पुरानै बारपाक ब्युँताउने धोको ( फोटो फिचर)

0 12
बारपाक (गोरखा) : बारपाक ६ का चेतबहादुर घले भूकम्पले ढलाएको घरको ढुंगा पन्छाउने, पुरिएका चिज निकाल्ने काममा अहिले व्यस्त छन्। उनलाई स्थानीय युवाले पनि सघाइरहेका छन्। उनलाई वैशाख १२ गतेको भूकम्पले जे गरे पनि अब नयाँ बारपाकमा बस्ती बसाउने धोको छ।
‘जे हुनु भैहाल्यो’, अल्छी नगरी काम गरिरहेका उनले अन्नपूर्णसँग भने, ‘अब हाम्रो पुरानो बारपाक फर्काउने धोको छ।’ यो धोको आफ्नोमात्र नभएको उनले स्पष्ट पारे। ‘सबैसँग सोध्नुस् सबैजना यही ठाउँमा पुरानै शैलीको बस्ती बसाउन चाहन्छन्।’

पुरानो भग्नावशेष हटाएर नयाँ घर टहरा निर्माणमा जुट्दै बारपाकका चेतबहादुर घले। तस्बिर: शिवप्रसाद उप्रेती
सँगै काम गरिरहेका हरिबहादुर घले र मेघबहादुर घलेले पनि कच्चीको ठाउँमा पक्की तर घरको बनावट पुरानै बनाउने सबैको रहर भएको बताए।
भत्केको घर ब्युँताउने प्रयास गरिरहेका मेघबहादुर घलेले पनि गाउँलाई नयाँ शैली र नयाँ रूपमा हेर्न चाहेका छैनन्। ‘हामी आफ्नो घरलाई कसरी पुरानै शैलीको बनाउन सक्छौं भन्ने सोचिरहेका छौं’, ब्रिटिस सेनामा कार्यरत उनले भने, ‘यसमा सरकारको सहयोगको हामीले अपेक्षा गरेका छौं।’
व्यक्तिले चाहेर मात्र नहुने भन्दै उनले पर्यटकीय गाउँ भएका कारण यसलाई सरकारले नै विशेष नीति बनाएर बारपाकको पुनर्वास गराउनुपर्ने बताए। ‘व्यक्तिले चाहेर मात्र हुँदैन।
सरकारले नै चाहनुपर्छ’, उनले भने, ‘पर्यटकीय गाउँका रूपमा बारपाक एउटा देशभरि नै परिचित गाउँ हो। त्यसैले यसलाई पुरानै अवस्थामा ल्याउन सरकारले पहल गर्नुपर्छ।
इन्जिनियर पठाएर कुन ठाउँमा फेरि घर बनाएर बस्नयोग्य छ वा छैन भनेर जाँच गराउनुपर्छ।’ उनले बारपाक ७ र ८ को जमिन चिरिएकाले बस्ती नै सानुपर्नेमा शंका व्यक्त गरे।
वडा नम्बर ७ र ८ मा धेरै बाक्ला घरहरू गर्ल्‍यागुर्लुम ढलेर कसको घर घडेरी चिन्नपनि समस्या भएको अर्का स्थानीय घमराज घलेले बताए। ‘वडा नम्बर ७ र ८ मा करिब एकसय घरधुरीको धेरै बाक्लो बस्ती थियो।

विनाशकारी महाभूकम्पले तहसनहस बनाएको बारपाक गाउँ। तस्बिर : शिवप्रसाद उप्रेती
सबै गर्ल्‍यागुर्लुम ढल्यो’, उनले भने, ‘त्यहाँ अहिले कुन घर कसको, कसको घडेरी कहाँ छ भनेर चिन्न पनि गाह्रो भएकाले प्राविधिक पठाएर नाप्नुपर्छ।’
गाउँमा एउटा घर मात्र भएका, अरू ठाउँमा जग्गा नभएकाका र पुरानो थलोमा पहिरिने अवस्था भएकाका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
गाउँलाई पुरानै स्वरूपमा फर्काउनुपर्ने तर नयाँ घर बनाउन स्थानीय स्तरमा काठ अभाव भएकाले यसको पनि वैकल्पिक व्यवस्था गर्नुपर्ने अर्का स्थानीय धनीलाल घले बताउँछन्।
‘हामीलाई हाम्रो ठाउँ, भाषा, संस्कृति, रहनसहन र बस्ती प्राणजत्तिकै प्यारो छ’, उनी भन्छन् ‘त्यसैले हाम्रो १२ सय घरधुरीलाई पहिलेकै ठाउँमा पहिलेको जस्तै बनाउन सरकाले पहल गरिदिनुपर्छ। चाहिने सहयोग सरकारले जुटाइदिनुपर्छ।’

रानो भग्नावशेष हटाएर नयाँ घरटहरा निर्माणमा जुट्दै बारपाकका स्थानीयवासी। तस्बिर : शिवप्रसाद उप्रेती
वैशाख १२ गतेको महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा भूकम्पको पहिलो धक्काले एकै ठाउँमा रहेको करिब १२ सय र विभिन्न वडाका अन्य बस्तीका गरी १४ सय ७२ घरधुरी गर्ल्‍यागुर्लुम बनायो।
यहाँका ६७ जनाको पुरिएर मृत्यु भयो। दुई जना बेपत्ता छन्। बारपाक ब्रिटिस सेना, भारतीय सेना, नेपाली सेना तथा प्रहरीमा कार्यरत तथा भूपूहरूको बसोबास रहेको गाउँ हो।
यहाँ भत्केको घरको भग्नावशेष हटाउन, नयाँ घर टहरा बनाउन, पुरिएका सामान झिक्न नेपाली सेना, सशस्त्र प्रहरी, ब्रिटिस सेना र भारतीय सेना पनि लागिपरेका छन्।
भूकम्पले विनाश गरेको बारपाकका बासिन्दा तीन साताअघिको घटना बिर्सेर बिस्तारै काममा फर्केका छन्। ‘अरूले कति दिन खान दिन्छ र?’
वनमा घाँसदाउरा बोक्न हिँडेकी बारपाक ७ की मनकुमारी घले भन्छिन्, ‘हामी केही दिन हात बाँधेर बसेका थियौं। बारीको गौ र जौ गाईभैंसीले खाए। घरको पनि छैन, बारीको पनि छैन। अब यसरी बस्नु हुन्न भनेर काममा फर्केका छौं।’

जंगलमा घाँसदाउरा गर्न हिँडेका बारपाकका महिला।तस्बिर : शिवप्रसाद उप्रेती
पुरुषहरू भत्केको घर खोतल्न र महिलाहरू टहरोभित्र खाना बनाउने, गाईबाख्रालाई घाँसपानीको जोहो गर्ने, दाउरा टिप्नेलगायतको काम गर्न थालेको उनले बताइन्।
ढुंगा बिछ्याइएको आँगन तथा बाटाहरू, ढुंगाको सुख्खा गारो लगाइएको घरहरू यहाँको मौलिक पहिचान हो। विनाशकारी भूकम्पका कारण सबै तहसनहस भए पनि स्थानीय भने पक्की तर पुरानै शैलीको बारपाक ब्युँताउने धोको पालिरहेका छन्।
-Source : annapurnapost