आठ वर्षीय अमेरिकी बालकले २७ लाख जुटाए

0 5
एजेन्सी : नेपालका भूकम्पपीडितका लागि ८ वर्षीय एक अमेरिकी बालकले २६ हजार डलर संकलन गरेका छन् ।ती बालकले २६ लाख ५९ हजार ५ सय ९२ रुपैयाँ सडकमा मानिससँग चन्दा उठाएर संकलन गरेका हुन् । मेरिल्यान्ड निवासी ८ वर्षीय बालक निभ सराफले २५ मे मा गएको भूकम्पपछि आफ्नो खुत्रुकेमा बचत भएको रकम भूकम्पपीडितलार्इ दिने इच्छा देखाउँदै बाबुआमासँग अनुमति मागेका थिए ।

छोराको कुरा सुनेका बाबुआमाले सहयोग गर्न हौसला बढाएपछि निभले भूकम्प पीडितलार्इ सकेसम्म सहयोग गर्ने हिम्मत जुटाएर एक हप्ताअघिबाट चन्दा संकलन गर्न थालेका थिए ।

निभले आफ्नो खुत्रुके फुटाएर ३८४ डलर तथा साथीहरुसँग लिएर उठाएको २६ हजार ६ सय ७५ डलर नेपालका भूकम्पपीडितका लागि संकलन गरेका हुन् ।

निभ सराफ आमाबाबुसँग
उनले बाबुआमाले हौसला बढाएपछि निभले सहयोग जुटाउनका लागि उनका साथीभाइसँग तत्कालै सम्पर्क गरेका थिए । साथीभाइको समेत सहयोग जुटेपछि उनले छुट्टै वेबसाइट क्रोड्राइज बनाएर सहयोगका लागि सम्पर्क बिस्तार गरे ।उनले सो वेबसाइटमा आफूले संकलन गरेको रकम सार्वजनिक गरेका छन् ।  नेपालका भूकम्पपीडितका लागि उनलार्इ सहयोग गर्ने सबै दाताहरुको नाम र चन्दा रकमसमेत उनले वेबसाइटमा उल्लेख गरेका छन् ।

उनले राहत संकलन गरिरहँदा नेपालका भूकम्पपीडितलार्इ सहयोग जुटाउन जुटेको अमेरिकन नेपाल मेडिकल फाउन्डेसनसँग सम्पर्क भएको थियो । त्यस संस्थाले पनि निभलार्इ राहत संकलन गर्न हौस्याएको थियो ।

‘मेरा बाबुआमाले आफ्नो बाल्यकाल बिताएको मातृभूमि अहिले संकटमा छ, यो बिपतको बेला धेरै नेपाली सहयोगका लागि रोइरहेका छन् । सबैजनाले सहयोग गर्नु जरुरी छ’, निभले वेबसाइटमा लेखेका छन्, ‘मर्नेहरुको संख्या बढिरहेको छ, अहिले पनि धेरै ठाउँमा उद्धार र सहयोग पुगेको छैन। हाम्रो मुटु नै रोकिने गरी ज्यान गुमाउनेको संख्या बढिरहेको छ । नेपालको हरेक नयाँ खबरले हाम्रो मुटुको ढुकढुकी नै रोक्न खोज्दैछ ।’

उनले आफूले उठाएको सहयोग नेपालका भूकम्पपीडितलार्इ निस्वार्थ सघाइरहेका प्रतिष्ठित र इमान्दार संस्थालार्इ भूकम्पपीडितका निम्ति खर्चिन दिने बताएका छन् ।’नेपालमा भूकम्पले हजारौं मानिस मारिएको खबरले मेरो मन रोइरहेको छ’, उनले भनेका छन्, ‘उनीहरुको घाउमा मल्हम लाउन मेरो खुत्रुकेबाट ३८४ डलर चन्दा उठाएको २६ हजार ६ सय ७५ डर नेपालका भूकम्पपीडितका लागि पठाउँदैछु ।’