अस्थायी बसोबासका लागि तत्काल २५ हजार दिन सरकारलाई निर्देशन

0 3

२८ वैशाख, काठमाडौं । संसदको अर्थ समितिले भूकम्पबाट बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका घरका परिवारलाई अस्थायी बसोबासका लागि तत्काल २५ हजार रुपैयाँ वितरण गर्ने गरि गाविसमा बजेट पठाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले १५ दिनभित्र भूकम्पबाट भएको मानवीय र भौतिक एबम् आर्थिक क्षतिको विवरण सार्वजनिक गर्न समेत निर्देशन दिएको छ ।

भूकम्पपछि बेपत्ता भएकाहरुलाई बेपत्ताको सूचीमा राखी तिनका परिवारलाई मृतकका परिवारले पाएसरहकै राहत उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिइएको सभापति प्रकाश ज्वालाले बताए ।

सभासदहरुले भूकम्पपछि राहत, उद्दार र पुनस्र्थापनामा जोखिमपूर्ण तथा प्रशंसनीय काम गर्ने सुरक्षाकर्मीलगायतका व्यक्तिलाई पुरस्कृत पदोन्नति र सम्मान गर्नुपर्ने धारणा राखेका थिए । समितिले सोही बमोजिमको निर्देशन समेत दिएको छ ।

राहत एवम् पुनस्र्थापनामा धेरै खर्च लाग्ने भएकाले सरकारको साधारण खर्चमा मितव्ययिता अपनाउने, सरकारी खर्चमा हुने विदेश भ्रमण तथा उत्सवहरु नगरी बजेट बचत गर्न समेत समितिले निर्देशन दिएको छ ।

समितिले खर्च हुन नसकेको पुँजिगत बजेटलाई समेत रकमान्तर गरी राहत तथा पुनर्निर्माणमा लगाउन सरकारलाई निर्देशन दिएको छ ।