देश शोकमा डुबेको बेला पटका पड्काउँदै नेता पुत्रको विवाह

0 5

विराटनगर, बैशाख २९–भुकम्पको महाविपत्तीपछि सिंगो देश शोकमा परेको छ । देश तथा विदेशबाट पीडामा परेका नेपालीहरुको राहत र उद्धारको लागि सहयोग जुटिरहेको बेला राजनीतिक नेतृत्वको भने सामाजिक सञ्जालहरुमा आलोचना पनि भइरहेको छ ।

चिया पसलेदेखि भिख मागेर गुजार चलाउने र बाढी पीडितहरुसम्मले पीडितको लागि सहयोग गरिरहेका छन् । विवाह भोज र अन्य धार्मिक पुराणको लागि छुट्याएको बजेट पीडितहरुलाई प्रदान गर्नेहरुले मानवीय धर्म गरिरहेका छन् । तर, करोडौं सम्पत्तिका मालिक भएका नेताहरुले भने राज्यबाट पाउने सुविधाको अंश बाहेक आफ्नो सम्पत्तीबाट सहयोग घोषणा नगरेको भन्दै आलोचना भइहरेको छ ।
देशलाई महाविपत्तले दिएको घाउ आलै रहेको अवस्थामा पूर्वउपप्रधानमन्त्री रहेका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष तथा सभासद उपेन्द्र यादव भने हर्षोल्लासमा रमाईरहेका छन् । एकथरीले पहाडमा आएको विपत्तमा मधेसको नेतृत्व दावी गर्नेहरुले आवश्यक सहयोग नगरेको आरोप लगाईरहेको बेला मधेसको मसिहा दावी गर्ने यादवले भने लाखौं खर्चेर तामझाम साथ छोराको विवाह गर्दै आतिसबाजीसमेत गरेका छन् ।
यादवले आईतबार साँझ छोरा अमरेन्द्र यादव (दिपेश) को विवाह विराटनगर १२ हाटखोला स्थित पार्कमा तामझाम र अतिसबाजी गर्दै लाखौं खर्चेर सम्पन्न गरेका छन् । पार्कमा गरिएको विवाहमा छानिएका व्यक्तिहरुलाई छुट्टै निम्ता गरिएको थियो भने सर्वसधारणका लागि विराटनगर १८ स्थित निवासमा प्रिति भोजको निम्ता थियो ।
विवाहमा उपेन्द्रले भारतबाट दर्जनौं स्कारपियो र बोलेरो भाडामा झिकाएका थिए । सयौं जन्तीसहित आइतबार साँझ बाजागाजा र सवारी साधनको लस्करसहित पडका पड्काउँदै उनीहरु हाटखोला गएका थिए । चाडपर्वहरुमा सामान्य पटका पड्काउनेलाई पनि प्रहरीले पक्राउ गर्ने गरेकोमा यादवको विवाहमा हजारौं पडका रातभर पड्किएका थिए ।
देश शोकमा परेको बेला आतिसबाजी गर्दै सयांै सवारी साधनसहितको जन्तीको लस्कर देखेर विराटनगरबासी छक्क परेका थिए । प्रशासनले पहुँचबवला भएकै कारण अवैध रुपमा पटका झिकाएर पड्काए पनि मुकदर्शक बनेको थियो ।
यादवको छोराको विवाह हुने रिर्सोटभित्र मात्र नभएर बाहिर पनि तामझामसहित सजावट गरिएको थियो । लावा तस्करसहित पटाका पट्काउँदै गएको जन्ती विवाह मण्डप रहेको पार्कमा पुगेपछि एक घण्टासम्म पटाका पडकाएर आतिबाजी गरिएको थियो । ठूला पटकाको आवाजले आसपासका बासिन्दा त्रसित बनेका थिए ।
पार्कमा सबैखाले खानपान र बेभरेज फ्रि रहेकोमा बिहान ३ बजेसम्म खानपान चलेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रभु ढकालले सुरक्षा नमागिएकोले आफूहरुले विवाह स्थल मा सुरक्षा नदिएको र आतिसवासी गरेको थाहा नभएको बताए ।
यादवको छोराको जन्ती जाने क्रममा ट्राफिक जाम भएको भने उनले बताए ।
बाटोमा जन्ती जाने क्रममा पटाका पड्काएको पाएपछि प्रहरी त्यसो नगर्न भनेको र केही पटाका नियन्त्रणमा लिएको डिएसपी ढकालले दावी गरेका छन् ।

देश विपतमा परेको बेला पार्टी नेताको छोराको विवाहमा भएको तडकभडको बारेमा यादवसँग प्रतिक्रिया लिने प्रयास गर्दा सम्पर्क हुन सकेन । उनकै पार्टीका केन्द्रीय जयराम यादबले भने विवाह एकपल्ट हुने भएकोले भव्य बनाउन समान्य भडकभडक गरेको बताए । तर, विवाहमा आतिसबाजी नै गर्नु चाँही भुल भएको उनको भनाई थियो ।
दुई पटक उपप्रधान तथा परराष्ट्रमन्त्री भएका उपेन्द्र यादव राजनीतिमा लाग्नु अगाडि विराटनगर १७ स्थित जेसी बाल सदनका शिक्षक थिए । एमाले, माओवादी हुँदै मधेसको राजनीतिमा होमिएका उनी पहिलो संविधानसभामा मोरङ र सुनसरीबाट बिजयी भएपनि दोस्रो संबिधानसभामा सुनसरीबाट मात्रै बिजयी भएका थिए ।
विपतको समयमा मात्र नभएर अन्य समयमा पनि कानुन अनुसार लाखौं खर्चेर भोजभतेर गर्न पाईदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाहमा तडकभडक नगर्न र ५० भन्दा बढि सहभागी गराएर भोज नगर्न निर्देशन दिएपछि तीन वर्ष अघि विराटनगरका उद्योगी मोती दुगडले आफ्नो छोरीज्वाईको विवाह भोज स्थगित गरेका थिए ।
आतिसबाजी र तडकभडक नगर्न प्रशासनले चेतावनी दिएपछि विराटनगरका केही धनाड्यहरुले भने भारतमै लगेर छोराछोरीको विवाह गर्ने गरेका छन् । समाजिक सुधार ऐन अनुसार अधिक खर्च गरेर पार्टी गर्नु गैरकानुनी हो ।