वेलायतमा रहेका नेपाली डाक्टरहरुको टोली राहत लिएर भूकम्प प्रभावित बस्तीमा

0 4

काठमाडौं, जेठ १– वेलायतमा रहेका नेपाली डाक्टरहरुको एउटा टोली औषधी र राहत सामग्री सहित भुकम्प प्रभावीत बस्तीहरुमा पुगेको छ । गत वैशाख १२ गते शनिवार गएको शक्तिशाली भुकम्पपछि नेपाल आएका वेलायती डाक्टरसहितको टोलीले गोर्खा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा हेल्थक्याम्प सञ्चालन गर्दै राहत सामग्री वितरण गरेको छ ।

‘हामी त्रिभुवन विमानस्थलवाट सिधै गोर्खाको मकैसिंह गाविसतिर लाग्यौं’ टोलीका सदस्य डा.कपिल रिजालले भने, ‘मोटरबाट ओर्लेर हामी करिब चार–पाँच घण्टा पैदल हिँड्नुपर्ने ठाउँमा पनी पुग्यौं र भूकम्प प्रभावित नागरिकहरुको घाउमा मल्हमपट्टी लगाउने काम ग¥यौं ।

dr kapil rijal (4)
डा. रिजालको नेतृत्वमा १६ जना डाक्टर र नर्ससहित इन्जिनियर र एक गायक पनि भुकम्प प्रभावीत बस्तीमा पुगेका थिए । सो टोलीमा बेलायतको दोस्रो ठूलो टेलिफोन कम्पनी ‘ओटु’ का एकाउन्टेन्ट राजेन्द्र श्रेष्ठ र नर्वेमा कार्यरत डा.प्रलय रिजाल पनि संलग्न थिए ।

भुकम्प प्रभावित बस्तिमा पुगेका डाक्टरहरुको टोलीले गोरखाको घ्याम्पेशाल, धावा, रनचोक नाम्जुङ र गोरखा नगरपालीका–१० को स्याउले लगायतका स्थानमा हेल्थ क्याम्पसहित स्लिपीङ ब्याग, टेण्ट, इमर्जेन्सी ड्रेसिङका औषधि, पानी शुद्धिकरण ट्यावलेट र हाई ईनर्जी विस्कुट वितरण गरेका थिए ।

त्यस्तै दोस्रो ठूलो भुकम्प आउनुभन्दा एक दिन अघि सिन्धुपाल्चोक पुगेका उनीहरुले तातोपानीको छुगुना गढी, हैवुङ,मानेखर्क र भोटेचौरमा पनि स्वास्थ्य क्याम्प सञ्चालन गर्दै चामल, चिउरा, नुन,तेल, दाल लगायतका राहत सामग्री वितरण गरेका थिए ।

‘तातोपानीको छुगुना गढी पुग्न हामी चार घण्टा पैदल हिँडेका थियौ’ टिमका अर्का सदस्य राजेन्द्र श्रेष्ठले भने, ‘हामी जान नभ्याएको धादिङको संकोष र नुवाकोटको कुमारीमा पनि हामीले तयार पारेको सर्भाईभल बक्स पठायौं ।’

मकैसिंहका डाक्टर डेढ बर्षदेखि गायव !

गोरखाको मकैसिंह गाबिस पुग्दा त्यहाँको स्वास्थ्य चौकीका डाक्टर डेढ बर्षदेखि गायव भएको देख्दा आफु छक्क परेको डा. कपिल रिजालले बताए । ‘हामीले त्यहाँ करिब पाँच सय विरामीको स्वास्थ्य परिक्षण ग¥यौं’ डा. रिजालले भने ‘दरबन्दी भएर पनी डेढ वर्ष देखि नगएका डाक्टर यस्तो विपद्का बेला पनि नपुगेको देख्दा आश्चार्य लाग्यो ।’

dr kapil rijal (2)

भूकम्पका कारण मानसिक तनाव भएका विरामी ठूलो संख्यामा आफ्ना क्याम्पहरुमा आउने गरेको डा. रिजालले बताए ।

काठमाडौंको टिचीङ हस्पिटलले आफुलाई केही औषधीहरु आवश्यक परेको तथ्य फेसवुकमार्फत सेयर गरेपछि सो टोलीले ईमर्जेन्सीका लागी आवश्यक चार लाख मूल्य बराबरको औषधी सहयोग गरेको छ ।

‘काठमाडौंको ओम हस्पिटलका लागि पनि अप्रेशन थिएटरमा आवश्यक औषधी उपलब्ध गरायौं, त्यस्तै केही दिनमा नेपाल मेडिकल कलेज र ओम हस्पिटललाई हाडजोर्नी सम्वन्धी औषधी सहयोग गर्दैछौं,’ डा. कपिल रिजालले भने ।

उनीहरु बेलायतको लिसामे फाउन्डेशन, हेक्स नेपाल, बुद्धिष्ट कम्युनिटी, नेपाल–ब्रिटीश बिजनेश कम्युनिटी र नेपाली डक्टर्स एसोसियसन युकेसँगको सहकार्यमा नेपालका भूकम्प प्रभावित बस्तिमा राहत सामग्री लिएर पुगेका हुन् ।

उनीहरुले काठमाडौंको साँखुमा त्रिपालको अस्थायी वासस्थान निर्माण गरिदीएका थिए भने खुल्ला हातले उद्धारमा लागेका प्रहरीहरुलाई सुरक्षा पञ्जा उपलब्ध गराएका थिए ।

dr kapil rijal (1)

अब घर बनाउने कार्यक्रम लिएर आउँछौं

बेलायतमा कार्यरत नेपाली डाक्टरको तर्फबाट नेपालको भुकम्प प्रभावित बस्तिमा १५५ वटा घर बनाईदिने डा. कपिल रिजालले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘त्रिपाल नपुगेसम्म बाँडेर बसौं, हामी अब केही सातापछी १५५ वटा सेमी–पर्मानेन्ट घर बनाउने गरी फेरि आउँदैछौं,’ त्यस्ता घरहरु कुन क्षेत्रमा बनाउने भन्ने बारे उनले खुलाउन चाहेनन् ।