पत्रपत्रिकाबाट – तातोपानी र लिपिङ बजार पूरै खाली

0 6

चौतारा, १  जेष्ठ – लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ। पहिरोका कारण दुवै बजार खाली गरिएको छ।  हिमाली र पहाडी भेगका दर्जनौं बस्तीहरू उठिबास हुने खतरा बढेको छ। पहिरोको चपेटामा पर्दा यो भेग नै बसोबासविहीन हुने खतरा बढेको छ।

तातोपानीका बासिन्दा स्थानीय मानसरोवर इङ्लिस स्कुलमा आश्रय लिएर बसेका छन्। लिपिङका बासिन्दा भने सुरक्षित ठाउँ खोज्दै कोदारीको चौकीडाँडा गएर बसेका छन्। तातोपानीस्थित सीमा प्रहरी कार्यालय बाह्रबिसेमा सारिसकिएको छ। तातोपानीबाट सुरक्षाकर्मीको टोली पनि बाह्रबिसे फर्काइसकेको छ।

 

तातोपानी भन्सार ठप्प छ। भन्सार कार्यालयको पनि भत्केको छ। तातोपानी बजारका अधिकांश घर सद्दे छैनन्। तातोपानी बजारमा तलतिर पहिरो गइरहेको र डाँडाबाट पनि ढुंगा खसिरहेकाले स्थानीय बासिन्दाले असुरक्षित महसुस गरेका हुन्। तल भोटेकोसी नदीको बहाव र माथिबाट पहिरो बस्ती खतरामा परेर स्थानीय अलपत्र परेको स्थानीय विष्णुबहादुर श्रेष्ठले बताए।

मंगलबारको भूकम्पपछि तातोपानीमा अलपत्र परेका श्रेष्ठसहित ६ जनालाई हेलिकोप्टरबाट उद्धार गरी बाह्रबिसेसम्म ल्याइएको छ। उनीहरू घर हैन, राजधानी काठमाडौंतर्फ लागेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा भूकम्पका कारण विस्थापितलाई सदरमुकामबाट राहत सामग्री पठाउनसमेत समस्या परेको छ। पछिल्लोपटक मंगलबार गएको ६.८ रेक्टर स्केलको धक्कापछि अरनिको राजमार्गको बाह्रबिसे-कोदारी खण्डमा ठाउँठाउँमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध छ।

पहिरोका कारण सबै उत्तरी गाउँ विस्थापित हुने खतरा छ। १२ गते गएको भूकम्पले राजमार्गमा क्षति पुर्‍याएपछि चिनियाँ सेनाको सहयोगमा सडक खुलेको एक सातामै पुन अवरुद्ध भएको छ। अवरोध खुलाउने प्रयास जारी भए पनि चाकु, लार्चालगायत ठाउँमा पहिरो नरोकिएकाले यो प्रयास सम्भव हुन नसकेको प्रमुख सेनानी सुरेशकुमार कार्कीले जानकारी दिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।