मनिषा कोइरालाले गर्भवती र सुत्केरीलाई सहयोग गर्ने

0 2

काठमाडौं : बलिउड अभिनेत्री मनिषा कोइरालाले बैशाख १२ को भूकम्पबाट विस्थापित भएका गर्भवती, सुत्केरी र तिनका शिशुहरुलाई सहयोग गर्ने भएकी छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालकी सद्भावना दूत मनिषाले भूकम्पबाट विस्थापित गर्भवती महिला, सुत्केरी र तिनका शिशुहरूलाई सघाउने भएकी हुन् ।

‘विपद्को घडीमा मातृभूमिमा युएनएफपीएसँग साझेदारी नवीकरण गर्न पाउँदा खुशी भएकी छु,’ कोइरालाले भनिन्, ‘यतिबेला युएनएफपीएबाट जीवन बचाउन अझ बढी पहल गर्नु आवश्यक छ ।’

युएनएफपीएका अनुसार यो विपत्तिले २० लाखभन्दा बढी प्रजनन उमेरका महिला प्रभावित भएका छन् । तीमध्ये धेरै अनिच्छित गर्भधारणको जोखिममा छन् । त्यसअतिरिक्त, करिब एक लाख २६ हजार महिला गर्भवती छन् ।

ती महिलालाई सुरक्षित सुत्केरी गराई जन्मेका शिशुको हेरचाह गर्न सक्षम बनाउन जरुरी रहेको युनएफिएले जनाएको छ ।

विस्थापितहरूको शिविर र अन्यत्रका महिला तथा बालिकालाई बलात्कारलगायत लैंगिक हिंसाबाट जोगाउनु पनि जरुरी रहेको युनएफिएले उल्लेख गरेको छ ।

‘हामी हाम्रो अभियानकी प्रवक्ताका रूपमा मनिषालाई ह्दयबाटै स्वागत गर्दछौं’ युएनएएफपीए नेपाल प्रतिनिधि जुलिया भलिसीे भनिन्, ‘हाम्रा प्रयासहरू भविष्यसम्मै दिगो र उपयुक्त तथा निरन्तररूपमा स्रोतसाधनयुक्त हुनुपर्छ ।’

युएनएफपीए नेपालले विस्थापित महिला र बालिकाको प्रतिष्ठा पुनस्थार्पित गर्ने स्यानिटरी प्याड, फ्यास–लाईट र नयाँ कपडालगायत सामग्रीहरू समावेश भएको ‘डिग्निटी–किट’ वितरण गर्दै आएको छ ।