योजना आयोगद्वारा बर्खाअघि नै बसोबासको प्रस्ताव

0 4
काठमाडौं : राष्ट्रिय योजना आयोगले भूकम्पमा परी घर गुमाएका नेपालीका लागि बर्खायाममा सुरक्षित रहने र न्यून लागत प्रविधिको बास बनाउन वस्तुगत अनुदान दिने गरी सरकारलाई प्रस्ताव गर्ने भएको छ।
सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापालगायतका विज्ञहरूसित छलफल गरी आगामी शुक्रबारसम्म अस्थायी बसोबासका लागि सरकारसमक्ष प्रस्ताव गर्न लागिएको आयोगका सचिव शारदाप्रसाद त्रितालले बताए।
‘अहिलेलाई बर्खायामअघि नै सुरक्षित बासस्थानका लागि सरकारलाई प्रस्ताव गर्दैछौं’, सचिव त्रितालले सोमबार अन्नपूर्णसित भने, ‘त्यसपछि दीर्घकालीन रूपमा सुरक्षित बासस्थानका लागि डिजाइन गरेर सरकारलाई दिनेछौं।’
आयोगले घर भत्केका पीडित परिवारलाई सीधै नगद नदिई जस्ता, डोरीलगायतका निर्माण सामग्री जिल्ला विकास समितिमार्फत स्थानीय पसलबाट खरिद गर्न कुपन दिन लागिएको पनि सचिव त्रितालले बताए।
प्रत्यक्ष नगद अनुदानले घर बनाउने कार्यमा उपयोग हुन नसक्ने आशंकाका कारण यस्तो व्यवस्था गर्न लागिएको हो। सरकारले आगामी शुक्रबारभित्र प्रस्ताव गर्न आयोगलाई निर्देशन दिएको थियो। ‘अहिले हामी प्रारम्भिक मस्यौदामात्र बनाएका छौं, अन्तिम रूप दिन बाँकी छ’, उनले भने, ‘हामीले प्रस्ताव गरेपछि त्यसलाई सरकारले कार्यान्वयन गर्नेछ।’
सचिव त्रितालका अनुसार भूकम्पपीडित १४ जिल्लाका प्रत्येक गाविसमा पुगी क्षतिग्रस्त घरको प्राविधिक मूल्यांकन गर्न आयोगले एक सय ९१ जना इन्जिनियरलाई मंगलबारदेखि खटाउने भएको छ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा २५ जना इन्जिनियर जानेछन्। खटिने इन्जिनियरहरूले भूकम्पले पारेको क्षति, हाल बनाइरहेका घरको प्राविधिक अनुगमन र सुरक्षित बसोबास कसरी गर्न सकिन्छ भन्नेबारे परामर्श दिनेछन्।
‘उनीहरूले क्षतिग्रस्त घर, खानेपानीलगायत पूर्वाधारको सामान्य मूल्यांकन गर्ने, कसैले बनाउँदै गरेका घरको लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछन्’, त्रितालले भने, ‘उनीहरूले जिल्लास्तरीय दैवी प्रकोप उद्धार समितिसित समन्वय गर्नेछन्।’

You might also like More from author