भूकम्प प्रभावित जिल्लामा तीन हजार पहिरो

0 3
६ पहिरोले उच्च खतरा, भोटेकोसी थुनियो:
काठमाडौं : लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा तीन हजार पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै जनधनको क्षति गराउने अवस्थाका छन्।
संसारभरिका विभिन्न अनुसन्धान संस्थाको सहयोगमा इसिमोडले गरेको प्रारम्भिक प्रतिवेदनअनुसार ६ वटा ठूला पहिरोले नदी थुनिएको छ। यी जुनसुकै बेला फुटेर तल्लो क्षेत्रमा ठूलो बाढीपहिरो ल्याउन सक्छन्।
इसिमोडको नेतृत्वमा नेपाल सरकार, नासा, यूएसजीएस तथा युरोपियन र चिनियाँ अनुसन्धान संस्थाका वैज्ञानिकहरूले भूउपग्रह तस्बिरका आधारमा भूकम्पपछिका पहिरो अध्ययन गर्न कार्यदल नै गठन गरेका थिए।
वैज्ञानिकहरूले मंगलबार गएको भूकम्पले थप पहिरोको सम्भावना बढाएको अनुमान गरेका छन्। तीन हजार पहिरोमध्ये अहिले पनि चार सय ठूलासाना पहिरो खसिरहेका छन्।
दुई सय ५० पहिरोको भने आकार, स्थान र प्रकृतिसहितको विस्तृत विवरण तयार भएको जानकारी भूकम्पपछि पहिरोको खतरा अध्ययन गर्न सरकारसहितको संलग्नतामा गठित कार्यदलका संयोजक डा. अरु णभक्त श्रेष्ठले दिए।
मनसुन सुरु भएपछि भूकम्प प्रभावित जिल्लाका तीन हजार सानाठूला पहिरो थप खतरनाक हुने देखिन्छ। पहिरोमुनि बस्ती भएका स्थानलाई वैज्ञानिकहरूले सबैभन्दा संवेदनशील (खतरा) भनेका छन्। यस्ता ६ वटा पहिरोको तत्काल स्थलगत र विस्तृत अध्ययनका लागि सरकारसमक्ष सिफारिससमेत गरिएको छ।
त्रिशूलीको मुहान भोटेकोसी (रसुवाभन्दा माथिल्लो तिब्बती क्षेत्र) मा आठ सय मिटर लम्बाइ तथा दुई सय मिटर चौडाइको पहिरो गएको छ जसले भोटेकोसी थुनेको छ। डा. श्रेष्ठले भने, ‘पहिरोले नदी थुन्दा पाँच सय मिटर लामो र एक सय मिटर चौडाइ भएको पोखरी बनेको छ। यो फुट्ने खतरा रहन्छ।’
त्यस्तै मस्र्याङ्दी नदीको तल्लो भाग तल्लो पिसाङ खोलामा दुईवटा पहिरोले नदी थुनेको छ। नदी थुनिँदा अहिले ५० मिटर फराकिलो र पाँच सय मिटर लामो पोखरी बनेको छ। अध्ययनअनुसार यो पोखरीबाट अलिअलि मात्रै पानी बगिरहेको छ।
पहिरो भने अहिले पनि सक्रिय छ। ‘तलनजिकै पिसाङ गाउँमा धेरै बाक्लो बस्ती छ। त्यसैले यो बढी खतरा छ।’ हिमताल विशेषज्ञसमेत रहेका डा. श्रेष्ठले प्रतिवेदन उद्‌धृत गर्दै भने।
पिसाङ गाविसकै भर्ताङ नदीमा हिमपहिरो र सुख्खा पहिरो खसिरहेको छ। यसले नदी छेके पनि पानी भने बग्न थालेको जानकारी डा. श्रेष्ठले दिए। तर निकास साँघुरो भएकाले खतरा भने कायम छ।
मनाङ भएर गोरखातिर बग्ने बूढीगण्डकी लो बजारनजिक पनि थुनिएको छ। तर यसको पछिल्लो विस्तृत अवस्था भने प्राप्त नभएको उनले बताए। उनले भने, ‘पहिरोले नदी छेकेको छ। यो पनि मध्यम रिस्क छ।’
बूढीगण्डकीमै मिसिने तोमखोला पनि पहिरोले छेकेको छ। यो खोलामुनि घ्याप्सा बस्ती छ। अध्ययनअनुसार पहिरोले छेकेको पोखरीको आकार बढिरहेकाले यसको खतरा पनि बढ्दैछ। विज्ञहरूले यसलाई मध्यम खतराको सूचीमा राखेका छन्।
त्यस्तै लाङटाङ उपत्यकामा आएको पहिरो र हिमपहिरोले गाउँ नै बगाएर तलको खोलासमेत थुनेको छ। ठूलो फाँट नाघेर खोलासम्म पुगेको यो पहिराले बगाएको बरफ र ढुंगामाटोले नदी थुनिएको छ।
यहाँ अरू पनि हिमपहिरो आउने खतरा छ। त्यसैले यो पहिरो पछिका लागि पनि खतरनाक रहेको गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ।
भूकम्पपछि आएका अधिकांश पहिरो पहाडी जिल्लामा बग्ने नदी नजिक तथा नदीमा मिसिएका छन्।कतिपय पुराना पहिरो पनि भूकम्पछि सक्रिय भएको अनुमान गरिएको छ।
वैशाख १२ को भूकम्पले यसअघि नै खतरामा रहेका हिमतालमा भने थप खतरा नबढाएको अनुसन्धानको निष्कर्ष छ। त्यो भूकम्पले हिमताल भएका क्षेत्रमा बढी हल्लाएन जसका कारण ठूलो क्षति हुनबाट बच्यो।
तर मंगलबारको भूकम्पपछि यस क्षेत्रमा परेको असरबारे भने तत्काल अध्ययन आवश्यक भएको निष्कर्ष वैज्ञानिकहरूको छ। डा. श्रेष्ठले भने, ‘दोलखाको च्छोरोल्पामा विशेष र तत्काल अनुसन्धान आवश्यक छ।’
इम्जा, ठूलागिलगायतका हिमताल पहिले नै खतराको सूचीमा छन्। तर भूकम्पले ती क्षेत्रमा तुलनात्मक रूपमा कम हल्लाएकाले सुरक्षित रहेको प्रारम्भिक अनुमान छ।
भूकम्पछि स्थलगत तथा भूउपग्रह तस्बिरका आधारमा ती क्षेत्रको विस्तृत अनुसन्धान भने भएको छैन।