सभासद्ले दिए सोह्र महिनाको तलब भूकम्प पीडितलाई

0 11
विराटनगर: सभासद्ले त्रिपाल लिएको विषयले उनीहरुको आलोचना भइरहेको छ । कतिपय भूकम्प प्रभावित क्षेत्रसम्म पुग्न नसकेको विषयले पनि धेरै पीडितहरु असन्तुष्ट छन् ।
तर, मोरङका एक सभासदले भने आफूले सरकारबाट प्राप्त गर्ने सोह्र महिनाको तलब भत्ता, बैंकमा जम्मा गर्दा प्राप्त भएको ब्याजसमेत भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का समानुपातिक सभासद पवनकुमार शारडाले शुक्रबार ११ लाख ३८ हजार ६ सय ७१ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेका हुन् ।
आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर शारडाले चेक हस्तान्तरण गरे । शारडा मोरङ व्यापार संघका अध्यक्ष पनि हुन् । शारडाले भने,‘मैले प्राप्त गर्ने तलब भत्ताले भूकम्प पीडितलाई राहत पुगोस भन्ने चाहनाले सहयोग गरेको हुँ ।’
संघले ८ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि प्रधानमन्त्री कोषमा जम्मा गरिसकेको छ । धादिङ, ओखलढुंगा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाण्डौंसहित जिल्लामा १० ट्रक खाद्यानसहित राहत सामग्री पठाइएको जनाएको छ ।
संघका निर्वतमान अध्यक्ष अविनाश बोहराले भने,‘राहत सामग्री पठाउने क्रम अहिले पनि जारी छ । सहयोग आउने क्रम पनि चलिरहेको छ ।’संघले यसअघि जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत सहयोग पठाएको थियो ।