शक्तिशाली धक्कासँगै चर्किएको घरमा बस्नेको चित्कार

0 21

काठमाडौं, बैशाख ३०– मंगलबार मध्यान्ह १२ः५० बजे शक्तिशाली भुकम्प जानुअघि प्रमिला प्रधानको परिवार घरमा टेलिभिजन हेर्दै थियो । राजधानीको सामाखुसीका स्थायी बासिन्दा उनीहरु भुकम्पको सामान्य धक्का आउने क्रम जारी भएपनि अब कुनै शक्तिशाली भुकम्प नआउने विस्वाससहित घरमा निर्धक्कसाथ बसिरहेका थिए ।
गत बैशाख १२ गते आएको ७.६ रेक्टर स्केलको भुकम्पको कारण प्रधानको चार तले घर चर्किएपनि चेकजाँचका लागि आएका इन्जिनियरले बस्न हुने जनाउ दिएपछि उनीहरु घरमा फर्किएका थिए ।
घरको माथिल्लो तलामा बस्ने उनीहरु टेलिभिजन हेर्दै गर्दा एकाएक शक्तिशाली पराकम्पन भएसँगै चिच्याउँदै घरबाट सकुशल खुल्ला स्थानमा पुगेका थिए । ‘घर पहिल्यै पनि सामान्य क्र्याक्क भएको थियो, फेरि शक्तिशाली धक्का आउँदा भत्कन्छ कि भनेर निकै त्रसित हुँदै बाहिरियौं, प्रधानले भनिन्, ‘ पहिल्यै क्र्याक भएर होला बेस्सरी घर हल्लियो, धन्न हामी सकुशल बाहिर निस्कन सफल भयौं ।’ यद्यपी उनको घर पछिल्लो पराकम्पन भएसँगै बस्नै नहुने गरी ध्वस्त भएको छ ।

भुकम्पविद्हरुले पराकम्पनबाट डराउनु नपर्ने र ठूला भुकम्प पनि आउने सम्भावना नरहेको बताएपछि आफूहरु बस्न थालेको तर एक्कासी ठूलो पराकम्पन हुँदा निकै आतंकित भएको उनीहरुको भनाई छ ।

‘पहिलेकै भुकम्पबाट चर्किएको घर बेजोडले हल्लिन थालेपछि चिच्याउँदै घरबाहिरतिर दगुर्यौं र भाग्यबस सकुशल रहन सफल भयौं तर अहिले घर कामै नलाग्ने गरी ध्वस्त भएको छ ’ प्रधानका श्रीमान दिपशले भने, ‘ ‘ज्यान त बाँच्यो तर दुख गरेर बनाएको घर ध्वस्त भएपछि अब कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।’

यसैगरी राजधानीको सामाखुसीस्थित नवजीवन कलेज नजिकैको ५ तले घर गत बैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि नराम्ररी क्षतिग्रस्त भएको थियो ।
माइला सुनार नाम गरेको व्यक्तिको उक्त घर क्षतिग्रस्त भएसँगै जाँचबुझका लागि आएका प्राविधिक टोलीले घरमा बस्नु खतरानाक हुने भन्दै रातो चिन्ह लगाइदिएपछि सो घरमा मानिसहरु बस्न छाडेका थिए । मंगलबार पराकम्पन हुँदा मान्छे नबस्ने सो खतरनाक घरको कारण वरीपरिका घरका मानिस र आसपासमा व्यावसाय गर्नेहरु त्रसित बने । सो घरले स्थानीयलाई त्रसितमात्रै बनाएन भत्किन पुग्दा नजिकैको तीनओटा पसलमा क्षति समेत पुगेको छ ।
घर खतरनाक रहेको भन्दै घरको आसपास भएर हिड्ने मानिस त्रसित रहेकौ अवस्थामा नजिकको एक साइबरसँगै मदिरा पसल र मःम पसल ध्वस्त भएका हुन् भने केहि मानिससमेत पुरिएका थिए । पराकम्पन आएसँगै सो क्षेत्रमा रहेका मानिसहरु आत्तितै सुरक्षित स्थानमा दौडिँदै गर्दा केहि मानिस भाग्न नभ्याई पुरिएको साइबर सञ्चालिका आयुषा श्रेष्ठले जानकारी दिइन् । पुरिएकाहरुलाई पछि सकुशल उद्दार गरेको थियो ।
प्रधान र सुनारका जस्तै चर्किएका अरु घरहरु पनि मंगलबार आएको शक्तिशाली पराकम्पनबाट थप खतरनाक अवस्थामा पुगेका छन् भने केहि भत्किएका छन् ।
अब भुकम्प नआउने विस्वासहित सामान्य चर्किएको घरहरुमा बस्न थालेकाहरु कतिपय परिवार एकाएक भुकम्प आएपछि त्रसित बनेका थिए । घरभित्र रहेका उनीहरु घर भत्किने खतरा बढी भएपछि चिच्याउँदै घरबाट बाहिर निस्केका थिए । गंगबू, बाजालु, नयाँबजार लगायतका क्षेत्रमा चर्किएको घरमा बसेका केहि त घर भत्किँदा पुरिएको समेत बताइएको छ । उनीहरुमध्ये केहिको तत्काल उद्दार भएको थियो भने कति अहिले पनि हराई रहेको र खोजीकार्य जारी रहेको बताइएको छ ।
गत बैशाख १२ गतेको भुकम्पपछि बालाजु, गंगबुलगायतका क्षेत्रका घरहरुमा बढी क्षति पुगेको र यसपटक पनि सोहि क्षेत्रमा बढी प्रभाव परेको बताइएको छ ।
यसैबीच राजधानीका दर्जनौं घरहरु नराम्ररी ध्वस्त भएको तर नलडेको अवस्थामा रहेका छन् । त्यस्ता घरहरुले सर्वसाधारण तथा छिमेकीहरुलाई असर गरिरहेको बताइएको छ । तर सम्बन्धित घरधनीले घरलाई भत्काउन नमान्ने र सरोकारवाला निकायले पनि भत्काउन चासो नदिनाले त्रास सिर्जना गरेको क्षत्रिग्रस्त भवन आसपासका सर्वसाधारणले गुनासो गरेका छन् । उनीहरुले खतरापूर्ण अवस्थामा रहेका घरहरुको तत्काल व्यवस्थापन गरेर सम्भावित दुर्घटनालाई न्युनिकरण गरिनुपर्नेमा जोड दिएका छन् ।