ठूला नेताका घर : कसैका चर्किए, कसैका पर्खाल भत्किए

0 5

२८ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले ठूला नेताका घरमा के-कति क्षति पुर्‍यायो होला ? यसबारे अनलाइनखबरले सोधीखोजी गर्दा प्राप्त जानकारी अनुसार उपत्यका बाहिरका प्रभावित जिल्लामा घर भएका नेताहरु बढी पीडित भएका छन् ।

उपत्यमाभित्रै घर बनाएका ठूला नेताको घर सामान्य चर्केको र पर्खालहरु लडेको अवस्थामा छन् । एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रकाशमान सिंहका घरहरुचाँहि बस्नै नहुने अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाको घरै नभएकाले उनको केही पनि क्षति भएको छैन । प्रधानमन्त्री बस्दै आएको बालुवाटार चर्केको छ । राष्ट्रपति निवास शीतलनिवास पनि चर्केर बस्न नहुने भएको छ । सभामुख नेम्वाङको निवास सग्लै देखिएको छ । प्रधानन्यायाधीशको सरकारी निवासको पर्खालमा क्षति पुगेको छ ।

कसको घरमा कस्तो क्षति भयो ? अनलाइनखबरको एक रिपोर्ट :

ओली निवास सग्लो, बल्खु बस्नै नहुने

Balkhu UML party office_crack after earthquake  (1)

भूकम्पबाट एमाले पार्टीले संस्थागत र व्यक्तिगत रुपमा पनि ठूलो क्षति व्यहोरेको छ । एमालेको केन्द्रीय कार्यालय भवन बल्खु कामै नलाग्ने गरी भत्किएको छ ।

नेताहरुमध्ये पार्टी अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा केही पनि असर परेको छैन । ओली भूकम्प आएको राति पनि आफ्नै घरको पहिलो तलामा सुतेका थिए ।  त्यस्तै एमाले पूर्वअध्यक्ष तथा बरिष्ठ नेता झलनाथ खनालको घरमा पनि खासै क्षति नभएकाले उनी घरमै बसेका छन् । खनालको निवास डल्लु आवास क्षेत्रमा छ ।

अर्का बरिष्ठ नेता तथा पूर्व पार्टी प्रमुख माधवकुमार नेपालको घर भने भूकम्पमा परेर सामान्य क्षति भएको छ । नेपालको घरको पर्खालमा सामान्य चर्किएको छ । नेपालका घरको पर्खाल भत्किएको स्वकीय सचिव मोहन गौतमले अनलाइनखबरलाई बताए ।

madhav nepal House

भूकम्पका कारण एमाले महासचिव ईश्वर पोखरेल भने घरवारविहीन जस्तै भएका छन् । उनी बस्दै आएको टोखा नजिकको ग्राण्डी अपार्टमेन्ट चर्किएपछि पोखरेल आफन्तकोमा बस्दै आएका छन् । महासचिव पोखरेल ग्राण्डीको नवौं तलामा बस्दै आएका थिए । भूकम्पले पर्खालमा चर्किएपछि महासचिवले बास छाडेको तर निजी सचिवालय भने ग्राण्डीकै पहिलो तलामा रहेको स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए ।

एमाले उपाध्यक्ष भीम रावल लगायत अन्य धेरै नेताका काठमाडौंस्थित घरहरु सुरक्षित रहे पनि भूकम्प प्रभावित क्षेत्रका नेताहरुका गाउँका घर भने सग्ला छैनन् ।  भूकम्पले सबैभन्दा तहस-नहस पारेको सिन्धुपाल्चोकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराको पिस्करको घर भत्किएको छ ।

त्यस्तै पोलिटव्यूरो सदस्य अरुण नेपालको पांग्रेटारस्थित घर भत्किँदा उनकी आमाको मृत्यु भएको थियो । एमाले केन्द्रीय सदस्य तथा सभासद शेरवहादुर तामाङको घर पनि भत्किएको छ । पोलिटव्यूरो सदस्य पशुपति चौलागाईको दोलखा काव्रेको घर भत्किएको छ भने दोलखामै सभासद तथा केन्द्रीय सदस्य पार्वत गुरुङको सुरीस्थित घर पनि भत्किएको छ ।

रामेछापमा एमाले केन्द्रीय सदस्य देवशंकर पौडेलको सैपूस्थित घर क्षतिग्रस्त भएको छ भने माधव ढुंगेलको पकरवासको घर भत्किएको छ । ओखलढुंगामा एमाले केन्द्रीय सदस्य सभासद यज्ञराज सुनुवारको श्रीचौरस्थित घर भत्किएको छ । भक्तपूरमा एमाले युवा नेता तथा उद्योगमन्त्री महेश बस्नेतको गुण्डुस्थित घर पनि भत्किएर बस्न नहुने भएको छ ।

एमाले सभासद तथा पूर्वमन्त्री गंगालाल तुलाधरको ढुंगा माटोले बनेको धादिङस्थित घर पूर्णरुपमा क्षति भएको छ ।  ‘जगैदेखि भत्केको छ । पुनर्निर्माणको सम्भावना छैन जगैदेखि भत्काउनुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै उनका भाइ ध्रुव तुलाधरले भने ।

कल्लेरी ७ पोखरी गाउँमा रहेको तुलाधरको घरलाई भूकम्पको पहिलो झड्काले ध्वस्त बनाएको थियो । घरमा कोही नभएकाले मानवीय क्षति भने भएन ।

धादिङ क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित एमाले सभासद गुरु प्रसाद बुर्लाकोटी भूइचालो आएपछि आजको दिनसम्म घर पुगेका छैनन् । ‘भूकम्प आउदा म सदरमुकाममै थिएं, तत्कालै उद्धारमा लागें, आजसम्म घर जान पाएको छैन,’ उनले भने ।

आफू घर नगएपनि अरु दाजुभाइले घरको अवस्थाबारे उनलाई जानकारी दिएका छन् । सालवास ५ चैनपुरमा रहेको ढुंगा र माटोले बनेको उनको दुईतले घर बस्न नहुने गरी चिरिएको छ । ‘भाइहरुले सुनाए अनुसार घर लडेको छैन । तर, बस्न पनि मिल्दैन सबै जना पाल टाँगेर बसेका छन्,’ बुर्लाकोटीले भने ।

क्षेत्र नम्बर १ का सभासद धनबहादुर घलेको बसेरीमा रहेको घर पनि पूर्णरुपमा क्षति भएको छ । घरमा भएको अन्नपात समेत पुरिएको छ ।

धादिङ क्षेत्र नम्बर ३ का एमाले सभासद राजेन्द्र पाण्डेको मलेखुमा रहेको एउटा पुरानो घर क्षतिग्रस्त भएको छ । काठमाडौं बस्न थालेपछि उनी मलेखुमा भाइहरुकोमा बस्दै आएका थिए । यसपालिको भुईंचालोले भाइहरुको घर पनि बस्न नहुने बनाएको छ ।

‘चाक्सीबारी’ बस्नै नहुने अवस्थामा

Prakashman-Singh-Solukhumbuउपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवास भत्किएर बस्नै नहुने भएको छ । घर भत्किएपछि गणेशमानसिंह पुत्र प्रकाशमान हाल भान्सा घरमा बस्दै आएका छन् ।

घर भत्किएपछि प्रकाशमान दुई दिनसम्म आँगनमा त्रिपाल टाँगेर बसेका थिए । ‘घर भत्किएर बस्नै नहुने भएको छ, अब सम्भवतः रातो स्टीकर टाँसिन्छ,’ सिंहका प्रेस संयोजक यूपी लामिछानेले अनलाइनखबरसँग भने । स्व.गणेशमान सिंहको इतिहासँग जोडिएको सोही घरबाट ०४६ सालमा कांग्रेस र र वाम मोर्चाले संयुक्तरुपमा ऐतिहासिक जनआन्दोलन घोषणा गरेका थिए ।

ललितपुरको सानेपास्थित कांग्रेस नेता खुमबहादुर खड्काको घरमा भने भूकम्पले कुनै क्षति पुर्‍याएको छैन । उत्तरतर्फको पर्खाल मात्रै भत्किएको उनका सहयोगीले अनलाइनखबरलाई जानकारी दिए ।

बूढानीलकण्ठस्थित कांग्रेस नेता शेरबहादुर देउवाको घरमा पनि समान्य चर्किनुबाहेक कुनै क्षति नभएको पारिवारिक स्रोतले जानकारी दियो । कांग्रेस नेता डा. शेखर कोइरालाको घरको जग सामान्य चर्किएकाले इञ्जिनियरलाई देखाउने तयारीमा छन् ।

नुवाकोट निवासी अर्जुन नरसिंह केसीको विदुरमा रहेको पक्की घर सग्लो रहे पनि पुख्र्यौली घर भत्किएको छ ।

एमाओवादी नेताको क्षति विवरण

विनाशकारी भूकम्पले एमाओवादी अध्यक्ष प्रचण्ड बस्दै आएको लाजिम्पाटस्थित भाडाको घरमा सामान्य क्षति पुगेको छ । वालहरु केही चर्किएका छन् । तर, इन्जिनियरहरुले परीक्षण गर्दा बस्न हुने भनेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले बताए ।

agni

एमाओवादी नेता बाबुराम भट्टराईको गोर्खा खोप्लाङस्थित पुख्र्यौली घर चर्किएको छ । सानेपास्थित भाडामा रहेको निवासको पर्खालको केही भाग भत्किएको छ । छतमा पानी ट्यांकी राखिएको पिल्लर चर्किएको छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गोरखा जौबारीमा रहेको पुख्र्यौली घर ध्वस्त भएको छ । ललतिपुरको हात्तिवनमा रहेको निवासको पर्खाल लडेको छ । निवास रहेको भवन सामान्य चर्केको छ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माचाहिँ भूकम्पमा परेर सामान्य घाइते बनेका छन् । भुइँचालो आउँदा भाग्ने क्रममा गमलामा खुट्टो ठोक्किएर शर्माको कान्छी औंलाको लिगामेन्ट च्यात्तिएपछि वीर अस्पताल पुगेर ब्यान्डेज गरिएको छ । उनी हाल निवासमै आराम गरिरहेका छन् । शर्मा घाइते भएपछि शनिबार एमाओवादीको नियमित पत्रकार सम्मेलन समेत रोकियो ।

बाग्लुङ पुख्र्यौली घर भएका शर्माको गाउँको घर चर्किएको छ । तर, राजधानीको निवासमा भने कुनै क्षति नपुगेको शर्माले अनलाइनखबरलाई बताए ।

सिन्धुपालल्चोकमा घर भएका एमाओवादी नेता अग्निसापकोटाको घर क्षतिग्रस्त भएको छ ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव बस्दै आएको हात्तिबनस्थित अपार्टमेन्टमा सामान्य क्षति भएको छ । फोरमका कार्यकर्ता सञ्जय यादवका अनुसार अपार्टमेन्टका वालहरु केही चर्किएका छन् । तर, इन्जिनियरसहितको टोलीले परीक्षण गर्न बाँकी छ । छोराको विवाहका लागि विराटनगरमा रहेका यादव काठमाडौं आएपछि परीक्षण गराउने तयारीमा छन् ।

Narayanman-Bijukchhe

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको कमलविनायकस्थित घर भूकम्पले चर्किएको छ । तर, बस्न मिल्ने अवस्थामा छ । महासचिव सुनिल प्रजापतिको जेलाटोलस्थित घर पनि सामान्य चर्किएको छ ।

नेमकिपा केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईंको भक्तपुरस्थित घर भूकम्पले भत्किएको छ । घर, भत्किएर पुरिँदा गोसाईंकी जेठी श्रीमती र बुहारीको मृत्युसमेत भयो ।

– Source : Online Khabar