राहतका नाममा भारतीय वायुसेनाद्वारा आफ्नाको मात्रै उद्धार

0 4
काठमाडौं : भारतीय वायुसेनाले नेपाललाई परेको विपत्को समयमा राहतका नाममा आफ्नै नागरिकको उद्धारमा बढी केन्द्रित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताएका छन्।
उनका अनुसार वैशाख १२ गतेको भूकम्पपश्चात् शनिबारसम्म भारतीय वायुसेनाका एक सय ७६ उडान भएका छन्। ती उडानमा न्यून मात्रामा राहत ल्याउने र नेपालीको उद्धारका नाममा आफ्नै नागरिक उद्धार गरेर लैजाने काम भएको श्रेष्ठले बताए।
अन्य देशका वायुसेवाले पनि चार्टर उडान गरेको संख्याका आधारमा राहत कम भए पनि भारतीय वायुसेनाको जस्तो साह्रो कम भने नभएको जानकारी आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा श्रेष्ठले बताए।
भूकम्पपछि नेपालमा उद्धार तथा राहत लिएर आएका वायुसेवाको चापका कारण भारतीय वायुसेनाले आन्तरिक विमानस्थलबाटै उडान गरेको थियो। भारतीय वायुसेनाका जहाज नेपालमा उद्धारका लागि भन्दा पनि आफ्नै नागरिकलाई लैजना आएको अनुभव भएको श्रेष्ठको भनाइ छ।
भारतीय वायुसेनाका जहाजले लैजाने भएपछि विमानस्थलदेखि सिनामंगलसम्म नै भारतीय नागरिकको लाइन लागेको थियो। वैशाख १२को महाभूकमपपछिको दुई सातामा नेपालमा चार सय ९४ वटा चार्टर उडान भएका थिए। यीमध्ये भारतका मात्रै दुई सय ८८ वटा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
वैशाख १२को महाभूकमपपछिको दुई सातामा नेपालमा चार सय ९४ वटा चार्टर उडान भएका थिए। यीमध्ये भारतका मात्रै दुई सय ८८ वटा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
भूकम्पपछि नेपालको पर्यटनका प्रमुख क्षेत्रमा पुगेको असरबारे छलफल गर्न आयोजित कार्यक्रममा सचिव श्रेष्ठले भारतीय वायुसेनाका जहाजले अपेक्षा गरेअनुसार उद्धार तथा राहतमा क्रियाशील नभएको गुनासो गरेका हुन्।
पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन आवश्यक पहलका लागि पर्यटन क्षेत्रका सरोकारवालाले आइतबार छलफल कार्यक्रम आयोजना गरेका थिए। सो अवसरमा श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका नेपालका सातवटै सम्पदा ध्वस्त भएको, चार सय ८० वटा मठमन्दिर पूर्ण रूपले ध्वस्त भएको र धराप धरहरा भएका कारण धेरै व्यक्तिकोएकै थलोमा ज्यान गएको श्रेष्ठले बताए।
कार्यक्रममा नेपालको पर्यटन क्षेत्रको सुधार तथा आवश्यक पुनर्संरचनाका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले औपचारिक रूपमा प्रस्ताव गरेको पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले बताए। उनले ध्वस्त भएका पर्यटकीय संरचना पुनर्निर्माण गर्न पाटाको अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्ने जानकारी दिए।
भूकम्पछि नेपालले भोगेको शोकलाई शक्तिमा रूपान्तरण गरेर नेपालीले काम गर्नुपर्ने वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए। उनले नेपालमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा रहेकोले बारामा पूर्ण क्षमताको विमानस्थल तत्काल निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए। उनले अहिलेको आवश्यकता पूर्ण क्षमताको अर्को अन्तर्राष्ट्रिय विमानस्थल भएको बताए।
होटेल संघ नेपाल (हान) का अध्यक्ष बीके श्रेष्ठले होटेल क्षेत्र सामान्य अवस्थामा सञ्चालन गर्न सकिने बताए। उनले होटेल क्षेत्रको अवस्थाबारे जानकारीका लागि हानले चारवटा उपसमिति बनाएको जानकारी दिए।
कार्यक्रममा पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक बजेटलाई रोकेर सम्पदाको पुनर्निर्माणमा खर्चनुपर्ने बताए। नेपाल आउने हरेक विदेशी पर्यटकबाट १० डलर लिएर पुनर्निर्माण कोष बनाएर पर्यटकीय क्षेत्रको पुनर्निर्माणमा खर्चनुपर्ने तर्क व्यवसायीले अगाडि सारेका छन्।
भूकम्पले धावनमार्ग चर्कियो
विनाशकारी भूकम्पले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे तथा रनवे (धावनमार्ग) चर्किएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल कार्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा धावनमार्ग चर्किएको भए पनि ठूलो क्षति हुनबाट भने जोगिएको जानकारी दिएको छ। विमानस्थल कार्यालयका अनुसार धावनमार्ग तथा ट्याक्सी वे चर्किएको र एउटा भवन चर्किनुबाहेक अरू क्षति भएको छैन।