भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका कैदी भारतमा पक्राउ

0 3
काठमाडौं, ३१ बैशाख – वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकको जेलबाट भागेका एक कैदी भारतमा पक्राउ परेका छन् । शृंखलाबद्ध बम विस्फोट घटनामा भारतीय प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेका इरफान अहमद पक्राउ परेका हुन्।

उनलाई नेपालको सीमानजिकैको उत्तरप्रदेशको बहराइच सहरबाट पक्राउ गरिएको दिल्ली प्रहरीका विशेष आयुक्त श्रीवास्तवले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल प्रहरीकै सूचना र सहयोगमा उनी पक्राउ परेको स्रोत बताउँछ । इरफान अहमद पक्राउ परेको आफूहरूले पनि अनौपचारिक रूपमा सुनेको नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले बताए।

सिन्धुपाल्चोकबाट झुक्याएर नेपाली नागरिकता लिन खोज्दा उनी पक्राउ परेका थिए । फर्जी कागजपत्र पेस गरेर नागरिकता लिन खोजेको घटनामा उनलाई पाँच वर्ष कैद सजाय भएको थियो । चार वर्षअघि पक्राउ परेका उनी कैद भुक्तान गरी छुट्ने तयारीमा थिए।

१२ वैशाखको भूकम्पमा सिन्धुपाल्चोक जेलका सबै कैदी भागेका थिए । सिन्धुपाल्चोकका डिएसपी दीपक खरेलका अनुसार भागेकामध्ये केही मात्र फर्किएर आएका छन्। सन् १९९३ को डिसेम्बर ५ र ६ मा कानपुरबाट दिल्ली चल्ने दुईवटा रेलमा विस्फोट गराउने घटनामा इरफान फरार थिए।

 

पहिलोपटक सन् १९९४ मा उनी भारतमा पक्राउ परेका थिए । सन् २०११ मा उनी जेलमा फर्कने सर्तमा दाइको बिहेमा सहभागी हुन छुटेका थिए । तर, भागेर उनी इन्डियन मुजाहिद्दिन समूहसँग आबद्ध भएको दिल्ली प्रहरीका विशेष आयुक्त एसएम श्रीवास्तवलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार तिहाड जेलमा रहँदा इरफान इन्डियन मुजाहिद्दिनको संस्थापकमध्येका एक असिफ रेजा खानको सम्पर्कमा पुगेका थिए । इन्डियन मुजाहिद्दिन भारतको शक्तिशाली मुस्लिम आतंकवादी समूह हो।

 

सन् २०११ मा भागेपछि इरफान इन्डियन मुजाहिद्दिनका सहसंस्थापक अमिर रेजा खानको सम्पर्कमा रही नेपालमा बसेर गतिविधि गर्दै आएको प्रहरी स्रोत बताउँछ। भारतीय मुजाहिद्दिनका नेताहरू पटक–पटक नेपालमा पक्राउ पर्दै आएका छन् । संस्थापकमध्ये एक यासिन भटकल दुई वर्षअघि पोखराबाट पक्राउ परेको नयाँ पत्रिकादैनिकमा खबर छ।