‘बलियो सरकार’ बनाऔं भन्दाभन्दै माधव र सीपीको भागाभाग

0 10

३० वैशाख, काठमाडौं । मंगलवार मध्यान्ह १२ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प आउँदा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पुननिर्माणका लागि बलियो राष्ट्रिय सरकारको लबिङमा थिए ।
कांग्रेस र एमाओवादीका धेरै नेतासँग चरणबद्ध छलफलपछि पूर्वप्रधानमन्त्री नेपाल त्योबेला नेकपा मालेका महासचिव सीपी मैनालीसँग वार्ता गरिरहेका थिए । संविधानसभा भवनको शंकर हलमा दुई नेताबीच गोप्य छलफल भइरहेका बेला गुटुङटुङ भूकम्प आइहाल्यो ।

‘राष्ट्रिय सहमतिको सरकार गठनका उपायबारे कमरेड माधव नेपाल र मेरोबीच कुराकानी हुदै थियो’ मैनालीले अनलाइनखबरसँग भने ‘अचानक भूकम्पको धक्का आएपछि हाम्रो भागाभाग भइहाल्यो, थप कुरा हुन पाएन’ ।

दुई नेताबीच वार्ता हुँदा शंकर हलको सानो कोठाको ढोका लगाइएको थियो । ढोकाको चुकुल नखुल्दा केहीबेर नेताहरु तनावमा परेका थिए । ‘ढोका लागे पनि हामी आत्तिएनौं’ मैनालीले भने ।

नेता नेपालले विपतपछि पुननिर्मार्ण र संविधान निर्माणका लागि बलियो राष्ट्रिय सरकार गठनको पहल थालेको एक साता हुन लागेको छ ।
मंगलबारै उनले कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा, सुजाता कोइराला लगायतसँग पनि छलफल गर्ने कार्यक्रम थियो ।

सुजातासँग कुरा भए पनि भूकम्पका कारण देउवासँग कुरा हुन नपाएको देउवा निकट स्रोतले जनाएको छ । ‘सुशील दा झस्किन्छन् भनेर देउवाले दिउँसो होइन राति कतै भेटौं भन्नुभएको थियो’ देउवाका एक निकट सहयोगीले भने ।

भूकम्पको विपत्ति सामना गर्न सुशील कोइराला नेतृत्वको सरकार असक्षम देखिएको भन्दै राजनीतिको शीर्ष तहमा सबै प्रमुख दल सम्मिलित बलियो राष्ट्रिय सरकार गठनको पहल भित्रभित्रै शुरु भएको छ ।

यसपटक यो पहल एमाले बरिष्ठ नेता नेपालले अघि बढाएको देखिन्छ । नेपालले कांग्रेसका कृष्ण सिटौला लगायतका नेताहरुसँग पनि छलफल गरिसकेका छन् । यद्यपि कांग्रेसले कोइरालाकै नेतृत्वमा त्यस्तो सरकार बनाउने बाहेक अन्य विकल्पमा सहमति जनाइसकेको छैन ।

नेपालले भने कांग्रेसलाई दबावमा पार्न एमाओवादी अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाका नेता बिजय गच्छदार लगायतलाई आफ्नो विश्वासमा लिन खोजेका छन् ।

‘कांग्रेस बाहेकका दलहरु मिलाएर बहुमत देखाएर भने पनि कांग्रेसलाई राष्ट्रिय सहमतिको सरकारको पक्षमा ल्याउने प्रयासमा नेपाल छन्’ स्रोतले भन्यो ।

यसैसाता मात्र नेपाल र प्रचण्डबीच दुई चरण छलफल भएका छन् । पछिल्लो पटक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुनुअघि नेपाल र प्रचण्डबीच करीव २ घण्टा गोप्य कुराकानी भएको थियो ।

त्यसपछिमात्र नेपालले साना दलहरुसँग छलफल अघि बढाएको स्रोतले जनाएको छ । उनले कांग्रेसका नेताहरुसँग अलग अलग भेटेर देश पुननिर्माण र संविधान निर्माण एकै प्याकेजमा राखेर मुलुकलाई संकटमा पार लगाउन बलियो राष्ट्रिय सरकार बनाउने अभियान चलाएको स्रोतले जनाएको छ ।

विजय गच्छदारले मंगलवारमात्रै विपत्तिको सामना गर्न बलियो राष्ट्रिय सरकार आवश्यक रहेको बताएर राजनीतिक वृत्तमा चलिरहेको प्रयासलाई सतहमा ल्याइदिएका छन् ।

बलियो सरकारको नेता को ?

नेपालले राष्ट्रिय सहमतिको सरकार गठनको छलफल चलाउनुअघि आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । ओलीलाई सहमतीय सरकारको नेतृत्व गर्ने अवस्था आएर तयार हुन उनले आग्रह गरे ।

KP-OLI&PRACHANDA-in-Oli-NIBआफू प्रधानमन्त्री नहुने निश्चय गरेरै नेपाल अघि बढेकाले यसपटक उनी नैतिक रुपमा बलियो देखिएका छन् । ‘उहाँले सकेसम्म केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको बलियो सरकार गठन गर्ने प्रयास थाल्नु भएको छ’ नेपाल निकट एक एमाले पदाधिकारीले भने ।

ओलीको नाममा प्रचण्डले शुरुमै असहमति जनाएका थिए । तर नेपालले प्रचण्डलाई आश्वस्त पार्न निकै मेहनत गरेका छन् । नेपालको आश्वासनपछि मात्र प्रचण्डले ओलीलाई भेटेका थिए ।

माले महासचिव मैनालीले बलिय सहमतीय सरकारका लागि अहिले छलफल चलिरहे पनि पहिले त्यो सरकारको जिम्मेवारीका बारेमा प्रष्ट हुनुपर्ने बताए । ‘राज्य पुनसंरचना र पुननिर्मार्ण दुवै कामका लािग प्रष्ट सहमति भएरमात्र त्यस्तो सरकार गठन हुनुपर्छ’ मैनालीले भने ‘मैले यहि कुरा राख्दा राख्दै भूकम्प गएकाले अरु बुझ्न पाएको छैन’ ।

भूकम्पको बिनाशपछि हिमाल,पहाड र तराई जोडिएका थोरै प्रदेशमा जानुपर्ने बाध्यता अझ थपिएको भन्दै राजनीतिक तहमा राज्य पुनसंरचना र राज्य पुननिर्मार्ण एकैसाथ गर्ने गरि अधिकार सम्पन्न बलियो सरकार गठन गर्ने गरी छलफल अघि बढेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए ।

You might also like More from author