पत्रपत्रिकाबाट – राष्ट्रिय सरकार बनाउन पूर्व प्रधानमन्त्रीहरुको जोड

0 2

पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रिय विपत्तीको सामना गर्न राज्य सयन्त्र प्रभावकारी नदेखिएको भन्दै राष्ट्रिय सहमतिको सरकरको बनाउनु पर्ने बताएका छन्।

उनीहरुले महाभूकम्पपछि प्रभावकारी पुनर्निमाणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिए। शनिबार बसेको संसद बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले राज्य संयन्त्र प्रभावकारी नदेखिएको आरोप लगाए। उनले महाविपत्तीको स्थिति सामना गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने धारणा राखे। उनले सहमतिको सरकारले संबिधान जारी गर्नुपर्ने बताएको कान्तिपुर दैनिकमा खबर छ।

उनले महाविपत्तीको सामना गर्न राजनीतिक दल र जनताबीच देखिएको एकता सह्राहनीय भएको बताए। संकटको बेला नेपालीबीच राष्ट्रिय एकताको भावना बढेको भए पनि स्वार्थ केन्द्रले नेपाललाई रणनीतिक भूमिको रुपमा प्रयोग गर्ने जोखिम रहेको बताए।

बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले मुलुक महाविपत्तिमा परेको बेला राजनीतिक दलहरु स्वयमसेवक दलका रुपमा परिणत हुनुपर्ने बताए। राष्ट्रिय सरकार बनाउने तिर पनि हामीले सोच्नुपर्दछ र विलम्ब नगरी पुर्ननिर्माणको प्रक्रियामा प्रवेश गर्नु पर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्प प्राकृतिक मात्र नभएर राजनीतिक, सामाजिक र आर्थिक भूकम्प भएको धारणा राखे । उनले अब केही दशकको राजनीति परम्परागत ढंगले अघि बढ्न नसक्ने भन्दै विचार, पार्टी, समूहभन्दा माथि उठेर राजनीतिलाई नयाँ दिशा दिनुपर्ने धारणा राखे ।
उनले केही दशकसम्म गतिशिल नेतृत्वको राष्ट्रिय सरकार बनाउनेबारे सोच्नुपर्ने बताए ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवाले महाविपत्तीको बेला गरिएको सरकरा र नेताको आलोचनाबाट नआत्तिन आग्रह गरे । उनले घर निर्माणमा कडा नीति ल्याउनुपर्ने र भुकम्पजस्ता विपत्तिको सम्बोधन गर्न बेग्लै मन्त्रालय बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा बाल्दै तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले विपत्तीको बेला सरकारमा समन्वयको कमी देखिएको आरोप लगाए। उनले भूकम्पबाट १४ जिल्ला प्रभावित भनिए पनि त्यसले ७५ जिल्ला प्रभावित बनाएको उनको भनाई थियो ।