भुइँचालोबाट त्रसितहरुले अपनाउने केही सामान्य विधि

0 6

अहिले हामी भुइँचालोको त्रासमा छौँ । देश नै राष्ट्रिय शोकमा छ । धेरैले आफन्त, घरबास गुमाउनुभएको छ । घाइते हुनुभएको छ । उहाँहरुप्रति मेरो गहिरो समवेदना छ । यो विपतको घडीमा सबैले आफूले सकेको सहयोगी हात बढाउनुको विकल्प छैन ।

ठूलो विपतको घटनापछि मानिसमा डर–त्रास र नकारात्मक भावना आउनु स्वाभाविकै हो । यो विपत्पछि आममानिसमा डर–त्रास बढेको छ । खासगरी बालबालिका, महिला त्रसित छन् । त्रासमा बाँचिरहेकाहरुलाई पनि त्रासबाट मुक्त गर्ने जिम्मेवारी हामीमाथि आएको छ । म यहाँ केही सामान्य विधि बताउन गइरहेकोछु । जसलाई तपाईंले पढेर तपाईंको वरिपरि त्रासमा रहेकालाई बताउन सक्नुहुन्छ । यी निकै सामान्य विधि हुन् । तर, विज्ञानसम्मत छन् । सानासाना कुरालाई बेवास्ता गर्ने हाम्रो बानी हुन्छ । तर, कतिपय साना विधि र व्यवहारले जीवनलाई धेरै लाभ पुर्याउँछ ।

मान्छेसँग जुन मस्तिष्क छ, त्यसका चार भाग छन्– टेम्पोरल लोब, पारिअटल लोब, अक्सिपिटल लोब, फ्रन्टल लोब । त्यसमा सबैभन्दा पछि विकास भएको हो, फ्रन्टल लोब । अर्थात् मस्तिष्कको अगाडिको भाग । यदि यो फ्रन्टल लोब विकास नभएको भए हामी पशुजस्तै हुन्थ्यौँ । सोच्न सक्दैनथ्यौँ । बुद्धि, विवेक पुर्याउन सक्दैनथ्यौँ । हामी पशुभन्दा भिन्न हुनुको श्रेय फ्रन्टल लोबलाई नै जान्छ ।

यसमा पनि दायाँ र बायाँ भाग छन् । दायाँ मस्तिष्क फिलिङ्स ओरियन्टेड अर्थात् भावना, अनुभूति, उत्तेजना प्रधान हुन्छ । यो मस्तिष्क सक्रिय भयो भने हामीमा भावना, उत्तेजना, अनुभूति बढ्न थाल्छ । कुनै डरलाग्दो घटनाको छाप यही मस्तिष्कमा बस्दछ । जस्तो, भुइँचालो गइसकेपछिको डर–त्रास पनि यही मस्तिष्कमा गढेर बसेको हुन्छ । डर, त्रासजस्तो नकारात्मक भावना हामीमा आउनुको पछाडि दायाँ मस्तिष्क जागेको हुन्छ ।dr yogi bikasananada (3)

यस्तै, बायाँ मस्तिष्क लजिकल अर्थात् तार्किक हुन्छ । यसले अवेरनेसलाई जनाउँछ । जब मान्छे निर्भय हुन्छ, तार्किक हुन्छ, कुनै त्रासमा हुँदैन, सामान्य हुन्छ, त्यतिबेला बायाँ मस्तिष्क चलिरहेको हुन्छ । यदि दायाँ मस्तिष्क क्रियाशील भयो भने हामीमा डर, त्रासको मनस्थिति हुन्छ । र, बायाँ मस्तिष्क क्रियाशील भएमा हामी निर्भय अर्थात् सामान्य हुन्छौँ । बे्रनलाई स्क्यानिङ गर्ने मेसिन लगाएर हेर्ने हो भने हामी धेरै नेपालीको अहिले दायाँ मस्तिष्क क्रियाशील भएको पाउन सकिन्छ । किनभने, हामी धेरैलाई भर्खरैको भुइँचालोले त्रासमा पारिहेको छ ।

यस्तो खासगरी बच्चाहरुमा बढी पाउन सकिन्छ । किनकि, सामान्यतः बालबालिकामा भावना बढी र बुद्धि कम क्रियाशील हुन्छ । अहिलेको प्रमुख चुनौती के हो भने, बालबालिकासँगै आममानिसलाई दायाँ मस्तिष्कबाट बायाँ मस्तिष्कमा कसरी ल्याउने ? सोच्ने, विचार गर्ने तार्किक मस्तिष्कलाई कसरी क्रियाशील बनाउने भन्ने नै हो ।

यसका लागि केही व्यवस्थापनका कुरा छन् । यसमा खासगरी यौगिक व्यवस्थापन सहज र सुलभ छ भनौँ ।

हाम्रो नाकका दुई प्वाल, जसबाट अन्य कुरा यथावत रहेमा सास लिने र छोड्ने कार्य भइरहेकै हुन्छ । हामी धेरैले ख्याल नगरेको कुरा यो हो, हामीले दुवै नाकबाट बराबर सास लिइरहेका वा छोडिरहेका हुँदैनौँ । दायाँ र बायाँ नाकमध्ये कुनै एउटा बढी क्रियाशील भइरहेको हुन्छ । केही जोडले सास लिने र छोड्ने गर्यौँ भने हामीले थाहा पाउँछौँ, कुनै एउटा नाक बढी सक्रिय भइरहेको हुन्छ ।

यहाँनेर भन्न खोजेको यो हो, दायाँ नाक बढी सक्रिय छ भने हाम्रो बायाँ मस्तिष्क सक्रिय हुन्छ । र, बायाँ नाक बढी क्रियाशील छ भने दायाँ मस्तिष्क क्रियाशील हुन्छ । जब तपाईंलाई डर लाग्छ, नाकलाई चेक गर्नुस् । जुन नाक खुलेको छ, त्यही दोषी हो । त्यो नाक खुलेको कारण नै डराउने मस्तिष्क सञ्चालित भइरह्यो । अब के गर्ने त भन्दा, कपासको टुक्रा नाकभित्र छिराउने । त्यस नाकलाई सास लिन र छोड्नमा प्रयोगै नगर्ने । त्यसपछि तपाईंको मस्तिष्क पनि त्यही ढंगले क्रियाशील हुन्छ र डर–त्रास हट्दै जान्छ । यो अति नै वैज्ञानिक कुरा हो, म दार्शनिक कुरा गरिरहेको छैन ।

कपासको विधि अपनाएको आधा घन्टाभित्र भय समाप्त भएर जान्छ । यो यौगिक क्रिया हो । यो मनस्थिति परिवर्तन गर्ने लाभदायी विधि हो ।

अमेरिकामा वैज्ञानिक तथ्य यस्तो पनि देखियो, प्रसंग रोड एक्सिडेन्टको । जब दुर्घटनामा मानिसहरुको दायाँ मस्तिष्कमा चोट लाग्यो र उपचारपछि सामान्यतः दायाँ मस्तिष्कले काम नगर्ने भयो, तब उनीहरु पहिलेभन्दा खुसी रहेको पनि पाइयो । कारण, उनीहरुको बायाँ मस्तिष्क मात्रै क्रियाशील भएको थियो । मानिस खुसी र दुःखी हुनुमा दायाँ र बायाँ मस्तिष्क नै जिम्मेवार हुन्छन् ।

dr yogi bikasananada (4)
यो विपतको घडीमा हामी त्रासमा छौँ । यो एउटा मनस्थिति हो । यसलाई बदल्ने उपाय धेरै छन् ।

हामीले गहिरिएर हाम्रो शरीर विज्ञानबारे पनि बुझ्न आवश्यक छ । हाम्रो शरीरभित्र सयौँ किसिमका केमिकल बन्छन् । जसलाई बायोकेमिस्ट्री भनिन्छ । ब्रेनमा बन्ने केमिकललाई न्युरोट्रान्समिटर भनिन्छ । बडीमा बन्ने बायो केमिकल सयभन्दा बढी प्रकारका छन् । यी केमिकल भनेका सबै औषधि हुन् । मैले कसैलाई अहिले प्रेम गर्दै छु भने मेरो शरीरमा अक्सिटोसिन केमिकल सक्रिय भएको हुन्छ । त्यो केमिकल आयो भने म प्रेम गर्छु, आएन भने गर्दिनँ । भनाइको मतलब मेरो प्रेम भनेको मेरो केमिकल हो । जस्तो, म आनन्दित छु, शान्तिमा छु, यो पनि केमिकल नै हो । शान्तिको रहस्य हाम्रो शरीरमा सेरोटोनिन केमिकल क्रियाशील भएको अवस्था हो । त्यस्तै, साहस आउन पनि केमिकल आउनुपर्छ । यसरी हेर्दा बुद्धि, साहस, तर्क, जति पनि मानसिक वृत्ति अर्थात् मानसिकता छन्, ती सबै केमिकल जागेको अवस्था हो । जस्तै, डर लाग्दा कर्टिसोल भन्ने केमिकल क्रियाशील हुन्छ । यो नकारात्मक केमिकल हो, जसले तपार्इंमा फ्रस्टेसन, डर उत्पन्न गराउँछ । त्यस्तै, एन्डोर्फिन्स केमिकल निस्के मानिस खुसी हुन्छ । यसको मतलब, तपाईंको शरीरमा धेरै केमिकल छन्, त्यही केमिकलअनुसार तपाईंको मनस्थिति तयार हुने हो ।

अहिले हामीमा डर लगाउने खालका केमिकल सक्रिय भइरहेका छन् । यहाँनेर बुझ्नैपर्ने कुरा के त भने, केमिकलहरु विचारले चल्छन् । सकारात्मक विचार आउँदा वा ल्याउँदा सकारात्मक मनस्थिति बनाउने खालकै केमिकल सक्रिय हुन्छन् । नकारात्मक विचार आउँदा त्यही प्रकारका केमिकल जाग्छन् । अन्ततः मान्छे भनेको विचार हो । हाम्रो चेतनाले विचारलाई कन्ट्रोल गर्यो र सकारात्मक विचार मात्रै लिइयो भने केमिकल पनि सकारात्मक खालका जाग्छन् । यहाँ भन्न खोजिएको, अहिले हामीमा भुइँचालोको त्रास छ, यस्तो बेला हामीमा अझ भनौँ बालबालिकामा त्रास उत्पन्न गर्ने केमिकल जागिरहेका छन् । ती केमिकल निस्केपछि झनै गाह्रो मनस्थितिमा पुग्छ मान्छे ।

dr yogi bikasananada (1)यसपछि उसले झनै नकारात्मक विचार गर्न थाल्छ, यसो भएपछि झनै नकारात्मक केमिकल क्रियाशील हुन्छन् । यसरी मान्छे मानसिक दुष्चक्रमा फस्छ । एउटा नकारात्मक घटना घट्यो, भुइँचालो आयो । त्यो भुइँचालोले डर दिएको होइन, नेगेटिभ विचारले डर दिएको हो ।

मानिस डराएका बेला अथवा नकारात्मक विचार आएका बेला, शरीर कुचुक्क पर्छ, कुप्रिन्छ, ढाड खुम्चिन्छ । शरीर भनेको एन्टेनाजस्तै हो । जसरी एन्टेना एकातिर घुम्दा सिएनएन टिप्छ, अर्कोतिर घुम्दा बिबिसी टिप्छ । त्यसैले पहिलो काम डराएका बालबालिका अथवा जोसुकैले ढाड सीधा बनाउनुपर्छ । किनकि ढाड बाङ्गो भयो भने, डर–त्रास सुरु हुन्छ । सबै नकारात्मक भावनाले पहिलो काम शरीरलाई नै खुम्च्याएको हुन्छ । त्यस्तै, खुसीको अवस्था उल्टो हुन्छ । खुसी भएका बेला शरीर सीधा भएको हुन्छ ।

त्यस्तै, मानिस पीडित हुँदा, डराउँदा जहिले पनि तल हेरेर विचार गर्छ । यस्तो बेला मानिस घोरिएर उदास भएर तल भुइँमा हेरिरहेको हुन्छ । यो डर र त्रासको अवस्था हो । जब मानिसले कसैसँग प्रेम गर्छ, या कथाको प्लट बनाउन खोज्छ, या कविता लेख्न खोज्छ, त्यति बेला मानिसले माथितिर हेरिरहेको हुन्छ । माथि आँखा जानु भनेको सकारात्मक भावना र तल जानु भनेको नकारात्मक भावना ल्याउनु हो । आजको अवस्थामा हामी कोही डराएका छौँ, बालबालिका डराइरहेका छन् भने यो विधि अपनाउनु उत्तम हुन्छ ।

अर्को कुरा, मानिस डराउँदा श्वास छिटोछिटो लिइरहेको हुन्छ । अथवा सास निकै कम लिन थाल्छ । नडराउन, सामान्य हुन्, हाम्रो ब्रेन र बडी दुवैलाई अक्सिजन चाहिन्छ । ब्रेनमा अक्सिजन जति बढी हुन्छ, हामी तार्किक हुन्छौँ, फ्रेस हुन्छौँ । कम भयो भने हाम्रो ब्रेन डल हुन्छ । त्यसकारण यस्तो बेला लामोलामो र गहिरो गरी सास लिन अति नै आवश्यक हुन्छ । ढाड र गर्धन सीधा गरी गहिरो सास लिँदा ब्रेन र बडी दुवैमा अक्सिजन बढ्न थाल्छ ।

dr yogibikasananada1
आज हामी जो जति भुइँचालोले डराएका छौँ, अथवा हाम्रा बालबालिका डराएका छन्, उनीहरुले यो उपाय हरेक घन्टा कम्तीमा तीनपटक अपनाउनुपर्छ । अर्को कुरा पानी घन्टा–घन्टामा पिइरहनुपर्छ । पानी पुगेन भने पनि ब्रेन डल हुन्छ । ब्रेन डल भयो भने नेगेटिभ इमोसन आउँछ । त्यसकारण फ्रेस हुन पानी घन्टा–घन्टामा चुस्की लिनैपर्छ । अहिले डराइरहेका बालबालिकालाई माथिका विधि गर्न लगाउन सकिन्छ ।

यति विधि अपनाइयो भने अहिले यो भुइँचालोको त्रासमा बाँचिरहेकाहरुलाई ठूलो त्राण र राहत हुन्छ । म फेरि भन्छु, यो विपत्बाट आफन्त गुमाउने, धन–सम्पत्ति गुमाउने र घाइते हुनेप्रति मेरो गहिरो समवेदना छँदै छ ।