हेलिकोप्टर रोकिँदा बेलायत क्रूद्ध

0 8
काठमाडौं : नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन्।
दूतावासका उच्चपदस्थ कूटनीतिज्ञहरूले आफूले आर्थिक तथा अन्य सहयोग प्रदान गर्दै आएका गैरसरकारी संस्था र नागरिक समाजलाई सरकारमाथि दबाब दिन आग्रह गरे पनि त्यस्तो दबाब अहिलेसम्म निस्फल भएको छ।
एक उच्चस्तरीय सरकारी स्रोतका अनुसार कर्नेल कुमार लामाको बेलायतमा गिरफ्तारी र मुद्दा चलाएको तथा बेलायती सेनाका एक उच्च पदाधिकारी (हाल सेवा निवृत्त) द्वारा सशस्त्र विद्रोहताका नै माओवादीसँग साँठगाँठ राखेको तथ्यका आधारमा बेलायती सैनिक जहाजलाई नेपाल आउन नदिने अनौपचारिक निर्णय नेपाल सरकारले गरेको हो।
त्यस्तै बेलायती सहयोग नियोग (डिफिड) का उच्च अधिकारीहरूले पनि आफ्ना विश्वासपात्र केही नेपाली पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई आआफ्ना ठाउँबाट दबाब दिएर पनि जहाज भित्र्याउन सहयोग याचना गरेका छन्।
तीन बेलायती हेलिकोप्टरहरू नेपाल सरकारको अनुमतिको प्रतीक्षामा केही दिनदेखि दिल्लीमा छन्। पटकपटकको बेलायती अनुरोधपछि पनि नेपाल सरकारले प्रवेशाज्ञा दिएको छैन।
बेलायती दाबीअनुसार ती जहाजको भारवहन क्षमता अत्यधिक छ र बढी उचाइ भएका पहाडी क्षेत्रमा दक्षताका साथ उड्न सक्छन्। बेलायती सरकारका प्रतिनिधिले आफ्ना नेपाली मित्रहरूसँग विमान प्रवेशाज्ञाका लागि आआफ्ना क्षेत्रबाट सक्दो दबाब दिन आग्रह गरेको छ।
भूकम्पपीडितमध्ये अति आवश्यक परेकाहरूलाई राहत दिन जान नसकेको अवस्थामा बेलायती जहाजले सक्षमताका साथ आपूर्ति गर्नसक्ने दाबीका साथ बेलायती सरकारी प्रतिनिधि नियोगहरूले ‘लबिङ’ तीव्र पारेका हुन्।
नेपाली सेनाले ती उद्धार कार्य गरेमा आफूलाई आपत्ति नहुने र उद्धार तथा राहतमा राजनीति घुसाउन नचाहेको पनि बेलायती प्रतिनिधिहरूको दाबी छ।