अर्को भूकम्पपछि १२ लाखले उपत्यका छाडे

0 6
काठमाडौं : विनाशकारी भूकम्पपछि त्रासका कारण १२ लाखभन्दा बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन्। वैशाख १२ गतेको भूकम्पका कारण त्रसित सर्वसाधारण केही सामान्य बन्न लागेका बेला मंगलबार फेरि ठूलो भूकम्प जाँदा त्रास बढेको छ।
घरभित्र बस्न थालेका सर्वसाधारण फेरि खुला ठाउँ खोज्दै पालमुनि पुगेका छन्। ठूला चाडपर्वमा मात्रै ठूलो संख्यामा उपत्यका छाड्ने गरेका सर्वसाधरण विनाशकारी भूकम्पपछि लर्को लागेर गाउँ फर्किने क्रम बढेको छ।

विशेषगरी व्यापारिक केन्द्र न्युरोड, दरबारमार्ग, ठमेल, असन, बानेश्वर, कालीमाटीलगायतका स्थान सुनसानजस्तै देखिएका छन्। शैक्षिक संघसंस्था बन्द छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार गत वैशाख १२ गतेदेखि ३० गतेसम्म १२ लाख ५२ हजार सात सय ५२ जनाले उपत्यका छाडेका छन्।
महाशाखाका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार गएको १२ गतेदेखि हालसम्म प्रत्येक दिन ४० हजारभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन्।
सबैभन्दा बढी वैशाख १५ गते एक लाख ५३ हजार आठ सय १२ जनाले उपत्यका छाडेका छन्। त्यस्तै वैशाख १७ गते एक लाख ३७ हजार सात सय ४४ जनाले उपत्यका छाडेको जानकारी डीआईजी चन्दले दिए।
उपत्यका छाड्ने संख्या बढे पनि भित्रिने संख्या भने न्यून छ। १२ गतेदेखि हालसम्म चार लाख २३ हजार ६ सय ३८ जना मात्रै उपत्यका भित्रिएको महाशाखाले जनाएको छ।
यात्रुसँगै उपत्यका बाहिरिने सवारीसाधनको चाप पनि बढी छ। गत वैशाख १२ गतेदेखि हालसम्म एक लाख पाँच सय ३८ वटा निजी तथा सार्वजनिक सवारीसाधन बाहिरिएका छन्। उक्त अवधिमा ७६ हजार पाँच सय ४३ वटा सवारीसाधन राजधानी भित्रिएका छन्।
पराकम्पन कम हुँदै गएपछि वैशाख २६ गतेदेखि उपत्यका सामान्य बन्दै गएको थियो। त्यस दिन ४५ हजार ६ सय ५४ जना सर्वसाधारण उपत्यका भित्रिएका थिए। त्यस्तै २७ गते पनि उपत्यका बाहिरिने भन्दा भित्रिने संख्या बढी थियो।
‘एकपछि अर्को भूकम्पले सर्वसाधारण त्रासमा छन्। डेरामा बस्नेको पनि घर भत्किएको छ। डेरा पाउन कठिन रहेकाले पनि फर्किन परेको गुनासो हामीले सुन्यौं। गाउँको घर भत्किएकाले पनि बनाउन र आफन्तलाई भेट्न सर्वसाधारण बाहिरिएको पाएका छौं’, डीआईजी चन्दले भने।