संसदमा संकल्प प्रस्ताव आज पारित हुने

0 4
काठमाडौं : विनाशकारी भूकम्पपछि राहत, पुनर्स्‍थापना र पुनर्निर्माणबारे संसद्ले सर्वदलीय अनुगमन समिति गठन गरी संकल्प प्रस्ताव पारित गर्ने भएको छ। शनिबार र आइतबार छलफल गर्ने भनिए पनि सभासद्हरूको बोल्ने क्रम नसकिएपछि छलफल सोमबारसम्म लम्ब्याइएको छ।
सभामुख सुवास नेम्बाङले सोमबार सर्वदलीय अनुगमन समिति गठन गरी संक ल्प पारित गरिने जानकारी दिए। दलीय प्रतिनिधित्वका आधारमा गठन हुने भएकाले समिति जम्बो बन्ने सम्भावना रहेको संसद् सचिवालयका अधिकारीले बताए। शनिबार र आइतबार गरी संक ल्पमाथि एक सय ४० सभासद्ले बोलेका छन्।
आइतबार संक ल्पमाथि बोल्ने सभासद्ले भूकम्पपछि पुनर्निर्माणलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताए। एमाले सभासद् एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ऋणपत्र जारी गरी नेपालीकै लगानीमा पनि अधिकांश संरचना पुनर्निर्माण गर्नसक्ने बताए। भूकम्पबाट भएको क्षति र पुनर्निर्माणबारे सरकारले केही दिनभित्रै श्वेतपत्र जारी गरी पुनर्स्‍थापना र पुनर्निर्माण अघि बढाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेस सभासद् मोहनबहादुर बस्नेतले ठूलो संकटपछि राजनेता जन्मिने गरेको भन्दै राहत र पुनर्निर्माणमा पनि राजनेताको खाँचो औंल्याए। सरकारी राहत दूरदराजका भूकम्पपीडितसँग पुग्न नसकेको बस्नेतले आरोप लगाए।
एमाओवादी सभासद् हरिबोल गजुरेलले विपत्तिका बेला दलीय स्वार्थभन्दा माथि उठेर राहत र पुनर्निर्माणमा एकताबद्ध भएर दलहरू लाग्नुपर्ने बताए। विदेशी सहयोगलाई सरकारको नियन्त्रणमा मात्र वितरण हुने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै गजुरेलले ‘मगन्ते संस्कृति’ बसाल्न नहुने बताए।
एमाले सभासद् जनार्दन ढकालले भूकम्पबाट भएको विनाशलाई विकासमा परिणत गर्नुपर्ने बताए। ‘तत्काललाई निराश जनतामा आशा जगाउन जरुरी छ’, ढकालले भने, ‘पुनर्निर्माणलाई अवसरका रूपमा लिनसके मुलुक बनाउन सकिन्छ।’
कांग्रेसका धनराज गुरुङले राष्ट्रिय एकताका साथ मुलुकलाई पुनर्निर्माण गर्नुपर्ने बताए। ‘हुनेले दान नहुनेले श्रमदान भनेर मुलुकलाई पुननिर्माण गर्नुपर्छ’, उनले भने।
एमाले सभासद् डा. राजन भट्टराईले पुनर्निर्माणलाई अवसरका रूपमा लिई काम गर्नुपर्ने बताए। ‘हाम्रो पुस्तालाई भत्काउनमात्र जान्ने, बनाउन नजान्ने भन्ने जुन आरोप छ, त्यसलाई गलत साबित गरेर देश बनाउनुपर्छ’, उनले भने।
राप्रपा नेपालका सुशीलकुमार श्रेष्ठले राष्ट्रिय एकताका साथ अघि बढ्न आफ्नो दल तयार रहेको भन्दै भूकम्पबाट भएको विनाशलाई सबै दल मिलेर सामना गर्नुपर्ने बताए।
राप्रपाका विक्रम पाण्डेले भूकम्पबाट भएको क्षति र पुनर्निर्माणमा लाग्ने बजेटबारे तथ्यांक बनाउन सरकारसँग माग गरे। एमालेका यज्ञराज सुनुवारले खर्च हुन नसकेको विकास बजेटलाई भूकम्पपीडितका लागि खर्च गर्न आग्रह गरे।
-Source: Annapurna Post