हराएको अमेरिकी हेलिकोप्टर दुर्घटनाग्रस्त

0 3
जंगलमा विमानका टुक्रा र शव भेटिए
काठमाडौं : मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा एघार हजार २ सय फिटको उचार्इ‌को जंगलमा फेला परेको छ।

हराएको जहाजका केही टुक्रा र शव दोलखाको कालिन्चोकदेखि उत्तर पश्‍चिमतर्फको सिन्धुपाल्चोकमा अवस्थित घोर्थली जंगलमा देखेपछि स्थानीयले सेनालाई खबर गरेका थिए।  दुर्घटनाको जानकारी पाएपछि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ उडिसकेको छ।

अमेरिकी सेनाको  हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए। बुधबार र बिहीबार दिनभर आकाश र जमिनमा विशेष अप्रशेन गर्दा पनि विमानको अवस्थाबारे केहीसंकेत फेला परेको थिएन। बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि  पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।
नेपाली सेना, भारतीय वायुसेना र अमेरिकी सेनाका हेलिकोप्टरले पटकपटक दोलखा  र आसपासको क्षेत्रमा परिक्रमा गर्दा पनि  हेलिकोप्टरको इमरजेन्सी लोकेटर ट्रान्समिटर इएलटी सिग्नल पनि पत्ता लागेको थिएन ।

जमिनमा नभेटिएपछि सो हेलिकोप्टर तामाकोशी नदीमा खसेर हराएको आशंकामा नेपाली सेनाको दोलखास्थित बर्दबहादुर गणको टोलीले डु‌ंगाको सहयोगमा नदीमा समेत खोजी गरेको थियो।

तीन दिनसम्म पनि कुनै सिग्नल फेला नपरेपछि हेलिकोप्टर सुरक्षित भेटिने आस अब लगभग सकिएको सर्च अप्रेशनमा सहभागी टोलीले बिहीबार बेलुका नै ब्रिफिङ सैनिक मुख्यालयलाई गरेका थिए।

वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा अमेरिकी सेनाको हेलिकोप्टर सम्पर्कबिहिन भएको थियो ।