पाँचलाख परिवारलाई जस्तापाता वितरण

0 4

१ जेठ, काठमाडौं । सरकारले भूकम्पका कारण घर भत्किएकाहरूलाई ओत लगाउन तत्काल जस्तापाता वितरण गर्ने भएको छ। केही सातामै मनसुन सुरु हुने हुँदा अहिले वितरण गरिएका टेन्ट र पालले धान्न नसक्ने भन्दै सरकारले जस्तापाता उपलब्ध गराउने तयारी गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका चार कम्पनीले ६० देखि ७० प्रतिशतसम्म मात्रै धान्न सक्ने निष्कर्ष निकाल्दै बाँकी ३० देखि ४० प्रतिशत जस्तापाता छिमेकी मुलुक भारतबाट खरिद गर्ने निष्कर्ष निकालेको अन्न्पूर्ण पोस्टमा खबर छ।

‘उपलव्ध भएसम्म घरेलु जस्ता खरिद गर्ने र त्यसले नपुग्ने ३०-४० प्रतिशत भारतबाट खरिद गर्ने छलफल भएको छ’, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने, ‘नेपाली उत्पादनले कति थेग्छ भन्ने विषयमा रिपोर्ट तयार गरी शुक्रबारसम्ममा निर्णय गर्ने गरी छलफल भएको छ।’

बैठकले बढीमा ढेड महिनाभित्र सबै जस्तापाता सरकारलाई उपलव्ध गराउन सक्ने-नसक्ने विषयमा पनि घरेलु र भारती कम्पनीसँग छलफल गरेरमात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ।

‘०.३ एमएमको जस्ता झन्डै पाँच लाख घरलाई बढीमा ढेड महिनाभित्र आपूर्ति गर्न सक्ने-नसक्ने विषयमा सरोकारवालासँग छलफल गरेर निर्णया पुग्नेछौं’, पण्डितले भने।

त्रिपाल र टेन्ट वितरण प्रभावकारी नभएको, पहुँचवालाले आवश्यकताभन्दा बढी त्रिपाल सुरक्षित गरेर राखेको तथा घाम पानीका कारण अहिले वितरण भएका टेन्ट वा त्रिपाल बढीमा एक महिनाभन्दा टिकाउ नहुने भएकाले पनि सरकारले भूकम्पबाट घर गुमाएकाहरूलाई जस्तापाता उपलब्ध गराउने तयारी गरेको हो।

सरकारले जस्तापाता वितरणलाई अस्थायी ओत र पछि स्थायी घर बनाउँदा पनि पुन: प्रयोग गर्न सकिने भन्दै ठूलो मात्रामा खरिद गरेर वितरण गर्ने तयारी गरेको हो।