फेसबुक प्रयोगकर्ताले जुटाए नेपालका लागि १.५ अर्ब रुपैयाँ

0 8

काठमाडौं, वैशाख २९ –समाजिक सञ्जालले मानिसको समय खेर फालेको भन्दै धेरै आलोचना हुने गरेका छन् । तर, आज समाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरुले नेपालको भूकम्प पीडितहरुका लागि १५ दिनभित्र १.५ अर्ब रुपैयाँ जुटाउन सफल भएका छन् ।

Mark Zukerberg
फेसबुक प्रयोगकर्ताले ७.८ रेक्टर स्केलको भूकम्पपछि समाजिक सञ्जालमा आइरहने नेपालका समाचारहरुलाई लाइक मात्र गर्दै बसेनन् विश्वभरका ७ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताहरुले राहत र उद्धारका लागि सहयोग पनि गरिरहे । फेसबुकमा राखिएको डोनेसन बटनबाट उनीहरुले नेपालका लागि सहयोग गरेका हुन् ।

‘भूकम्पबाट पीडित बनेको नेपालको सहयोगका लागि एकजुट हुने हाम्रो समाजका सबैलाई धन्यवाद दिन चाहन्छु,’ फेसबुकका सिइओ मार्क जुकरबर्गले शुक्रबार फेसबुकमा लेखेका छन् ।

गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

फेसबुकले नेपालमा सहयोग गर्नका लागि इन्टरनेसन मेडिकल कर्पस् (आइएमसी) सँग साझेदारी गरेको छ । फेसबुक आफैले २ मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ ।

आइएमसीले नेपालमा मेडिकल टोली लगायत औषधी, ब्ल्यांकेट आदी पठाइरहेको छ ।

फेसबुकले दुई दिनमा नै नेपालको राहत र उद्धारका लागि १० मिलियन डलर उठाइसकेको थियो ।

‘नेपालको पुर्न निर्माणका लागि अझै धेरै गर्न बाँकी छ, हामी यसमा सहयोग गर्न तयार छौं,’ जुकरबर्गले एक व्क्तव्यमा भनेका छन् ।