गरौँला । सरकारले पनि जनतालाई वास्तविक सूचना दिनुपर्छ । विपतको वास्तविकताबारे जनतालाई बुझाउनुपर्छ ।

आज हामी विपतमा छौँ । अहिले कतिले आफन्त, घरबास, सम्पत्ति गुमाउनुभएको छ । कति घाइते हुनुभएको छ । यो विपतको घडीमा सबैले धैर्यधारण गरी सहयोगी हात बढाउनुको विकल्प छैन । सँगसँगै हामीले भूकम्पबारे सतर्कता अपनाउनु छँदै छ ।

तत्कालको सतर्कता

० भत्किएको, चर्किएको घरमा नबस्ने ।
० घरमै भएका बेला भूकम्प आएमा टेबलमुनि वा ढोकाको खापाको बीचमा उभिने । यसो गर्दा घर सामान्य क्षति भएको अवस्थासम्म हामीलाई चोट लाग्दैन । सकेसम्म जिउ नसके टाउकोसम्म जोगाउने ।
० खुला ठाउँमा जाने अवस्था छ भने जाने ।
० हिँड्दा सकेसम्म खुला ठाउँबाट हिँड्ने ।
० गाडीमा भए सकेसम्म खुला ठाउँमा पार्किङ गर्ने । गाडीबाट ननिस्कने । किनभने, बाहिर निस्केर भाग्दा झनै दुर्घटनामा पर्न सकिन्छ । तर, गाडीलाई केही चिजले थिच्ने अवस्था आयो, गाडी अगाडि बढ्ने अवस्था भएन भने भाग्नैपर्ने स्थिति पनि आउँछ ।
० भूकम्प शान्त भएपछि निस्कने सुरक्षित ठाउँबारे जानकार हुनुपर्छ ।
० घरमा गमला बाँधेर राख्नुपर्छ । ढलेर मिच्ने खालका ठूला सामान बेग्लै राख्ने । भित्तामा अड्याएर ठूला सामान नराख्ने ।
० घर बनाउँदै हुनुहुन्छ भने सम्बन्धित विज्ञको सल्लाह लिने ।
० स्कुल, खुला चौर, नदी–खोला किनारमा संकटका बेला प्रयोग गर्न मिल्ने गरी शौचालय र खानेपानीको व्यवस्था गर्ने ।

(भूगर्भविद् डा. भट्टराईसँग धु्रवसत्य परियारले गरेको कुराकानीमा आधारित । तस्बिर :
मिङमार ग्याल्बो लामा ।)