हिमालपारीको गाउँबाट १५ दिनमा सदरमुकाम

0 11

गोरखा, २८ वैशाख – भूकम्पपछि धर्मशालामा धेरै ठूलो हिमपहिरो आयो। लज भएको भवन, भान्सा, तलको क्याम्पसाइटको टेन्ट हाउससम्म पहिरोले पुर्‍यो। त्यहाँबाट बचेर साम्दो आइपुगें। साम्दो, सामागाउँ ध्वस्त छ। सामागाउँको होटेल लाइनको नयाँबस्तीका घर चिरिएका छन्। पुरानो बस्तीका सबै घर, छोर्तेन, मानेहरू ध्वस्त छन्।

ल्हो गाविसको स्यालामा तीन करोडमा बनेको आवासीय स्कुल ध्वस्त छ। गुम्बा र घर पनि बाँकी छैन। १० वटा होटेल र ३५ वटा पुराना घर एउटा पनि ठाडा छैनन्। स्यालाबाट ल्हो गाउँ आउने बाटोमा रूख ढलेर हिँड्न नसकिने छ। अहिले पनि पहिरो झरिरहेको छ।

ल्हो गाउँमा पनि स्कुल छैनन्, छोर्तेन छैन, गुम्बा छैन। पुरानो गाउँ एउटा पनि छैन। सिरिप विजयको होटेल बाँकी छ। ल्होमा एकजनाको ज्यान गएको छ। गाउँका सबै मानिस टेन्टमा बसेका छन्।

टेन्ट नहुने ओडारमा छन्। त्यसपछि स्यो गाउँ आउँछ। त्यहाँ जमिन र बाटोमा चिरा परेको छ। ल्ही गाउँमा पनि एउटा घर बाँकी छैन। गाईबस्तु, चौंरी सखाप भएका छन्। कहाँ कति मरे यकिन छैन। पहिरो झरेको छ। सबै राहतको पर्खाइमा छन्।

प्रोक गाविसको नाम्रुङमा होटेल भत्किएका छन्। पहिरोले बाटो छेकिएको छ। पत्नीले भीरमा हेर्ने, म दौडने, अनि मैले हेर्ने पत्नी दौड्ने गर्दै भीर काट्यौं। लगभग एक सय मिटर लामो बाटो त्यस्तो छ।

पालैपालो हेर्दै कुद्ने हो। प्रोक गप र प्रोक गाउँका घर बूढीगण्डकीमा झर्न ठिक्क छन्। घर कुनै ठाडो देखिएन। सबै पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।ल्होमा ५० जना थिए, तिनीहरूको पनि उद्धार भयो।

बिही गाविसमा पनि गुम्बा, माने, छोर्तेन र घर सग्ला छैनन्। क्वाकको पनि त्यही हालत छ। बाटोमा ठूलो पहिरो गएको छ। त्यहाँबाट १५ जना विदेशीको हेलिकोप्टरबाट उद्धार गरियो। ड्याङमा मेरो होटेलबाट पनि दुई विदेशीको उद्धार गरियो।

सिर्दिबास गाविसको पेवामा रहेका सबै होटेल भत्केका छन्। पूरै गाउँ ध्वस्त छ। नौजना विदेशी र २५ जना नेपालीको महाभूकम्पको तेस्रो दिन उद्धार भयो। एक्ले भट्टीमा चार घर थिए। ती कहाँ थिए भन्ने अहिले ठम्याउन सकिँदैन। बाख्रा, गाई खच्चड सबै मरे। गनाएर सास फेर्नै मुस्किल छ।

आर्वाङ गाउँको खच्चडवाला ढुंगाले लागेर मरेछन्। आफ्ना सबै भेडा पहिरोमा पुरिएपछि फिलिम गाउँका एकजनाले आत्महत्या गरे। पाङसिङ गाउँका घर चर्केका छन्। घट्टेखोला र सल्लेरीमा पनि एउटै घर बाँकी छैन। त्यहाँ एकजनाको मृत्यु भयो।

जगतमा खासै केही भएको छैन। केरौंजा गाविसको यारुबगरमा लाप्राक र गुम्दाका एक/एकजनालाई ढुंगाले किचिराखेको देखियो। स्याउली बजार तहसनहस छ। बाटो छँदै छैन। दोभानमा एकजना बहिनी ढुंगाले लागेर मरिन्।

हुल्चुकमा तीनजना मरेकाको लास भेटिएको छैन। रुन्चेतमा ६ जना मरेका छन्। केरौंजा गाविसको चार सय घरमा एउटा पनि बाँकी छैनन्। अहिलेसम्म १९ जना मरेको खबर छ। भेडा कति मरे गणनै छैन।

कासीगाउँमा तीनवटा गाई मरेको देखें। पहिरो खस्या रहेछ। त्यहाँका खच्चडवालाले बाटो बनाइरहेका छन्। मकैबारी खत्तम भएको छ। कासीगाउँमा पनि स्कुल, घर सबै भत्केका छन्।

लापु, यमगाउँ, लप्सीबोट, यार्साको हालत पनि त्यस्तै छ। मैले सात दिनको यात्रामा देखेको दृश्य हुन् यी। मान्बुमा पनि घर ध्वस्तै छन्। थुमीमा आर्खेत र सोतीबजारको हालत पनि उस्तै छ। आर्वाङमा पनि एक घर बाँकी छैनन्। आरुघाटको त के कुरा गरौँ। सबैभन्दा ठूलो बजार नै आरुघाट हो। सबै घर ढलेका छन्।

केरौंजाका पीडित दुई सय ६५ घरधुरीमा ४५ वटा त्रिपाल पुग्यो। कसलाई बाँड्ने? लापुमा पनि त्यही हालत छ।राहत बाँडेको पनि के भन्ने र? हेलिकोप्टरले माथिबाट बिस्कुट, चाउचाउ दुईचार प्याकेट फालेर हुन्छ? चिउरा एक किलो नि छैन।

चामल ल्याउँछ हेलिकोप्टरबाट खसाल्छ। त्यसरी के राहत पुग्नु? हेलिकोप्टरको पनि मनपरी छ। केरौंजामा आर्मीले बिस्कुट बाँडेको छ अलिअलि। नेपाल आर्मीले चिउरा खुवाइरहेको थियो। मान्बुमा केही राहत पुगेको छैन।

तल्लो भेगका मानिसलाई त्यहाँको बारेमा केही थाहा छैन। हामी सीडीओलाई भन्न चाहन्छौं-‘खानाभन्दा पनि पाल देऊ।’ चिसो ठाउँमा ओतको लागि जेनतेन हुन्थ्यो।

दुई साताअघि गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पबाट बाँचेका चन्द्र गुरु ङ लार्केपासको बेसक्याम्प(धर्मशाला) बाट सदरमुकाम आइपुगेका छन्।