सर्वोच्च अदालत सैनिक तबेलामा सर्दै

0 3
काठमाडौं : शक्तिशाली भूकम्पका कारण सर्वोच्च अदालतको भवन काम नलाग्ने भएपछि नेपाली सेनाको क्याबलरी (घोडा तबेला) खाली गरेर अस्थायी संरचना तयार गरिने भएको छ।
न्यायसम्पादनमा गम्भीर समस्या उत्पन्न भएपछि तत्काल अस्थायी संरचना निर्माणका लागि क्याब्लरी खाली गर्ने विषयमा आइतबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र प्रधानसेनापति गौरवशमशेर राणाबीच छलफल भएको छ। छलफलका लागि प्रधानन्यायाधीश साहले सेनापति राणालाई सर्वोच्चमा डाकेका थिए।
राणाले क्याबलरी तत्काल अन्यत्र सार्ने विषयमा सहमति जनाएका छन्। छलफलमा प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीश, प्रधानसेनापति र सेनाका उच्च अधिकारी सहभागी थिए।
‘छलफलमा प्रधानसेनापतिले सिंहदरबारबाट नारायणहिटीको खाली स्थानमा क्याबलरी सार्ने भनाइ राख्नुभयो’, सर्वोच्चका कामु रजिस्ट्रार श्रीकान्त पौडेलले अन्नपूर्णसँग भने, ‘चाँडै सार्ने कुरा आएको छ।’
सरकारले घोडा राख्ने वैक ल्पिक व्यवस्थाका लागि सेनाको जंगीअड्डालाई रकमसमेत दिइसकेकाले छिट्टै व्यवस्थापन हुने पौडेलले बताए। छलफलमा प्रधानन्यायाधीश साहले सकेसम्म छिट्टै घोडालाई अन्यत्र सारेर सहयोग गर्न प्रधानसेनापति राणासँग आग्रह गरेका थिए।
मन्त्रिपरिषद्को निर्णयअनुरूप सिंहदरबारभित्र रहेको क्याबलरीसहित मूल सडकसम्म करिब ३० रोपनी जग्गा सर्वोच्चले प्राप्त गरिसकेको छ। मालपोतबाट उक्त जग्गाको लालपुर्जा सर्वोच्चका नाममा बनिसके पनि क्याबलरी खाली नगरेका कारण नयाँ संरचना निर्माण गर्न समस्या परेको हो।
राष्ट्रिय अभिलेखालयसमेत सारेर उक्त जग्गामा पनि सर्वोच्चको संरचना विस्तार गर्ने तयारी थियो। भूकम्पले सर्वोच्च भवन क्षतविक्षत भएपछि सरकारी टोलीले रातो स्टिकर टाँसिदिएको छ।
पाल टाँगेर मुद्दा दर्ता
इजलास सञ्चालन एवं सुनुवाइबाहेक मुद्दाका अन्य कामकारबाही आइतबार सुरु भएको छ। सर्वोच्च परिसरमा रहेको एनेक्स बिल्डिङले नपुगेपछि बाहिर पाल टाँगेर मुद्दा दर्ता र तारिख लिन सुरु गरिएको हो।
इजलासको संरचना नभए पनि न्यायाधीशहरूले एनेक्सकै कोठामा रहेको अस्थायी चेम्बरमै बसेर पुनरावलोकनसम्बन्धी मुद्दामा मात्र छलफल गरेका थिए।
पुनरावलोकन निवेदनमा सुनुवाइका लागि अनुमति हुने वा नहुने भनेर चारवटा इजलास तोकेर छलफल भयो।
पुनरावलोकनमा छलफलका लागि प्रधानन्यायाधीश साहले आफूसहित न्यायाधीश सुशीला कार्की र चोलेन्द्रशमशेर राणाको एउटा इजलास, कल्याण श्रेष्ठ, गोपाल पराजुली र दीपकराज जोशीको अर्को इजलास, गिरीशचन्द्र लाल, ओमप्रकाश मिश्र र देवेन्द्रगोपाल श्रेष्ठ संलग्न अर्को इजलास र वैद्यनाथ उपाध्याय, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेल संलग्न अर्को इजलास गठन गरेका थिए।
सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले कोठाको चेम्बरमै रहेर पुनरावलोकन मुद्दामा छलफल गरिएको बताए। मुद्दा दर्ता र तारिख बुझ्न आउने सेवाग्राहीको बिहानैदेखि सर्वोच्चमा भीड लागेको थियो।
सर्वोच्चले भूकम्पका कारण अदालत नै बन्द हुने अवस्था आएपछि वैशाख १३ गतेदेखि २५ गतेसम्म म्याद तारिख गुज्रने अवस्था भएका र अन्य कामकारबाहीका लागि पेसी तारिख तोकिएका मुद्दामा २७ गतेसम्म म्याद नगुज्रने व्यवस्था मिलाएको थियो।

– Source: Annapurna Post