उपत्यकामा हजार चर्किएका घर भत्काउन सुरु

0 4

१ जेठ, काठमाडौं । बस्नै नहुने गरी चर्किएका र ढल्किएका उपत्यकाका घरहरु सरकारले भत्काउन थालेको छ । बुधबार स्वयम्भू र मित्रनगरमा एक एक वटा घर भत्काइएका छन् ।

प्रारम्भिक सर्वेक्षणमा हजारभन्दा धेरै घर भत्काउनुपर्ने अवस्था रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

ढल्किएका र धेरै चर्किएका घर तथा अर्पामेन्ट भत्काउन प्रशासनमा सयौं निवेदन परेपछि सरकारले नै त्यस्ता घर भत्काउन थालेको हो ।

चर्किएका घर भत्काउन सहरी विकास तथा भवन विभागका उपमहानिर्देशक शिवहरि शर्माको संयोजकत्वमा एक समिति समेत बनेको छ ।

समितिअन्तर्गत विभिन्न सातवटा टोली बनाएर घर भत्काउन थालिएको हो । घर भत्काउने टोलीमा प्राविधिकसहितका सैनिक अधिकारीहरु पनि छन् ।