सर्बस्व गुमाएका दोलखालीलाई महोत्तरी लान आए ठाकुर

0 5
पहाड दुःखमा परेका बेला तराईले साथ दिने 
चरीकोट : महोत्तरीको बयरागिया लक्ष्मीनिया–का ४४ वर्षीय लक्ष्मण ठाकुरले दोलखामा कपाल काट्न थालेको २६ वर्ष भयो । उनी अधिकांश दोलखाबासीसँग परिचित छन् । उनको कर्मथलो दोलखा अहिले सर्वस्व गुमाएर शोकमा डुबेको छ ।
दुईवटा शक्तिशाली भूकम्पले सदरमुकाम चरिकोटदेखि गाउँसम्म ध्वस्त भएपछि उनी स्तब्ध छन् । उनले दोलखाका भुकम्प पीडितलाई आफ्नो जिल्ला लैजाने इच्छा देखाएका छन् । आधा उमेर दोलखामा बिताएका ठाकुरलाई जन्मभूमिभन्दा कर्मभूमिको बढी माया लागेको छ ।
फागुनमै गाँउ गएका ठाकुरले बैशाख १२ को भूकम्पपछि राहत संकलन गरी दोलखा पठाएका थिए । त्यो बेला ठूलो क्षति नपुगेको जानकारी पाएका ठाकुरले २९ गतेको भुकम्पले दोलखा क्षतविक्षत भएको खबर सुनेपछि बिहीबार कर्मभूमिका आइपुगेका छन् ।
चरिकोट आएलगत्तै उनले साथीभाइलाई भेटेर महोत्तरी लैजाने इच्छा व्यक्त गरेका छन् । आफ्नो कर्मभूमि क्षतविक्षत भएको देख्दा आफ्नो मात्र होइन तराई पीडामा परेको बताउँदै उनले पीडामा मलहम आफूसँगै जान चहानेलाई लैजाने भएका हुन् ।
आफ्नो गाविसमा करिब ५ सय घर रहेको बताउँदै उनले दोलखाबासीलाई राख्न ती सबैसँग कुरा गरिहेको बताए । गाउँबासीले भूकम्पपीडित दोलखाबासीलाई १ महिनादेखि १ वर्षसम्म राखिदिने इच्छा व्यक्त गरेको उनले बताए ।
‘हिमाल,पहाड र तराई एउटै हुन्, हिमाललाई दुःख पर्दा पहाडले ,पहाडलाई पींडा हुँदा तराईले साथ दिनुपर्छ’, ठाकुरले भने, ‘यो बेला सबै तराईबासी पीडामा डुबेको पहाडलाई साथ दिन तयार छ । त्यही सन्देश लिएर म यहाँ आएको हुँ ।’
राहतमात्र पठाएर चित्त नबुझेको बताउँदै दोलखाबासीको पीडामा साथ दिन आफैं आएको उनको भनाइ थियो । ‘संकटमा परेका साथीहरुलाई लगेर पाल्छु’, उनले भने, ‘केही साथीहरुले मेरो गाउँमा जाने इच्छा जनाएका छन्, उनीहरुलाई लिएर जान्छु ।’
उनले दुःखमा परेका दोलखाबासीलाई लगेर आफूहरु नखाएर भए पनि पाल्ने बताए । ‘बरु हामी नखाएरै भएपनि दुःखमा परेर पहाडबाट गएकालाई पाल्छौं’, उनले भने, ‘क्षमताले सकेसम्म मिठोमसिनो खुवाउँछौं ।’
सदरमुकाम चरीकोटको बीचबजारमा लक्ष्मण हेयर कटिङ सेन्टर चलाइरहेका ठाकुरको पाँच जनाको परिवार छ । आफ्नो परिवारलाई भूकम्पले केही नभएपनि कर्मभूमिको पींडाले आफूलाई तानेको उनले बताए ।
आफ्नो गाउँबाट अहिले पनि राहत पठाइरहेको बताउँदै उनले राहत दिएर भन्दा पनि पींडामा रहेका दोलखाबासीलाई आफूहरुसँगै राखेर दुःखमा साथ दिन खोजेको बताए ।
‘मेरो गाउँमा गएर बस्न नसेकमा हामी बाटो खर्च हालेर पठाउनेछौं’, उनले भने, ‘हाम्रै गाउँमा बस्नेहरुका लागि सकेसम्म साथ दिन्छौं, दुःखका बेला साथ सहयोग दिनसके कर्मभूमि पनि खुसी हुनेथियो ।’